नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग बाँकेको संयोजकमा विरेन्द्र शाही‘अमिट’ निर्वाचित भएका छन् । क्रान्तिकारी युवा लिंग बाँकेको बुधबार नेपालगञ्जमा सम्पन्न भेलाले विरेन्द्र शाही‘अमिट’को संयोजकत्वमा कमिटि गठन गरेको हो । भेलाले चार सदस्य पछि थप्नेगरी १५ सदस्यीय क्रान्तिकारी युवाको जिल्ला समिति गठन गरेको छ ।
उक्त भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिशिरले हरेक मुक्ति आन्दोलनमा युवाको भूमिका महत्वपूर्ण भएको बताए । विचारले निर्देशित युवाहरू सुन्दर भविष्यका निर्माता भएको भन्दै उनले नयाँ जनवादी क्रान्तिका लागि युवाहरु संगठित हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी पार्टीको बाँके बर्दिया ईन्चार्ज भुपेन्द्र न्यौपानेले क्रान्तिकारी संगठनभित्र संघर्षको जरूरी लुकेको हुने बताउदै युवाले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसीले निर्वाचित समितिलाई शुभकामना दिंदै दमनको प्रतिरोधमा युवाहरु सबैभन्दा अगाडि हुनुपर्ने बताए ।
नवगठित लिगको प्रथम जिल्ला बैठकले पार्टीले संञ्चालन गरेको तीन महिने संगठन निर्माण तथा जनपरिचालन अभियानलाई सघाउने, फागुन १ गते मार्च पास गर्ने, सदस्यता वितरण गर्ने लगायतको निर्णय गरेको छ ।