दाहाल एण्ड कम्पनीले मालेमावादको सिद्धान्त र पहिचानको मुद्दा बेची खाए : किराती

दाहाल एण्ड कम्पनीले मालेमावादको सिद्धान्त र पहिचानको मुद्दा बेची खाए : किराती

काठमाडौं । माओवादी केन्द्रको बिहीबार बसेको बैठकले लोकेन्द्र विष्ट, गोपाल किराती र विश्वभक्त दुलाल‘आहुती’लाई पार्टीबाट निस्कासन गरेपछि वक्तव्य निकालेर प्रतिक्रिया जनाउँदै किरातीले यसलाई दाहाल एण्ड कम्पनीको एकमनावादको पराकाष्ठा भएको आरोप लगाएका छन् र दाहाल एण्ड कम्पनीले माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेची खाएको आरोप लगाएका छन् ।

‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गठनको आह्वान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनीलाई धन्यवाद नै दिनुपर्छ ।’ किरातीले भनेका छन्, “उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो ।”

बिहीबार बसेको माओवादी बैठकले एकता विरोधी गतिविधिमा लागेको भन्दै किरातीसहित, विश्वभक्त दुवाल र लोकेन्द्र विष्टलाई निस्कासन गर्ने निर्णय गरेको थियो । किरातीले भने कार्वाहीको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । आफू माओवादी केन्द्रमा नरहेको घोषणा पनि उनले सोही विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

विज्ञप्तिमा किरातीले लेखेका छन्, “एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनी माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कतविरुद्ध विरोधको झण्डा उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आह्वान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।”