सहिदहरुको सपना पूरा गर्न नेपालमा नयाँ जनयुद्ध हुन सक्छ : महासचिव किरण

सहिदहरुको सपना पूरा गर्न नेपालमा नयाँ जनयुद्ध हुन सक्छ : महासचिव किरण

चितवन । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले शासकहरुको यस्तै रवैया रहे सहिदको सपना पूरा गर्न मुलुकमा नयाँ जनयुद्ध हुने बताउनु भएको छ । दशवर्ष लामो जनयुद्धमाथि प्रचण्ड–बाबुरामहरुले गम्भीर धोका र गद्दारी गरेको भन्दै हिजोका क्रान्तिका नायकहरु खलनायकमा बदलिएपछि र जनयुद्धले अगाडि सारेका सबै एजेण्डाहरु ज्युँको त्युँ रहेको अवस्थामा मुलुकमा अर्को नयाँ जनयुद्ध हुनसक्ने महासविच किरणले बताउनु भएको हो ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले संयुक्त रुपमा चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले पछिल्लो समय प्रचण्डले नेपाली राजनीतिमा खलनायकको भूमिका खेलेको बताउनु भयो ।

कांग्रेस र एमालेजस्ता पार्टीसँग गठबन्धन गरेर प्रचण्ड र बाबुराम भट्टराईले महान दशवर्षे जनयुद्धको खिल्ली उडाएको बताउँदै महासचिव किरणले महान क्रान्तिका लागि सबै सच्चा कम्युनिष्ट क्रान्तिकारी शक्तिलाई गोलबद्ध गर्ने बताउनु भयो । सहिद, बेपत्ता योद्धा परिवार र घाइते योद्धा अभिनन्दनसमेत गरिएको त्यस कार्यक्रममा बोल्दै उहाँले अब नयाँ जनयुद्धले शहीदको सपना पूरा गर्ने बताउनुभयो ।

‘महान जनयुद्ध, बलिदान र वर्तमान अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य रणवीरले क्रान्तिविना सहिदहरुको वास्तविक सम्मान र सपना पूरा हुन नसक्ने विचार राख्नुभयो । क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज अम्बिका मुडभरीले अध्यक्षता गरेको कार्यक्रमको संचालन नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसीले गर्नु भएको थियो । कार्यक्रममा चितवन जिल्लाका माहान जनयुद्ध तथा जनआन्दोलनका सबै सहित, वेपत्ता तथा घाइते योद्धाहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।