काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले प्रतिक्रियावादी, संसदवादी, संशोधनवादी तथा अवसरवादीहरु पैसा र पदमा बाँच्दछन् भन्दै क्रान्तिकारीहरु क्रान्तिकारी आशावादमा बाँच्ने गर्दछन् भन्ने विचार व्यक्त गर्नुभएको छ । क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले विग मिडियाहरुले क्रान्तिकारी माओवादीका विचार र समाचारहरुलाई ब्ल्याक आउट गरेको यो बेला प्रतिक्रियावाद तथा संसदवाद, संशोधनवाद तथा दक्षिणपन्थी अवसरवादी तत्वहरुले फैलाएका भ्रमहरुलाई चिर्दै क्रान्तिकारी पत्रकारहरुले प्रचार र संगठनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो ।
वर्तमान सरकार, व्यवस्था र संविधानले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समस्या समाधान गर्न नसक्ने ठोकुवा गर्दै महासचिव किरणले संशोधनवादी र अवसरवादीहरुको ध्रुवीकरणका विरुद्ध सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरणको आवश्यकता रहेकोले आफू र आफ्नो पार्टीले त्यस दिशामा पहल लिइरहेको बताउनु भयो ।
महासंघको बैठकलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले क्रान्तिकारी पत्रकारहरुले एकजुट भएर प्रतिक्रियावादी र अवसरवादी कित्ताबाट फिजाइएका भ्रमहरु चिर्न लाग्नुपर्ने बताउनु भयो ।
बैठकमा महासंघका पूर्वअध्यक्ष तथा क्रान्तिकारी माओवादीका केस कुमार शाहले क्रान्तिकारीहरुका लागि अहिलेको स्थिति प्रतिकूल रहेपनि यो क्षणिक रहेको र महान सम्भावनाहरु दृष्टिक्षितिजमा देखिन थालेको दावी गर्नुभयो ।
महासंघको बैठकले प्रदेश संयोजकहरु तोक्दै संगठनको राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै जिल्ला र प्रदेशको सम्मेलनको तयारीमा जुट्ने निर्णय गरेको छ ।