कैलाली घटनाप्रति सरकारी उदासिनताको भत्र्सना गर्दै अनेमसंघ (क्रान्तिकारी)ले दोषीलाई कडा कारबाहीको माग ग¥यो

प्रकाशित मिति : २०७४ फाल्गुन २७

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी)ले शनिबार एक वक्तव्य जारी गरी बोक्सीको आरोपमा समाजकै अगाडि एकजना युवतीमाथि गरिएको कुटपिट र ज्यादतीको घटनामा ओली नेतृत्वको सरकारको उदासिनाको विरोध एवम् भत्र्सना गरेको छ । संगठनकी केन्द्रीय अध्यक्ष लक्ष्मी मुड्भरीले वक्तव्य जारी गर्दै पीडित युवतीलाई क्षतिपूर्ति उपलब्ध गराई उनको उपचारमा यथाशिघ्र पहल गर्न र दोषीमाथि कडा कारबाही गर्न जोडदार माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “आज देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । देशमा महंगी, भ्रष्टचार, हत्या, हिंसा, बलत्कारका घटनाहरुले कहालीलाग्दो रुप लिदै गइरहेको छ । लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् महिलाहरुमाथि मानवीय संवेदनाहीन मध्ययुगीन बर्बरतालाई नै बिर्साउने खालका हजारौैं घटनाहरु घटिरहेका छन् । चाहे त्यो बोक्सीको नाउँमा होस्, चाहे दाइजोको नाउँमा या बालिकाहरुसहितका बलत्कारका जघन्य अपराधका घटनाहरुले मानव सभ्यतालाई नै लज्जित तुल्याइदिएका छन् ।”

“हालै केलालीमा बोक्सीको आरोपमा सिंगो समाज नै जम्मा भएर सार्वजनिक ठाउँमा जनप्रतिनिधिको समेत उपस्थितिमा एउटी निर्दोष महिलामाथि घण्टौंसम्म निर्घात रुपमा कुटपिट गरिएको घटनाले हामीलाई स्तब्ध र गम्भीर तुल्याएको छ । उक्त घटनाले नेपाली समाजको सभ्यतालाई विश्वसामू छर्लङ्ग पारिदिएको छ । तर विडम्बना, यो देशको वामहरुको सरकार उक्त घटनाको मुकदर्शक बनिरहेको छ । सरकार अपराधीहरुलाई दण्डित गर्ने भन्दा पनि मेलमिलाप गराएर प्र्रोत्साहन गर्ने र पीडितहरुको स्वाभिमानलाई कुल्चने काम गर्दै आइरहेको छ । सरकारका यी रवैयाप्रति हाम्रो संगठन घोर निन्दा एवं भत्र्सना गर्दछ र कैलाली घटनाका अपराधीहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दछ । साथै पीडित महिलालाई क्षतिपूर्तिसहित यथाशीघ्र स्वास्थ्य उपचारका लागि जोडदार माग गर्दछ ।” वक्तव्यमा भनिएको छ ।