महोत्तरी, २३ माघ । केही समययता जिल्लामा नेपाली नक्कली नोटको बिगबिगी बढेको छ । यस्ता नोटबारे वित्तीय कारोवार गर्ने निकायलेसमेत पुष्टि गरेका छन् । बैंक श्रोतकाअनुसार स्वर्ण व्यवसायी, जग्गा कारोवारी र व्यापारिले जम्मा गर्न ल्याएका रुपैयाँमा नक्कली फेला पर्ने गरेका छन् । सरकारी कार्यालय र बैंकको स्लिप लागेका ठेलीमासमेत नक्कली फेला परेको घटनाले अनेकन प्रश्न उब्जाएका छन् ।
संगीन अपराधको सूचीमा पर्ने नक्कली नोटको बिगबिगीबारे प्रहरीले अनभिज्ञता प्रकट गरेको छ भने बैंकहरूले ग्राहक भड्कने कारण घटनालाई गुपचुप राख्ने गरेको जनाइएको छ । वरामद नक्कली नोटमा सेक्युरिटी थ्रेड बाहिरबाट टासेको, सेतो भागमा वाटर प्रिन्ट नभएको, अधिकांशमा एउटै नम्बर भएको पाइएको छ । जलेश्वरस्थित राष्ट्र वाणिज्य बैंककाअनुसार बिहीबार जलेश्वर भन्सार कार्यालयले जम्मा गर्न ल्याएको राजस्वका ठेलीबाट १ हजारको एक थान नक्कली नोट फेला परेको थियो । बैंकका क्यासियर सुशीलकुमार साहले यसरी फेला पर्ने नक्कलीमा अधिकांश हजारका नोट पाइएका छन् । त्यसपछि ५ सय र १ सयका नोटहरू पनि छन् ।
साहले नक्कली नोटहरू देखाउँदै बरामद भएपछि मारकरले क्रस चिन्ह लगाएर प्राय. उनीहरूलाई नै फिर्ता पठाउने गरिएको जनाए । वर्दिवासस्थित राष्ट्र वाणिज्य बैंकको शाखाले ग्राहकलाई भुक्तानी गरेका नोटमा पनि नक्कली फेला परेपछि केही लफडा भएको थियो । प्रवन्धक तेजनारायण पासवानकाअनुसार त्यो दिन नक्कली फेला परेका नोटका गड्डीमा एसवीआई बंैकको स्लिप थियो । ग्राहकले भुक्तानी लिएर वर्दिवासकै सनराईज बैंकमा जम्मा गर्न जादा २ थान हजारका नोट नक्कली रहेको पहिचान भएको थियो । उजुरीपछि ग्राहकलाई नोटसहित एसवीआई बैंक पठाएको पासवानले जनाए । ‘एसवीआईले यो लफडा कसरी मिलायो थाहा भएन,’ पासवानले भने । वाणिज्य र एसवीआईमा मात्र नभएर नक्कली नोटको समस्या धेरथोर जिल्लाका सवै बैंकले ब्यहोर्दै आएको बुझिएको छ । सक्कलीजस्ता देखिने जाली नोटबाट बैंककर्मी र लेखापालसमेत झुक्किने हुँदा यसको बिगविगी सहजै अनुमान गर्न सकिन्छ । सेन्चुरी बैंकका एक कर्मचारीले आफू पनि २ पटक झुक्किदा खल्तीबाट २ हजार तिर्नु परेको जनाए । उनकाअनुसार अत्याधुनिक मेसिनले मात्र यी नोट पहिचान गर्न सक्छन् । तर सवैभन्दा बढी नगद कारोवार गर्ने जलेश्वरस्थित राष्ट्रिय बाणिज्य बैंकमासमेत यस्ता मेसिन नभएकाले कति नक्कली खपत भइरहेछन् भन्न गाह्रो छ ।
जिल्लाभर नक्कली नोटको बिगबिगी बढेको बैकहरूले जनाइरहेको बेला प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ । जिल्ला प्रहरी प्रमुखकोसमेत दायित्व सम्हालेका डीएसपी प्रकाश मल्लले नक्कली नोटबारे जानकारी नआएको बताए । बैंकहरूमा नियमितजसो नक्कली नोट फेला परे पनि जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाको रेकर्डअनुसार २०७० सालयता त्यस्तो नोट फेला परेको छैन । शाखाका सई सुखाडी साहले यस्ता घटनाको जानकारी दिनु बैंक र वित्तिय संस्थाको मात्र नभएर नागरिक दायित्व रहेको बताए । एक बंैककर्मीले जाली नोट फेला परेको प्रहरीलाई सूचना दिँदा ग्राहक भड्किने र कर्मचारीले बयान, दसीप्रमाण जस्ता कानुनी लफडा बेहोर्नुपर्ने हँुदा बैकहरूले सूचना गुपचुप राख्दै आएको जनाए । मुलुकी ऐनको खण्ड ६ खोटा चलन महलको ४ नंको १ अनुसार जाली नोटका कसुरदारमाथि विगोबमोजिम जरिवाना र १० वर्ष कैदको व्यवस्था छ ।