नयाँ ढंगको पार्टी निर्माण र एकीकरण तथा ध्रुवीकरणबारे

नयाँ ढंगको पार्टी निर्माण र एकीकरण तथा ध्रुवीकरणबारे

विश्व कम्युनिष्ट आन्दोलन मात्र होइन एशियाकै कम्युनिष्ट आन्दोलनको ऐतिहासिक परिप्रेक्ष्यलाई मध्यनजर गर्दा नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई लामो मान्न सकिंदैन । नेपालका कम्युनिष्ट पार्टीको स्थापना १९४९ अप्रिल २२ तदनुसार २००६ वैशाख १० गते भारतको कलकत्ता शहरमा भएको थियो । त्यसरी हेर्दा पार्टी स्थापना भएको करिब ७ दशकको समयावधि पुग्दैछ । पार्टी स्थापनाको कालपछि करिब डेढ दशकसम्म पार्टी एकताबद्ध रुपमा नै अगाडि बढ्न सकेको थियो । २०१९ सालमा सम्पन्न भएको पार्टी महाधिवेशन पछि तत्कालीन महासचिव तुलसीलाल अमात्य र संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको बीचमा उत्पन्न हुन गएको मतभेदका कारण पार्टीमा फुट र विभाजनको शृंखला सुरु भएको थियो । त्यस दौरानमा पुष्पलालले ‘कुन बाटो ?’ र तुलसीलालले ‘मूल बाटो’ नामक पुस्तिका समेत लेखेर प्रकाशित गरेका थिए । अहिलेको अवस्थासम्म आइपुग्दा नेपालको कम्युनिष्ट आन्दोलन टुट, फुटको व्यापक आरोह एवं अवरोहको परिस्थिति पार गर्दै आएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको विगतको इतिहासको समीक्षा गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले गएको असोजमा पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनद्वारा त्यसबाट सिक्नुपर्ने पाठलाई यसप्रकार संश्लेषण गरेको छ :

प्रथम, माथि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट सिक्नुपर्ने पाठबारे जुन कुरा उल्लेख गरिएका छन्, ती नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पनि लागू हुँदै आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा जस्तै नेपाली कम्युनिष्ट आन्दोलन पनि एकता, संघर्ष, फुटसम्म पनि र पुनः नयाँ आधारमा नयाँ एकताका प्रक्रियाका बीचबाट विकसित हुँदै आएको छ । दोस्रो, नेपाली कम्युनिष्ट आन्दोलनका कतिपय प्रसंगमा असैद्धान्तिक तथा अराजनीतिक हिसाबले पनि फुट हुने गरेका छन् । यस सन्दर्भमा नेतृत्वका स्वभाव र भूमिकाले पनि काम गरेको पाइन्छ । अन्ततः फुटको मुख्य कारण विचारधारा, राजनीति तथा कार्यदिशा नै रहेको कुरा स्पष्ट छ । तेस्रो, आज दक्षिणपन्थी अवसरवाद प्रभावी बन्न गएको छ । त्यसले सृजनशीलता, नवीनता र मौलिकताको नाममा ठूलो हिस्सालाई भ्रमित तुल्याउँदै आएको छ । त्यसले जड्सूत्रवादको विरोधको नाममा अनुभववाद र दक्षिणपन्थी संशोधनवादलाई अँगाल्ने गरेको छ । चौथो, क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त, राजनीति तथा नेतृत्वको विशेष महत्व हुन्छ । पार्टी सही र गलतबीचका संघर्षको प्रक्रियामा यी विषयबारे सचेत बन्नु पर्दछ । पाँचौं, क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण क्रान्तिका लागि हो । क्रान्तिकारी विचारधारा र कार्यदिशाका आधारमा हामीले क्रान्ति गर्न योग्य, अनुशासित तथा एकताबद्ध नयाँ ढंगको पार्टी निर्माणका लागि विशेष प्रयत्न गर्नुपर्दछ । (राजनीतिक प्रतिवेदन पृष्ठ ३२÷३३)

त्यसैगरी त्यसप्रकारको पार्टी निर्माणको कामलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा पनि राष्ट्रिय सम्मेलनद्वारा पारित दस्तावेजमा यसप्रकार उल्लेख गरिएको छ :

क्रान्ति सम्पन्न गर्न योग्य पार्टी बनाउनका लागि हामीले एकातिर संसद्वाद र अर्काेतिर मास पार्टी अवधारणाका विरुद्ध दृढतापूर्वक संघर्ष चलाउन अनिवार्य बन्न गएको छ । यस निम्ति नयाँ ढंगको पार्टी निर्माणबारे विशेष जोड दिन जरुरी छ । क्रान्ति सम्पन्न गर्नका लागि पार्टीलाई निरन्तर नयाँ बनाउँदै विकसित तुलयाउनु अनिवार्य बन्न गएको छ । नयाँ ढंगको पार्टी निर्माणका लागि (क) माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शन (ख) नयाँ जनवादी क्रान्तिको कार्यदिशा (ग) क्रान्तिकारी कार्यशैली (घ) सही अन्तरसंघर्ष तथा दुईलाइन संघर्ष सञ्चालन (ङ) देश, जनता, सर्वहारा अन्तर्राष्ट्रियवाद र साम्यवाद तथा साम्यवादको आदर्शप्रति निष्ठावान नेता तथा कार्यकर्ताहरुको निर्माण तथा विकास र (च) प्रतिक्रियावाद तथा संशोधनवादका विरुद्ध सम्झौताहीन संघर्ष आदि मापदण्डमाथि विशेष ध्यान दिनुपर्दछ । नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण भौतिक उत्प्रेरणाले होइन, त्याग र बलिदानी भावनाले समृद्ध भएर नै हुन्छ । नयाँ ढंगको पार्टी निर्माणका लागि निरन्तर संघर्ष गर्दै अगाडि बढ्न आवश्यक छ । कम्युनिष्ट पार्टीलाई मास पार्टी होइन कार्यकर्ता तथा नेताहरुको चुस्त दुरुस्त पार्टी बनाउनु पर्दछ । (राजनीतिक प्रतिवेदन पृष्ठ ४१÷४२)

नेकपा (क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलनद्वारा स्वीकृत एवं पारित माथि उल्लेखित नीति तथा निर्णयका आधारमा गत पुस महिनामा सम्पन्न पार्टीको केन्द्रीय समितिले एकीकरण तथा ध्रुवीकरणसम्बन्धी कामका बारेमा यसप्रकार उल्लेख गरिएको छ ः पार्टीको एकीकरण तथा ध्रुवीकरणको काममा तत्काल विशेष पहलकदमी लिई अगाडि बढ्नु पर्दछ । त्यससम्बन्धी एउटा प्रस्ताव सार्वजनिक गर्नुपर्दछ । (तात्कालिक राजनीतिक प्रस्ताव पृष्ठ ४) केन्द्रीय समितिको उक्त बैठकले पार्टी एकीकरण तथा ध्रुवीकरणबारे आवश्यक पहल गर्ने निर्णय ग¥यो र त्यस प्रयोजनका लागि केन्द्रमा एक वार्ता टोलीसमेत निर्माण भइसकेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)को यही माघमा बसेको स्थायी समितिको बैठकले त्यस विषयलाई यसप्रकार मूर्तरुप प्रदान गरेको छ ः पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ््दै गएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्पm अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिष्ट समूह तथा व्यक्तित्वलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो । तसर्थ, यसबारे गम्भीर हुँदै क.विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी, क.मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा क.ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको छ । (प्रेस वक्तव्य)

एकीकरण र ध्रुवीकरणलाई व्यवहारतः मूर्तरुप प्रदान गर्नका लागि नेकपा (क्रान्तिकारी माओवादी)ले अन्य थप आधारभूत विषयहरुसमेत तय गरी अगाडि सारेको छ । ती यसप्रकार रहेका छन् ः (एक) माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा अँगिकार गर्ने, (दुई) क्रान्ति सम्पन्न गर्न बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्ने, (तीन) नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद र साम्यवाद स्थापनाका दिशामा अगाडि बढ्ने, (चार) जनवादी केन्द्रीयताको सिद्धान्तलाई स्वीकार गर्ने, (पाँच) वर्तमान पश्चगामी संविधानलाई अस्वीकार गर्ने र (छ) वर्तमान प्रतिक्रियावादी राज्यसत्ताअन्तर्गत निर्माण हुने सरकारमा समेत नहुने रहेका छन् । अहिले एमाले र माकेजस्ता दक्षिणपन्थी तथा संशोधनवादी पार्टीहरुले कथित वाम गठबन्धनको निर्माण गर्दै पार्टी एकतासमेतको प्रक्रियालाई अगाडि बढाइरहेको सन्दर्भमा नेका (क्रान्तिकारी माओवादी)ले सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुलाई एकजुट बनाई एकीकरण तथा ध्रवीकरणका लागि जुन पहलकदमी गरिरहेको छ, त्यसलाई सार्र्थक तुल्याउन गम्भीर जिम्मेवारीबोधका साथ लागिनुपर्ने कुरा स्वतः स्पष्ट छ ।