माकेका पोलिटव्यूरो सदस्यसहित चार दर्जन बढी नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश

माकेका पोलिटव्यूरो सदस्यसहित चार दर्जन बढी नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश

सिरहा । सिरहाको गोलबजारमा माओवादी केन्द्रका दर्जनौ नेता तथा कार्यकर्ता नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । शनिबार माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामनारायण सिंहसहित ४ दर्जनभन्दा बढी नेता कार्यकर्ता क्रान्तिकारी माओवादी पार्टीमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले पार्टी प्रवेश गराउनु भएको थियो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले माओवादी केन्द्र र एमालेलाई प्रतिकृयावादी गठवन्धनको संज्ञा दिनुभयो ।

उहाँले एमाले र माओवादीको पार्टी एकताको हल्ला चलाएपनि खासमा माओवादी एमालेमा विलय हुन लागेको दावी गर्नुभयो । नेता गजुरेलले भन्नुभयो, ‘माओवादी केन्द्रले माओवाद र क्रान्तिकारी लाईन छोडेर एमालेकरण हुने निश्चित भएकोले यसलाई एकताभन्दा विलय भन्न उचित हुन्छ ।’

मन्तव्यकै क्रममा नेता गजुरेलले धर्मनिरपेक्ष मुलुकमा कुनै व्यक्ति गाईको मासु खाएको नाममा थुनामा पर्नु लज्जास्पद भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘कसैले गाईलाई लक्ष्मीको नाममा पूजा गर्छ, कसैले त्यसको मासु खान्छ, त्यो सोभाविक कुरा हो । तर, जुन कुरालाई संविधानले नै सुनिश्चित गरिसको छ, त्यसमा पनि राज्यले पक्राउ गर्नु संविधानकै खिल्ली उडाउनु हो ।’
पार्टी प्रवेश कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा २ नं. प्रदेश सचिव कृष्णदेव सिंह दनुवारलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।