“दार्शनिकहरुले केवल विश्वको विभिन्न तरिकाले ब्याख्या मात्र गरेका छन् तर मुख्य कुरो त त्यसलाई बदल्ने हो”
–कार्ल माक्र्स
१) माक्र्सवादी दर्शनको आधार÷ माक्र्सवादी दर्शनको आधार द्धन्द्धात्मक भौतिकवाद हो । किनभने यसले द्धन्द्धात्मक तरिकाले प्राकृतिक घटनालाई हेर्दछ, अध्ययन गर्दछ र बुझ्दछ । अनी भौतिकवादी तरिकाले यसले प्राकृतिक घटनाको ब्याख्या गर्दछ, प्राकृतिक घटनाहरु र तिनका सिद्धान्तहरुबारे यसको धारणा भौतिकवादीछ । त्यसैले यसलाई द्धन्द्धात्मक भौतिकवाद भनिएको हो (स्टालिन, द्धन्द्धात्मक र ऐतिहासिक भौतिकवाद)।
माक्र्सभन्दा अघि नै दार्शनिक हेगेलले “द्धन्द्धात्मक” सिद्धान्तका मूल लक्षणहरु प्रतिपादन गरेका थिए । तर ती लक्षणहरुले आदर्शवादको खोल ओढेकाले बैज्ञानिक बन्न सकेका थिएनन् । माक्र्स र एंगेल्सले हेगेलको द्धन्द्धवादबाट हेगेलरुपी आदर्शवादको खोल फ्याकिदिए र द्धन्द्धवादलाई अझ विकसित गरी आधुनिक रुप दिए ।
माक्र्सले भनेकाछन् “मेरो द्धन्द्धात्मक प्रणाली हेगेलको भन्दा फरकमात्र नभई ठीक उल्टो छ । हेगेल विचार गर्ने प्रणालीलाई एउटा छुट्टै विचार–तत्वको रुपमा लिन्छन् र त्यही विचार–प्रक्रियालाई वास्तविक संसारको निर्माता भन्दछन् । उनी वास्तविक संसारलाई “विचारतत्वको बाहिरी घटनात्मक रुपमात्र ठान्दछन् । यसको विपरित,मचाँही विचार भनेको मानिसको मनद्धारा प्रतिविम्वत विचारको रुपमा ढालिएको भौतिक संसार नै हो भन्ठान्दछु” (स्टालिन, ऐ.ऐ.बाट उद्धृत) । यसरी “ठाउकोले टेकेर” उभिएको द्धन्द्धवादलाई कार्ल माक्र्सले “खुट्टाको बलमा” उभ्याइदिए र त्यसले बैज्ञानिक रुप धारण गर्न सक्यो ।
त्यसरी नै माक्र्स–एंगेल्स भन्दा पहिले अर्का दार्शनिक फायरबाखले भौतिकवादलाई पुनस्र्थापना गरिसकेका थिए । तर उनको “आधार” भौतिकवादी भए पनि उनी “परम्परागत आदर्शवादी डोरीले बाँधिएका थिए” (एंगेल्स)। तसर्थ माक्र्स–एंगेल्सले फाएरबाखको भौतिकवादमा भएका आदर्शवादी र धार्मिक नैतिक खोस्टालाई हटाई, त्यसको “सारतत्व”लाई मात्र लिएका थिए र त्यसैलाई भौतिकवादको बैज्ञानिक दार्शनिक सिद्धान्तको रुपमा विकसित गरेका थिए (स्टालिन, ऐ.ऐं.बाट उद्धृत)।
माक्र्स–एंगेल्सको द्धन्द्धात्मक भौतिकवादले विचार र पदार्थ वीचको सम्बन्धमा के मान्यता राख्दछ भने प्रदार्थ प्रमुख हो, त्यसपछिमात्र विचार आउँछ, पदार्थबाटै विचारको उत्पत्ति हुन्छ, तर त्यही विचारले समाजमा जरा गाडे पछि त्यो एउटा भौतिक शक्ति बन्दछ (हेगेलको दर्शनको आलोचना)। माक्र्सभन्दा धेरै अघि दक्षिण इसियामा हिन्दुहरुकोे उपनिषदकालमा जन्मेको आदर्शवादी धारणालाई, जसले आत्मालाई संसारको श्रृष्ठिकर्ता भनेकोछ र यो संसार चेतनाको (ब्रह्म) उपज भनेकोछ, चार्वाक कनकमुनी र कपिलमुनी जस्ता भौतिकवादी दार्शनिकहरुले खण्डन गरेका छन् । अध्यात्मवादीहरुले भनेकाछन् “जगत र पदार्थ केही होइन हाम्रो इन्द्रियलेमात्र जान्ने वस्तु हुन, मानिसको जीवनपछि केही रहँदैन”। ती अध्यात्मवादीहरुलाई कक्रुच्छन्द कनक र सिद्धार्थ गौतमका अनुयायीहरुले मुखभरि जवाफ दिए, “मर्न त तिमि मर्छौ, तर मरे पनि जगत त रहिरहन्छ । तर जगत रहेन भने तिमी पनि रहँदैनौ”(माणिकलाल,२०६८)
माक्र्स–एंगेल्सको द्धन्द्धात्मक भौतिकवादका सिद्धान्तहरु सामाजिक जीवनको अध्ययनमा पनि विस्तार हुन्छ, सामाजिक जीवनका घटनाहरु, समाज र समाजको इतिहासको अध्ययन गर्न पनि प्रयोग हुन्छ । यसरी विस्तार र प्रयोग भएको द्धन्द्धात्मक भौतिकवादलाई ऐतिहासिक भौतिकवाद भन्दछन् (स्टालिन, ऐ.ऐ.बाट)। यो सिद्धान्तको प्रतिपादन भएपछि नै समाजको स्वरुपमा लगातर परिबर्तन किन र कसरी हुन्छ भन्ने पत्ता लग्यो । उत्पादन सामाजिक हुन्छ र सधै परिबर्तन र विकासको अवस्थामा रहन्छ । सामाजिक उत्पादन प्रणालीमा परिबर्तन भएपछि सम्पूर्ण सामाजिक अवस्था, सामाजिक विचार, राजनीतिक संस्थाहरुमा परिवर्तन नभई छोड्दैन । विकासको “पहिलो” लक्षण यहीहो । विकासको भिन्न, भिन्न अवस्थाहरुमा मानिसहरु भिन्न,भिन्न उत्पादन प्रणाली प्रयोग गदर्छन् । जस्तो कि जंगली युगमा एक प्रकारको उत्पादन प्रणाली थियो, दास ब्यबस्थामा अर्को प्रकारको थियो, सामन्तवादी ब्यबस्थामा झनै अर्को प्रकारको थियो भने पुँजीवादमा अर्कै देख्तैछौं । अनि त्यस्तै प्रकारले मानिसहरुको सामाजिक ब्यबस्था, मानिसहरुको आध्यात्मिक जीवन, उनीहरुको दृष्टिकोण र राजनीतिक संस्थाहरु पनि फरक हुन्छन् । अर्थात समाजको उत्पादन प्रणाली जे जस्तो हुन्छ, मुख्यतः त्यहीसँग मिल्दोजुल्दो समाज, समाजको विचार, समाजको राजनीतिक दृष्टिकोण र संस्थाहरु हुन्छन् । यसको अर्थ हुन्छ, समाज विकासको इतिहास नै मुख्यतया उत्पादन विकासको इतिहास हो, शताब्दी–शताब्दीमा एक पछि अर्को फेरिंदै आउने उत्पादन प्रणालीहरुको इतिहास हो, उत्पादक शक्तिहरु र जनताहरुको उत्पादन–सम्बन्धको इतिहास हो (स्टालिन,द्धन्द्धात्मक र ऐ.भौतिकवाद)। तसर्थ माक्र्स–एंगेल्सद्धारा प्रतिपादित ऐतिहासिक भौतिकवाद सिद्धान्तले हामीलाई के स्पष्ट गरको छ भने समाजमा उत्पादन प्रणालीको स्वरुपमा परिवर्तन हुँदै जानुकासाथै समाजको सम्पूर्ण,ज्ञान, चिन्तन, जीवन प्रणाली र सामाजिक संरचना हुँदै जान्छ । उत्पादन प्रणालीको स्वरुपमा परिवर्तन ल्याउने काम पहिले उत्पादक शक्तिहरुमा भएको परिबर्तनले गर्दछ । त्यसो हुनुमा श्रमशक्तिको परिवर्तनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ र त्यसले औजारहरुको स्वरुपमा परिबर्तन गर्दछ जसको दबाब तत्कालीन उत्पादन सम्बन्धमा पर्दछ र पुरानो प्रकारको उत्पादन–सम्बन्धले नयाँलाई ठाउँ छोड्नु पर्दछ ।त्यसले स्वभावतः सामाजिक संरचनामा असर गर्दछ जसभित्र मानिसको मनोविज्ञान समाज ब्यवस्था, आर्थिक ब्यवस्था, राज्यको स्वरुप,कानुन–धर्म–संस्कृति, साहित्य, आदि पर्दछन् । पहिले भएका जंगली, दास, सामन्ती युगको अन्त्य हुनुमा उत्पादन प्रणालीमा भएको परिवर्तनको नै मुख्य भूमिका थियो । अहिले मुख्यतः पुँजीवादी उत्पादन प्रणालीले काम गरिरहेकोछ । अब यो ब्यबस्थालाई प्रतिस्थापना गर्ने उच्चस्तरको ब्यवस्था आउन अनिवार्यछ ।
यो ब्यवस्था भनेको साम्यवादी उत्पादन प्रणाली भएको ब्यबस्था नै हो । पुँजीवादी प्रणालीमा उत्पादन प्रणाली सामाजिक हुन्छ तर उत्पादनका साधनहरुमाथिको स्वामित्व ब्यक्तिगत हुन्छ । यो अन्तर्विरोधको हल उसले गर्न सक्तैन । त्यसै भएकोले माक्र्स–एंगेल्सद्धारा प्रतिपादित द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी सिद्धान्तले अन्य दर्शनले जस्तो विश्वको विभिन्न तरिकाले व्यवस्थामात्र गरेको नभएर त्यसलाई बदल्ने बैज्ञानिक कुँजी नै नै प्रदान गरेकोछ ।
२) पुँजीवादको आधारभूत संकट र साम्यवादी हल÷ ऐतिहासिक भौतिकवादले उत्पादन प्रणाली सँधै परिबर्तन र विकासको अबस्थामा रहन्छ भन्ने मान्दछ । सामाजिक उत्पादन प्रणालीमा (आधार) परिबर्तन आएपछि उपरी संरचनामा (आधेय) पनि परिबर्तन नभईछोड्दैन । उत्पादनको स्वरुपमा परिवर्तन ल्याउने काम उत्पादक–शक्तिहरुमा भएको परिबर्तनले गर्दछ । उत्पादक–शक्तिहरुमा भएको परिबर्तन अनुरुप उत्पादन–सम्वन्ध पनि ढिलो छिटो परिबर्तित हुन्छ । समाजको भौतिक उत्पादक शक्तिहरुको विकासको एउटा खास चरणमा पुगे पछि विद्यमान उत्पादन–सम्बन्ध या सम्पत्ति सम्बन्धसँग अन्तरविरोध उत्पन्न हुन्छ । उत्पादक शक्तिहरुको विकासको अनुरुप हुन छोडेर ती सम्बन्धहरु तिनको बाधकमा परिणत हुन्छन् । त्यसपछि सामाजिक क्रान्तिको युग सुरु हुन्छ (कार्ल माक्र्स, राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदानको भूमिकाबाट) । जंगली युगमा उत्पादक शक्तिहरुको वा त्यसवेलाका उत्पादनका औजारहरुको पिछडिएको स्वरुपको कारण व्यक्तिगत सम्पत्तिको प्रचलन थिएन । तर दास युगमा आएर सम्पत्तिमाथि व्यक्तिगत स्वामित्वको प्रणालीले विकास ग¥यो । सामन्ती समाजमा त्यो प्रणालीले अझै विकास ग¥यो । तर पुँजीवादी युगमा आएर उत्पादन प्रणालीको स्वरुपमा गुणात्मक परिवर्तन भयो र त्यसले सामाजिक रुप धारण ग¥यो । उत्पादन प्रणालीले सामाजिक रुप लिएकोले सामुहिक रुपमा उत्पादनमा भाग लिने मजदुरहरुको पनि जन्म भयो । पुँजीपतिहरुले आफ्नो स्वार्थका लागि वा अधिकतम नाफाका लागि उत्पादनलाई विस्तार गर्दै लैजान्छन् र उत्पादन प्रणालीले बढी नै सामाजिक रुप लिदै जान्छ । यसरी पुँजीपतिवर्गले आफ्नो नाफाको क्षेत्र जति बिस्तार गर्दै जान्छ, उसले त्यसरी नै आफ्नो विनासको खाल्टो पनि खन्दै जान्छ (माक्र्स–एंगेल्स, कम्युनिष्ट घोषणापत्र) । भनाईको तात्पर्य सामान्यतः उत्पादक–शक्तिको चरित्रको अनुरुप प्रगतिशील र नयाँ उत्पादन–सम्बन्धहरुले सामाजिक उत्पादनको तीब्र विकास गर्दछ । तर व्यक्तिगत स्वामित्व र शोषणमा आधारित समाज ब्यबस्थामा उत्पादन–सम्बन्धहरु विकसितउत्पादक–शक्तिको अनुरुप हुन सक्तैन । यसरी उत्पादक–शक्तिहरुको विकास भन्दा पछि परेका (पुराना) उत्पादन–सम्बन्धहरुले तिनको प्रगतिमा बाधा हाल्दछन् जसले गर्दा सामाजिक गतिरोध उत्पादन हुन्छ । अनि त्यस प्रकारको पुरानो भएको (out dated) उत्पादन–सम्बन्धलाई ध्वस्त गरी नयाँ उत्पादन–सम्बन्धको विकास गर्न अनिवार्य हुन्छ ।
उत्पादन–सम्बन्धले उत्पादक–शक्तिहरुको स्वभावसँग मेल राख्न नसकेको अबस्थाको उदाहरण हो पुँजीवादी मुलुकहरुमा भएका संकटहरु । किनभने यहाँ उत्पादनका साधनहरुमाथि पुँजीपतिहरुको निजी अधिकार भएकोले उत्पादन प्रक्रियाको सामाजिक स्वभाव र उत्पादक–शक्तिहरुको स्वभावका वीच विल्कुल मेल हुँदैन ।
श्रम वा उत्पादनको सामाजिक पद्दति हुन ु र उत्पादनको साधनमाथिको स्वामित्वको पद्दति ब्यक्तिगत हुनु नै पुँजीवादको आधारभूत अन्तरविरोध हो । यो अन्तरविरोधको कारणले गर्दा नै पुँजीवादभित्र संकटले जन्म लिईरहन्छ । सन् १९२९–३३ को महामन्दीदेखि लिएर सन् २००८ को महासंकट पनि पुँजीवादभित्रको त्यही अन्तरविरोधका कारणले जन्मिएका हुन् । यस प्रकारको संकटले विश्वव्यापी रुप धारण गर्ने गरेका छन् । यसबाट पारपाउन पुँजीपतिहरुले विभिन्न तरिकाहरु अपनाउने गर्दछन् । सन् १९२९–३३ को महामन्दीको उपचार अर्थशास्त्री जे. एम. किन्सले “रोजगार ब्याज र धनको सामान्य सिद्धान्त” को “उपभोग फलन” [C=F(y)] सिद्धान्तबाट हल खोज्ने (अल्पकालिक समाधान) कोशिष गरियो । त्यसै प्रकारले साम्राज्यवादीहरुले हरेक महासंकटको उपचार गर्न फरक फरक तरिका अपनाउने गरेका छन् । सन् १९९५–९६ मा आएको आर्थिक महा संकटको उपचार थ्याचर–रेगन अर्थराजनीतिक थेरापीबाट गर्न खोजियो । त्यसलाई भूमण्डलीकरण भनियो जसअन्तरगत नवउदारवादको कार्यक्रम थोपरियो । त्यो पनि अस्थायी थेरापी थियो । फेरी सन् २००८ मा नयाँ प्रकारको संकट देखा प¥यो । सन् २००८ मा अमेरिकाबाट सुरु भएर विश्वभरि फैलिएको त्यो वित्तीय संकट नवउदारवादको परिणाम थियो । साम्राज्यवादी मुलुकहरुले जनताले कर तिरेको राज्यकोषबाट ठूलो धनराषी खर्च गरेर त्यसको उपचार गर्न खोजिरहेको छ, तैपनि पूर्व–स्थितिमाफर्कन सकेको छैन । अहिले साम्राज्यवादीहरुले अर्थतंत्र पूर्णतः निजी क्षेत्रलाई मात्र छोड्न नहुने र सरकारको नियन्त्रण र संरक्षणको पनि भूमिका रहनु पर्ने निष्कर्षतिर पुग्दैछन् । तर यो पनि अस्थायी थेरापी मात्र हो । यस पछि अझै ठूलो आर्थिक संकट आउनेछ । यस प्रकारका तरिकाहरुबाट पुँजीवादभित्रको संकटको हल हुन सक्तैन, बढ्दै जानेछ । पुँजीवादभित्रको संकटको हल भनेको त्यसभित्रको आधारभूत अन्तरविरोधको हल हुने उपाय खोज्नुमा रहन्छ । त्यो उपाय भनेको उत्पादन प्रणालीको सामाजिक स्वरुप अनुरुपको उत्पादनका साधनहरुमाथिको स्वामित्वको पनि सामाजिक स्वरुप अर्थात समाजवादी उत्पादन प्रणाली !
३) क्रान्ति आवश्यक÷ द्धन्द्धात्मक भौतिकवादले भौतिक जगतमा निरन्तर परिवर्तन र विकासको (वर्ग संघर्ष) प्रक्रिया चलिरहन्छ भन्ने मान्दछ । निरन्तर परिर्वन भनेको पुरानोको नाश वा पतन हुने र नयाँको जन्म हुने प्रकृया हो । पुरानोको नाश वा पतन हुने वीउ त्यसैभित्र हुन्छ । मानव–समाज विकासमा पनि यही नियम लागु हुन्छ । अहिलेको पुँजीवादकोनाश वा पतन हुने वीउ पनि यसैभित्र छ । माक्र्स–एंगेल्सले भनेका छन् “आधुनिक उद्योगको विकासले पुँजीवादी उत्पादन र शोषणको आधारलाई नै तहस नहस पार्दछ । तसर्थ,मुख्य कुरो के हो भने पुँजीपतिवर्गले आफ्नो चिहान खन्नेहरुलाई जन्म दिन्छ । त्यस वर्गको (पुँजीपति) पतन र सर्वहारावर्गको विजय अनिवार्य छ” (कम्युनिष्ट घोषणापत्र)। तर पुँजीवादी व्यवस्थाको अन्त्य र सर्वहारावर्गको वीजय कसरी सम्भव छ ? माक्र्स–एंगेल्स “कम्युनिष्ट घोषणापत्र” मा भनेका छन्, “आजसम्म आविर्भूत सम्पूर्ण समाजको इतिहास वर्ग–संघर्षको इतिहास रहिआएकोछ ।” ऐतिहासिक भौतिकवादमा, यदि उत्पादन शक्तिहरु र उत्पादन–सम्वन्धहरुको वीचमा संक्रमणका निम्ति अन्तरविरोध रहन्छ भने, त्यसको माध्यम वर्ग–संघर्ष नै हुन्छ । हरेक समाज दुई विपरित वर्गहरुमा विभाजित हुन्छ । वर्ग–बिभाजन दास, सामन्त तथा पुँजीवादी उत्पादन सम्बन्धमा साद्दष्य रहन्छ । उत्पादन–सम्बन्धको विकासमा उत्पादन–सम्वन्ध बाधक बनेपछि वर्ग–संघर्ष घनिभूत हुन्छ ।
आदिम साम्यवादी समाजमा अर्थात साधारण भाषामा भन्ने हो भने ढुंगे युगमा ब्यक्तिगत सम्पत्तिको प्रचलन थिएन । सामुदायिक प्रयासबाटमात्रै जीवन निर्वाहका साधनहरु जुटाउन सकिन्थ्यो । तर दासयुगमा आएर व्यक्तिगत स्वामित्वको प्रणालीले विकास ग¥यो र त्यसपछिको सामन्तवादी ब्यवस्थामा पनि व्यक्तिगत स्वामित्व प्रणालीको अझै विकास भयो । पुँजीवादले त झनै व्यक्तिगत सम्पत्तिलाई गुणात्मक वृद्धि ग¥यो तर अर्कै रुपमा । पुँजीपतिहरुले आफ्नो स्वार्थका लागि, ठूलठूला उद्योग–धन्दाहरु खुले जहाँ ठूलो संख्यामा सामुहिक रुपले उत्पादनमा मजदुरहरुले काम गर्दछन् । उत्पादनको सामाजिक प्रणाली हुन्छ तर उत्पादनका साधनहरुमाथिको स्वामित्वको प्रणाली व्यक्तिगत हुन्छ । यी अन्तरविरोधको हल पुँजीवादले गर्न सक्तैन । उत्पादनको सामाजिक प्रणाली अनुरुप उत्पादनका साधनहरुमाथिको स्वामित्व पनि सामाजिक हुँदामात्र पुँजीवादभित्रको अन्तरविरोध हल हुन्छ । त्यसका लागि मजदुरवर्गले वर्ग–संघर्ष अर्थात क्रान्तिमार्फत पुँजीवादी व्यवस्थालाई फ्याकेर साम्यवादी व्यवस्था (प्रारम्भमा समाजवादी) स्थापना गर्दछ । प्रथम विश्वयुद्धताका प्रथम पटक रुसमा सर्वहारावर्गको नेतृत्वमा मजदुर किसानको एकतामा भएको क्रान्तिद्धारा पुँजीवादी ब्यवस्थालाई फ्याकेर समाजवादी व्यवस्था स्थापना गरियो भने दोस्रो विश्वयुद्धताका र पछि विश्वको एकतिहाई भूखण्डमा क्रान्तिद्धारानै समाजवादी शासन लागु भयो ।
४) साम्यवादी आन्दोलनको भविश्य
कार्ल माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र प्रकाशन (१८४८) गरेको ६९ बर्षपछि रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि समाजवादी क्रान्तिको लहर आयो । दोस्रो विश्वमुद्ध समाप्त भैसक्दा विश्वका एक तिहाइ भूभागलाई समाजवादी ब्यवस्थाले लेपेटीसकेको थियो । तर माक्र्सवादी आन्दोलन भित्र घुसेका पुँजीवादी विचारबाहकहरुले माक्र्सवादको क्रान्तिकारितालाई तोड्ने काम गरे । फ्रान्सका मिलेराँले (सन् १८५९–१९४३) यसको सुरुवात गरेका थिए । सोवियतसंघमा ख्रुश्चेवको उदयले दक्षिणपंथी संशोधनवादीहरुले समाजवादलाई भत्काउने काम ग¥यो । चीनमा देङस्याओ पिङले पुँजीवादको पुनः स्थापना ग¥यो । यस प्रकार अहिले विश्वमा समाजवादी ब्यवस्था पतन हुन पुगेकोछ । मिलेराँपन्थीहरुले माक्र्सवादी आन्दोलनलाई त्यसको जन्मकालदेखि नै गलत हो भन्दै आएका छन् । उनीहरु सफल भएको कारणले अहिले समाजवादी ब्यवस्थालाई पुनः पुँजीवादमा पुनस्र्थापना गर्न सके । त्यसलाई आधार बनाएर कम्युनिष्ट आन्दोलनका विरोधीहरुले यो आन्दोलनको भविष्य नभएको बताउँदैछन् । साम्राज्यवादका एजेण्ट प्रो. फुकुमायाले त “इतिहासको अन्त्य र अन्तिम मान्छे”को रुपमा ब्याख्या समेत गरेका छन् । हो, आज विश्व कम्युनिष्ट आन्दोलन अत्यन्त कमजोर भएकोछ तर सामन्ती तथा पुँजीवादी शोषण व्यवस्थामा आमूल परिवर्तनका लागि चलिआएको समाजवादी (साम्यवादी) आन्दोलनमा भएको प्रतिक्रान्तिका कारण अहिले कमजोर देखिंदैमा कम्युनिष्ट आन्दोलनको अन्त्य भएको वा भविश्य नभएको भन्ने अर्थ लगाउनु ठीक हुँदैन । दासप्रथा र सामन्तवादका विरुद्धका संघर्षहरु एकै पटक सफल भएको इतिहाँस कहाँ छ र ! त्यसरी नै पुँजीवादको पनि अन्त्य पनि निश्चित छ । हरेक आन्दोलन कैयौ पटकको हार वा पराजयपछि नै सफल भएकोछ ।
ऐतिहासिक भौतिकवाद विज्ञान हो । यसले समाज विकासको भौतिकवादी नियमका आधारमा नै अहिलेको पुँजीवादको स्थान समाजवादले लिने अनिवार्य भएको बताएकोछ । त्यो भौतिक आधार भनेको पुँजीवादले श्रृजना गरेको उत्पादन प्रणालीको सामाजिक स्वरुप हो । उत्पादनको सामाजिक स्वरुप नै पुँजीवादको अन्त्यका लागि आधार हो । जवसम्म उत्पादनका साधनहरुमाथिको स्वमित्वको प्रणाली व्यक्तिगत हुन्छ, पुँजीवादको अन्त्यलाई कसैले रोक्न सक्नेछैन । र समाजवादको विजयका लागि पनि आधार त्यही नै हो । कम्युनिष्ट आन्दोलनले कसरी पुँजीवादको अन्तरविरोधलाई हल गर्छ त ! उत्पादन प्रणालीको सामाजिक स्वरुप अनुरुप उत्पादनका साधनहरुमाथिको स्वामित्वको पनि सामाजिक स्वरुप प्रदान गरेर । जवसम्म समाज उक्त अवस्थामा पुग्दैन कम्युनिष्ट आन्दोलन रोकिने छैन । अहिले विश्वमा कम्युनिष्ट आन्दोलन कम्जोर छ वा समाप्त भए पनि यो फेरी उठ्नेछ । तसर्थ कम्युनिष्ट आन्दोलनको भविश्य उज्ज्वलछ । केवल कम्युनिष्ट क्रान्तिकारीहरुको अदम्य प्रयासको खाँचो छ । २०७४।११।१९