‘दलाल पुँजीपतिवर्ग क्रान्तिको मुख्य दुश्मन हो’ भन्दै बुद्धिजीवीहरुले भने ‘संशोधनवादीहरु मिलिसके क्रान्तिकारीहरु कहिले हो मिल्ने ?’

‘दलाल पुँजीपतिवर्ग क्रान्तिको मुख्य दुश्मन हो’ भन्दै बुद्धिजीवीहरुले भने ‘संशोधनवादीहरु मिलिसके क्रान्तिकारीहरु कहिले हो मिल्ने ?’

काठमाडौं । सामन्ती भूस्वामित्व प्रणाली कायमै रहेको भएपनि नेपालमा नयाँ जनवादी क्रान्तिको लागि दलाल पुँजीपतिवर्ग नै मुख्य दुश्मन भएकोमा बुद्धिजीवीहरुले जोड दिएका छन् । लेखक तथा साहित्यकार मित्रलाल पंज्ञानी नेतृत्वको अखिल नेपाल लेखक संघ र इच्छुक साँस्कृतिक प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको ‘विचार र कला, सिर्जना र विमर्श’ को दोस्रो श्रृङ्खलामा आफ्ना विचारहरु प्रस्तुत गर्दै बुद्धिजीवीहरुले संशोधनवादीहरु मिलिसकेको पृष्ठभूमिमा क्रान्तिकारीहरु पनि मिल्न ढिलो गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

लेखक तथा साहित्यकार प्रा.डा. जगदीश चन्द्र भण्डारीले पार्टी र नेताहरुले आ–आफ्नो स्वार्थनुकूल नेपाली समाजको वर्गविश्लेषण गर्ने गरेको भन्दै २८ सालको झापा विद्रोह, नेकपा चौम, जनयुद्धको नेतृत्व गरेको पार्टी र नेतृत्वले गरेको वर्ग विश्लेषण अनुसार नेपाली समाज आधारभूत रुपमा अहिले पनि त्यही ठाउँमा रहेको भए पनि तत्कालीन नेताहरुले अहिले जनवादी क्रान्ति पूरा भइसक्यो, नेपालमा पुँजीवाद आइसक्यो भन्नु आफ्नो स्वार्थनुकूलको व्याख्या भएको र त्यस्तो सोचाइ अग्र्यानिक नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता छेपारे प्रवृत्तिका नेताहरु भएका कारण विभ्रमहरु पैदा हुने गरेको छ । नेपाली समाज अहिले पनि अर्धसामन्ती, अर्ध औपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा छ । नयाँ जनवादी क्रान्ति पूरा भएको छैन । नेपाली क्रान्तिको आम कार्यदिशा भनेको अहिले पनि नयाँ जनवादी क्रान्ति नै हो ।” प्रा.डा.भण्डारीले अहिले दलाल पुँजीपतिवर्ग क्रान्तिको विरोधी शक्ति बनेर आएकोले क्रान्तिको निशानामा त्यही वर्गलाई पारिनु पर्नेमा जोड दिनुभयो । नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्यलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरण समयको माग र परिस्थितिको वाध्यता भएको पनि उहाँले बताउनु भयो ।

लेखक, प्राध्यापक तथा माक्र्सवादी अर्थशास्त्रका ज्ञाता रमेश शर्माले अहिले पनि सामन्ती भूस्वामित्व कायम रहेपनि नेपालमा सामन्तवाद कमजोर अवस्थामा रहेको र नवऔपनिवेशिक चरित्र हावी हुँदै गएको बताउनु भयो । उहाँले चीन र पूर्वी वंगालमा गरिएको वर्गविश्लेषणको चर्चा गर्दै क्रान्तिका लागि वर्गविश्लेषण आवश्यक रहेको कुरामाथि जोड दिनुभयो । नेपालमा निम्न पुँजीपति वर्गको हिस्सा निकै ठूलो रहेको भन्दै त्यो वर्गका लागि क्रान्ति निर्विकल्प बन्दै गएको दावी गर्नुभयो । माके र एमालेले भनेजस्तो नेपालमा जनवादी क्रान्ति पूरा नभएको तथ्यहरु प्रस्तुत गर्दै शर्माले संशोधनवादीहरु संशोधनवादीहरुबीचको एकता र ध्रुवीकरणले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई पनि एकता र ध्रुवीकरणका लागि मार्ग प्रशस्त गरेको र दबाब पनि सिर्जना गरेको भन्दै क्रान्तिको शर्तलाई केन्द्रविन्दुमा राखेर कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध हुन तथा ध्रुवीकृत हुन ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

प्राध्यापक मधुसुदन सुवेदीले वर्तमान ओली नेतृत्वको सरकारले देउवा सरकार अर्थात् विगतका सरकारहरुले भन्दा खासै राम्रो काम गर्न नसक्ने भन्दै आधारभूत रुपमा राज्य संरचना उही रहेको अवस्थामा जुनसुकै व्यक्तिले सरकारको नेतृत्व गरेपनि तात्विक अन्तर नपर्ने विचार व्यक्त गर्नुभयो । आजको राजनीतिक नेतृत्व आलोचना सुन्नै नसक्ने अवस्थामा रहेको चर्चा गर्दै क्रान्ति र परिवर्तनलाई केन्द्रमा राखेर भन्दा पनि आफ्नो निजी स्वार्थलाई केन्द्रमा राखेर सत्ता र शक्तिको चाकडी र चाप्लुसीमा लागेका कारण देश विगार्नेमा बुद्धिजीवीहरुको पनि महत्वपूर्ण हात रहेको दावी गर्नुभयो । उहाँले आगामी दिनमा आशाभन्दा निराशा हावी हुने तर्फ इङ्गित गर्दै शासनसत्ता ठिक ढंगले चल्न नसके देश टुक्रिन सक्ने पनि तर्क गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, नेकपा (क्रान्तिकारी माओवादी)का केस गोविन्द पौडेल, कवि तथा साहित्यकारहरु इस्लामी, डा.विदुर वस्ती, प्रभात सापकोटा, रामचन्द्र हुमागाई, गौरी दाहाल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।