काभ्रे । काभ्रेको अनेकोटमा आयोजित साँस्कृतिक प्रतिरोध दिवसलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले क्रान्तिका निम्ति बन्दुकधारी र कलमधारी सेना चाहिने कुरा बताउनु भएको छ । महान जनयुद्धमाथि धोका र गद्दारी गरेर मरणासन्न अवस्थामा पुगेको संसदीय व्यवस्थालाई पुनर्जीवित गराउनेहरुले नै जनवादी क्रान्ति पूरा भएको भनेर भ्रम छर्ने गरेको भन्दै महासचिव किरणले भन्नुभयो, “क्रान्ति भएको छैन । साम्राज्यवाद तथा विस्तारवाद र सामन्तवादको चंगुलबाट देश र जनतालाई मुक्त नपारेसम्म नयाँ जनवादी क्रान्ति पूरा भएको मानिन्न । दशवर्ष लामो जनयुद्ध धर्मनिरपेक्षता, समानुपातिकता तथा संघीयताका लागि मात्र गरिएको थिएन ।”
झापा विद्रोहमाथि गद्दारी गर्ने ओलीहरु र दशवर्षे जनयुद्धमाथि गद्दारी गर्ने प्रचण्डहरु एउटै कि त्तामा पुगेको भन्दै महासचिव किरणले झापा विद्रोह र जनयुद्धको इतिहासको कुरा गर्ने अधिकार उनीहरुले गुमाइसकेको दावी गर्नुभयो । र, उहाँले भन्नुभयो, “झापा विद्रोह र दशवर्षे जनयुद्धमाथि नै गद्दारी गर्नेहरुलाई त्यो महान इतिहासको कुरा गर्ने अधिकार छैन । झापा विद्रोह र जनयुद्धको उत्तराधिकारी उनीहरु हुन सक्तैनन् । सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु हुन्, सच्चा उत्तराधिकारी हामीहरु हौं ।”
विद्रोह र बलिदानले भरिएको नेपाली कम्युनिष्ट आन्दोलनको गौरवशाली इतिहासको वस्तुनिष्ठ समीक्षा गर्दै क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन आफूहरु गम्भीर दायित्वबोधका साथ अगाडि बढिरहेको जनाउँदै महासचिव किरणले आफ्नै पार्टी संगठनलाई सुदृढ तुल्याउने, सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई गोलबन्द पार्ने र देशभक्त तथा प्रगतिशिल शक्तिहरुलाई समेत राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका विषयमा संयुक्त मोर्चा बनाएर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउने पनि बताउनु भयो ।
साम्राज्यवादी तथा विस्तारवादीहरुको इशारामा उनीहरुकै अर्थतन्त्र लागू गर्ने संसदवादी दलाल शासकहरुबाट राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको समाधान हुन नसक्ने चर्चा गर्दै महासचिव किरणले त्यसका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको ठोकुवा गर्नुभयो ।
क्रान्तिकारी माओवादीको ३ नं. प्रदेश र अखिल नेपाल जनसाँस्कृतिक महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतिरोध दिवस कार्यक्रममा पार्टी पिविएम तथा ३ नं. प्रदेश सचिव दिनेश शर्मा‘सागर’, पार्टी केस सोमान तामाङ, जनसाँस्कृतिककर्मी तथा साहित्यकार डा.ताराकान्त पाण्डेलगायतले पनि महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो । पार्टी केस तथा जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन पार्टी केस प्रा.डा. जगदीशचन्द्र भण्डारीले गर्नुभएको थियो भने कार्यक्रममा जनसाँस्कृतिक महासंघकी नेतृ तथा ३ नंं. प्रदेश संयोजक गौरी दाहालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सामना साँस्कृतिक परिवार र सन्च्याङ परिवार काभ्रेका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । अनेकोटमा सहादत प्राप्त सहिदहरुमध्ये कार्यक्रममा उपस्थित च्याङ्वा लामाकी छोरीलाई सम्मान गरिएको उक्त कार्यक्रममा कवि÷कवियत्रीहरु मित्रलाल पंज्ञानी, इन्दिरा अधिकारी, गौरी दाहाल, विष्णु न्यौपाने, शिला योगीलगायतले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका पिविएम पवनमान श्रेष्ठ, केसहरु हस्तबहादुर केसी, शारदा महतलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यसैबीच, देशका विभिन्न जिल्लाहरुमा पनि साँस्कृतिक प्रतिरोध दिवस विभिन्न कार्यक्रम गरी मनाइएको खबर छ ।
फोटो : अमिट योञ्जन