काठमाडौं । क्यानडामाथि एक विकेटको जित हासिल गरेपछि नेपालले विश्वकप छनोटमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको हो । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको थियो । यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गरेको छ ।

खेलाडी करण केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे । सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रनमात्र बनाए । नेपालको जितका लागि करणको प्रदर्शन निर्णायक बन्यो ।

डिभिजन–२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता थियो । मंगलबार आयोजक नामिबियाले केन्यालाई ८ विकेटको फराकिलो अन्तरले हराएसँगै नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हराउनैपर्ने बाध्यता बनेको थियो ।

केन्यालाई हराएपछि नामिबिया नेट रनरेटको आधारमा तालिकाको दोस्रो स्थानमा उक्लिएसँगै नेपालमाथि शीर्ष स्थानमा रहेको क्यानडालाई हराउनै पर्ने दबाब थियो । आयोजक नामिबियालाई पहिलो खेलमा पराजित गरेको नेपालले अन्तिम खेल पनि जित दर्ता गरेसँगै विश्वकप छनोट यात्रा पक्का भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर