जिल्लाहरुमा पनि मनाइयो साँस्कृतिक प्रतिरोध दिवस

जिल्लाहरुमा पनि मनाइयो साँस्कृतिक प्रतिरोध दिवस

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले विभिन्न कार्यक्रम गरी देशैभर साँस्कृतिक प्रतिरोध दिवस मनाएको छ । पार्टीको ३ नं. प्रदेश र अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा काभ्रेको अनेकोटमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइयो भने जिल्ला जिल्लामा पनि विभिन्न कार्यक्रम गरी साँस्कृतिक प्रतिरोध दिवस मनाइएको छ ।

नवलपरासीबाट सहकर्मी रवि पाण्डेले पठाएको समाचार अनुसार नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासीले सांस्कृतिक प्रतिरोध दिवस मनाएको छ । सो पार्टीले सोमवार बर्दघाटमा एक कार्यक्रम आयोजना गरी प्रतिरोध दिवस मनाएको हो । कार्यक्रममा पार्टीका जिल्ला सचिव सिबी थापाले १९ बर्ष अघि २०५५ साल चैत्र ५ गते काभ्रेको अनेकोटमा भएको जनकलाकारहरुको हत्या भएको दिनको स्मरणमा दिवस मनाइएको जानकारी दिनुभयो । त्यो सो कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य बृजदेव पाण्डे, जिल्ला अध्यक्ष चुडामणि भण्डारी, नेता छबिलाल खरेल, बर्दघाट नगर अध्यक्ष राजुप्रसाद खनाललगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम क्रान्तिकारी माओवादीका जिल्ला सचिव सिबी थापाको अध्यक्षता भएको थियो । त्यस्तै देजमो नेपाल नवलपरासीको सोही क्रममा भएको बैठकले चैत्र २१ गते देजमोको जिल्ला भेला गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

त्यसैगरी मकवानपुरबाट प्राप्त समाचार अनुसार मकवानपुरमा साँस्कृतिक प्रतिरोध दिवसका साथमा लोकेन्द्र वाइवा स्मृति शोकसभा सम्पन्न गरिएको छ । क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी बादलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतिरोध दिवस तथा शोक सभा कार्यक्रममा वैदेशिक रोजगारीको सिलसिलामा १५ फागुनमा मलेशियामा दिवंगत भएका पार्टी सदस्य लोकेन्द्र वाइवाका बुवा वलवीर वाइवा, आमा सरीमाया वाइवालगायत आफन्तजनहरुलगायतको उपस्थिति रहेको थियो । पार्टीका ३ नं. प्रदेश सदस्य विजयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन मनकुमार (चे)ले गर्नुभएको थियो भने पार्टी जिल्ला सचिवालय सदस्य पारसलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी बाँके र बर्दियामा पनि साँस्कृतिक प्रतिरोध दिवस भव्य रुपमा सम्पन्न भएको खबर छ ।