
काठमाडौं, ४ माघ । टेलिफोन सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको आम्दानी १३ वर्षयता झन्डै पाँच गुणाले बढेको छ । टेलिकमले सार्वजनिक गरेको गत १३ वर्षको वार्षिक विरणका आधारमा उसको कुल आम्दानीमा ४८३.४६ प्रतिशतले वृद्धि भएको हो ।
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार संस्थान नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएयता कम्पनीको आम्दानी ठूलो मात्रामा वृद्धि भएको हो । नेपाल दूरसञ्चार कम्पनीका रूपमा सुरु भएको पहिलो आर्थिक वर्ष २०६१ र ०६२मा कम्पनीले नौ अर्ब १९ करोडभन्दा बढी आम्दानी गरेको थियो । त्यसको १३ वर्षपछि आर्थिक वर्ष २०७३ र ०७४मा टेलिकमको कुल आम्दानी ४४ अर्ब ४४ करोडभन्दा बढी पुगेको छ ।
यो १३ वर्षको अवधिमा कम्पनीले तीन खर्ब ७९ अर्ब ११ करोड कुल आम्दानी गरेको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार यस अवधिमा कम्पनीको ग्राहक संख्यामा आएको वृद्धि आम्दानी वृद्धिको प्रमुख कारण हो । साथै टेलिकमले आफ्नो सेवा विस्तारको क्रममा भित्र्याएको नयाँ प्रविधि र सेवाले कम्पनीको आम्दानी वृद्धि गर्न सहयोग र्पुयाएको छ ।
दूरसञ्चार प्राधिकरणले २०६१ साल वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनका आधारमा टेलिकमको ल्यान्डलाइन, पोस्टपेड र प्रिपेडका प्रयोगकर्ता जम्मा ६ लाख ८२ हजार थिए । त्यो संख्या बढेर अहिले दुई करोड हाराहारी पुगेका छन् । प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकका आधारमा अहिले टेलिकमका प्रयोगकर्ता एक करोड ८३ लाख ८६ हजार छन् ।
‘ल्यान्डलाइन, पोस्टपेड र प्रिपेड सेवामात्र रहेको टेलिकमले अहिलेसम्म आइपुग्दा अन्य सेवाजस्तैः एडीएसएल इन्टरनेट, मोबाइल इन्टरनेटमा टूजी, थ्रीजी र फोरजी, वाइम्याक्स, फाइबर इन्टरनेटलगायत सेवा विस्तार गरिसकेको छ’, प्रवक्ता वैद्यले भनिन्, ‘सेवा विस्तार गाउँगाउँसम्म पुगेको छ । अहिले टेलिकम सेवा देशका ७५ जिल्ला सदरमुकामका पुगिसकेको छ । यसले पनि टेलिकम आम्दानी वृद्धिमा ठूलो सहयोग र्पुयाएको हो ।’
यो १३ वर्षको अवधिमा कम्पनीले सरकारलाई ४६ अर्ब ९७ करोडभन्दा बढी कर बुझाइसकेको छ । टेलिकमकले बुझाउँदै आएको करमा समेत यो १३ वर्षको अवधिमा झन्डै चार गुणाले वृद्धि भएको देखिन्छ । टेलिकमको करमा १३ वर्षको अवधिमा ३७७.३१ प्रतिशतले वृद्धि भएको छ । आव २०६१ र ०६२मा टेलिकमले एक अर्ब ३७ करोडभन्दा बढी कर बुझाएको थियो । आर्थिक वर्ष २०७३ र ०७४मा आइपुग्दा टेलिकमले पाँच अर्ब २० करोडभन्दा बढी कर बुझाएको छ । तर टेलिकमले गरेको कुल आम्दानी र कर बुझाएको प्रतिशतमा भने समान वृद्धि हुन सकेको देखिँदैन ।
१३ वर्षको अवधिमा कम्पनीको कुल आम्दानीमा ४८३.४६ प्रशितले वृद्धि हुँदा उसले बुझाएको कर भने ३७७.३१ प्रतिशतले मात्र वृद्धि भएको देखिएको छ । यो क्रममा एक सय पाँच प्रतिशतले करमा कमी आएको छ । टेलिकमका सहप्रवक्ता सोभन अधिकारीका अनुसार यसका प्रमुख कारण पछिल्लो समय ट्यारिफ सस्तो भएर पनि हो । पछिल्लो समय भ्वाइसकलको भन्दा डाटाको प्रयोग बढी छ ।
तर कर बुझाउँदा भ्वाइसको कर बुझाउनु पर्छ र डाटामा भ्याटमात्र लाग्दै आएकाले करमा कमी आएको हो । यसका साथै कुन वर्षमा सामान कति किनियो भन्ने कुराले पनि फरक पार्ने भएकाले यसमा तलमाथि भएको उनको भनाइ छ । यो अवधिमा टेलिकमको खर्चमा समेत ठूलो वृद्धि भएको देखिन्छ । साढे पाँच गुणा अर्थात ५५८.८२ प्रतिशतले टेलिकमको खर्च वृद्धि भएको छ ।
आव २०६१ र ०६२मा टेलिकमको खर्च ४ अर्ब २७ करोड रहेकोमा आव २०७३ र ०७४मा आइपुग्दा बढेर २३ अर्ब ८७ करोड पुगेको छ । यी सम्पूर्ण कुरालाई कटाएर बाँकी रहेको खुद मुनाफालाई हेर्न हो भने कम्पनीको नाफा झन्डै साढे चार गुणाले वृद्धि भएको देखिन्छ । २०६१ र ०६२मा टेलिकमले तीन अर्ब ५४ करोड नाफा गरेको कम्पनीले आव २०७३ र ०७४मा आइपुग्दा १५ अर्ब ३७ करोडभन्दा बढी नाफा कमाएको छ ।