चितुवाको छाला र भरुवा बन्दुकसहित २ पक्राउ

चितुवाको छाला र भरुवा बन्दुकसहित २ पक्राउ

पोखरा, चैत ६ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२मा घर खानतलासी गर्दा चितुवाको छाला, भरुवा बन्दुक र छर्रा फेला परेपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय गमबहादुर गुरूङ र ३१ वर्षीय चन्द्रबहादुर पौडेल छन् ।

सुराकीपछि घर खानतलासी गर्दा प्रहरीको टोलीले एउटा चितुवाको छाला, भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रासँगै २७ वटा खाली खोका बरामद भएको कास्कीका प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताए ।

गुरूङलाई नियन्त्रणमा लिएपछि पौडेलले चितुवा मारेर छाला राख्न दिएको बयान दिएका थिए । त्यसपछि पौडेललाई पनि पक्राउ गरिएको हो । सोमबार बेलुकी १० बजे पक्राउ गरिएका दुवैलाई बरामद सामाग्रीसहित मंगलवार प्रहरीले पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइ सार्वजनिक गरेको छ । दुवैविरुद्ध कार्वाहीका लागि अनुसन्धान जारी रहेको डीएसपी खत्रीले बताए ।