काठमाडौं । ने.सं. ११३८ (२०७४) सालकाे एस्.ई.ई. परिक्षामा नेपालभाषा विषय लिएर पास भएका विद्यार्थीहरुलाई नेपालभाषा स्यनेकने पुचःले आज एउटा कार्यक्रम गरी सम्मान गरेको छ । उक्त सम्मान कार्यक्रममा जगतसुन्दर ब्वनेकुथि, डल्लुका ५ जना, आदर्श उच्च मा.वि, थिमिका ५ जना, कन्या मन्दिर मा.वि., इखापुखूका २ जना र शान्ति निकुञ्ज मा.विको १ जना गरी १३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
पुचःका संरक्षक एवं पुरस्कारका दाता दिवंगत कुलवीर सिंह तुलाधरका श्रीमति रत्नदेवी तुलाधरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, नेवाः राजनैतिक अभियानका अध्यक्ष सानुकाजी महर्जन, नेपाल लिपि गुथिका अनिल स्थापित, नेवाः वस्ती नेवाः अभियानका संयोजक दिपक तुलाधर जगत सुन्दर ब्वनेकुथिका प्रधानाध्यापक सुनिता मानन्धर र पुचःका सल्लाहकारहरु डा.प्रेमशान्ति तुलाधर, राजेन्द्र रञ्जितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले शिक्षा मातृभाषामा मै दिइनु पर्नेमा जोड दिंदै खस भाषा (नेपाली भाषा) बाहेक अन्य जातजातिका राष्ट्रिय भाषाहरुलाई विद्यालय, विश्वविद्यालयमा पठनपाठनको लागि वातावरण नबनाउने राज्यको भेदभावपूर्ण व्यवहार अन्त्य हुनु पर्ने बताए ।
एस्.ई.ई. परिक्षामा नेपालभाषा विषयमा सबैभन्दा बढी अंक ल्याउनेहरु क्रमशः शान्ति निकुञ्जका सचिन कारञ्जित, जगत सुन्दरका सुजिना तामाङ र जगत सुन्दरकै रिकेश श्रेष्ठलाई नगद पुरस्कार पाँच हजार, तीन हजार र दुई हजार सहित सम्मान पत्र प्रमुख अतिथि तुलाधरले प्रदान गर्नु भएको थियो । यसैगरी जगत सुन्दर कै सुनिता दिवाकर, सरिता महर्जन, श्रृष्टि खड्गी, आदर्श उच्च मा.विका लक्ष्मी केशरी श्रेष्ठ, अमिश श्रेष्ठ, सायर कपाली, बबिन श्रेष्ठ, रोजिना श्रेष्ठ र कन्या मन्दिरका लसता श्रेष्ठ र विनिशा श्रेष्ठलाई नगद पुरस्कार एक हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रम पुचःका अध्यक्ष रमिता शाक्यको सभापतित्वमा भएको थियो ।