यो परिस्थितिमा क्रान्तिकारीहरु एउटै ठाउँमा हुनु पर्दछ : महासचिव किरण

यो परिस्थितिमा क्रान्तिकारीहरु एउटै ठाउँमा हुनु पर्दछ : महासचिव किरण

‘पार्टी एकता र फुटको मूल पक्ष भनेको विचार हो । क्रान्तिकारी र अवसरवादीहरु एउटै ठाउँमा रहने स्थिति रहन्न ।’

(महान जनयुद्धको २३ औं वर्षगाँठ, क्रान्तिकारीहरुबीच भइरहेको एकताको पहल, संगठन तथा जनपरिचालन अभियान लगायतका विषयमा केन्द्रीत रहेर नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’सँग गरिएको संक्षिप्त कुराकानीलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।– स.)

‘महान् जनयुद्धको २३ औं वर्षगाँठको यस ऐतिहासिक अवसरमा म सिंगो पार्टीको तर्फबाट वीर अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । वेपत्ता योद्धाहरुको उच्च सम्मान सहित संस्मरण गर्दछु । घाइते अपाङ्ग योद्धाहरुप्रति उच्च सम्मान जाहेर गर्दछु’

दशवर्षे महान जनयुद्धको २३ औं वर्षगाँठ मनाउँदै गर्दा नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई कसरी हेर्नु भएको छ ?

–अहिले हामी महान् जनयुद्धको २३ औं वर्षगाँठ मनाउन गइरहेका छौं । अहिले माओवादी आन्दोलन विभाजित भएको छ । यो निश्चय नै दुःखद् विषय हो । पार्टी एकता र फुटको मूल पक्ष भनेको विचार हो । क्रान्तिकारी र अवसरवादीहरु एउटै ठाउँमा रहने स्थिति रहन्न । यसरी हेर्दा स्थितिलाई स्वभाविककै रुपमा लिन सकिन्छ । परन्तु, कयौं क्रान्तिकारी भ्रमित छन् । यो परिस्थितिमा क्रान्तिकारीहरु एउटै ठाउँमा हुनु पर्दछ । हाम्रो पहल यसै दिशामा छ ।

‘जनयुद्धले निश्चित रुपमा धक्का खायो तर त्यो धक्का अस्थायी र क्षणिक हो । पश्चगामी सत्तामा बसेका र तिनको संरक्षण गर्ने तत्वहरु पनि अजर र अमर हुन सक्दैनन् तर क्रान्ति भनेको निरन्तर जारी रहने कुरा हो । त्यसैले हामी प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको तयारीमा छौं ।’

दश वर्षको जनयुद्धले धक्का खाएको तथा प्रतिक्रान्ति हावी भएको वर्तमान घडीमा फेरि पनि क्रान्तिको तयारीमा जुट्ने उद्घोष गरिरहनु भएको छ । त्यसको चुनौति र सम्भावनाको विषयमा केही बताईदिनुस् न ?

–जनयुद्धले निश्चित रुपमा धक्का खायो तर त्यो धक्का अस्थायी र क्षणिक हो । पश्चगामी सत्तामा बसेका र तिनको संरक्षण गर्ने तत्वहरु पनि अजर र अमर हुन सक्दैनन् तर क्रान्ति भनेको निरन्तर जारी रहने कुरा हो । त्यसैले हामी प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको तयारीमा छौं । चुनौती धेरै छन्, साथै संभावना पनि धेरै छन् । हामीले चुनौतीहरुलाई चिरेर महान् सम्भावनाहरुको खोजी गर्दै अगाडि बढ्नु पर्छ । इतिहासको द्वन्द्ववादले यही कुरा सिकाउँछ ।

‘महान जनयुद्धको प्रक्रियामा जुन योद्धाहरुले उच्च बलिदान गरे, जुन योद्धाहरु बेपत्ता पारिए र जुन योद्धाहरु घाइते अपाङ्ग बने तिनको त्याग, वीरता र वलिदानको उत्कृष्ट कृतिमानहरुको औचित्यबारे प्रश्न उठाउने अधिकार कसैलाई पनि छैन । जसले यहाँ औचित्यको प्रश्न खडा गर्छन्, ती या त वर्ग दुश्मन हुन् या दुश्मनका दलाल हुन् । जनताका त्याग, वीरता र वलिदानको मूल्य कहिल्यै खेर जादैन ।’

सबै कम्युनिस्ट क्रान्तिकारी समूह तथा व्यक्तिहरुलाई एकीकृत र धु्रवीकृत गर्ने दिशामा पहल लिइरहनु भएको छ, एकता र धुव्रीकरणको सम्भावना के कस्तो छ ?

–अहिले हाम्रो मूल उद्देश्य सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु हो । यसै क्रममा एकीकरण र ध्रुवीरणका प्रक्रिया अगाडि बढ्दछन् । परन्तु, क्रान्तिकारीहरुलाई गोलबन्द गर्ने संभावनालाई हामीले यथार्थमा बदल्नु पर्छ ।

कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको विरुद्ध देशी विदेशी प्रतिक्रियावादीका साथै संशोधनवादी र अवसरवादीहरुको घेराबन्दी कसिएको छ, त्यो घेराबन्दी तोड्ने विषयमा क्रान्तिकारी माओवादीले के गर्दैछ ?

माेहन वैद्य ‘किरण’

–हो, घेराबन्दी कसिदै गएको छ । हामीले त्यसलाई तोड्दै जानुपर्छ । क्रान्तिकारीहरुलाई एकताबद्ध गरेर, जनतालाई साथमा लिएर र आफ्नो पार्टी बलियो बनाएर नै त्यस प्रकारको घेराबन्दीलाई तोड्न सकिन्छ । हामी यसै दिशामा छौं ।

आत्मगत अवस्थालाई सुदृढ गर्ने र क्रान्तिको तयारी गर्ने भन्दै सिङ्गो पार्टीपंक्ति अहिले संगठन तथा जनपरिचालन अभियानमा जुटेको छ, उद्देश्य अनुरुप अभियान कसरी चलेको पाउनु भएको छ ?

–संगठनलाई विस्तार, सुदृढीकरण गर्दै जनपरिचालनका कामलाई अगाडि बढाउने उद्देश्य अनुरुप अभियानका प्रक्रिया कयौं ठाउँमा सामान्यतः अगाडि बढेको छ । त्यसलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि अझै परिश्रम गर्न र दृढतापूर्वक लाग्न जरुरत छ ।

नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यलाई केन्द्रमा राखेर दश वर्षे महान् जनयुद्धमा होमिएका हजारौं योद्धाहरु, जसले उच्च बलिदान गरे, हजारौं बेपत्ता भए र हजारौं घाइते अवस्थामा छन्, अहिले त्यो महान् बलिदानको औचित्यमाथि प्रश्न उठाउन थालिएको छ, के भन्नु हुन्छ ?

–महान जनयुद्धको प्रक्रियामा जुन योद्धाहरुले उच्च बलिदान गरे, जुन योद्धाहरु बेपत्ता पारिए र जुन योद्धाहरु घाइते अपाङ्ग बने तिनको त्याग, वीरता र वलिदानको उत्कृष्ट कृतिमानहरुको औचित्यबारे प्रश्न उठाउने अधिकार कसैलाई पनि छैन । जसले यहाँ औचित्यको प्रश्न खडा गर्छन्, ती या त वर्ग दुश्मन हुन् या दुश्मनका दलाल हुन् । जनताका त्याग, वीरता र वलिदानको मूल्य कहिल्यै खेर जादैन । भावी क्रान्तिमा त्यसले क्रान्तिकारीहरुलाई अनन्त उर्जा प्रदान गर्दछ । त्यसैले हामीले जनयुद्धमा होमिई बलिदान प्राप्त गरेका, राज्यद्वारा वेपत्ता पारिएका र युद्धमै जनता लामबद्ध भएर खटेका सम्पूर्ण योद्धाहरुको उच्च मूल्यांकन र सम्मान गर्दछौं ।

ती महान् शहीद तथा बेपत्ता योद्धाहरु घाइते, अपाङ्ग उनीहरुका परिवारहरु र आमूल परिवर्तनका पक्षधरका जनतालाई यस ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ?

–महान् जनयुद्धको २३ औं वर्षगाँठको यस ऐतिहासिक अवसरमा म सिंगो पार्टीको तर्फबाट वीर अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । वेपत्ता योद्धाहरुको उच्च सम्मान सहित संस्मरण गर्दछु । घाइते अपाङ्ग योद्धाहरुप्रति उच्च सम्मान जाहेर गर्दछु । साथै, यस अवसरमा म शहीद तथा वेपत्ता योद्धाहरुका परिवारजनप्रति स–सम्मान हार्दिक शुभकामना र लाल अभिवादन व्यक्त गर्दछु ।

स्रोत : वर्गदृष्टि साप्ताहिक