
काठमाडौं । काठमाडौंको घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा शनिबार माक्र्सवादी साहित्यकारहरु विच समाजवादी यथार्थवादी साहित्यमाथि गहन विमर्श भएको छ । “वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकता” शीर्षकमा आयोजित बहस कार्यक्रममा बोल्दै वक्ताहरुले समाजवादी यथार्थवादी साहित्य र प्रगतिवादी साहित्यमाथि गम्भीर बहस चलाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) लगायतका पार्टीसम्बद्ध माक्र्सवादी साहित्यकारहरुको जमघट रहेको उक्त बहस कार्यक्रममा अक्टोबर क्रान्तिको सान्दर्भिकतामाथि जोड दिंदै नेपाली समाजको वर्तमान अवस्थामा क्रान्ति र परिवर्तनको पक्षमा साहित्यले भूमिका खेल्नुपर्ने विचार व्यक्त गरेका छन् ।
माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य, लेखक तथा साहित्यकारहरु निनु चापागाई, प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डेय, डा.अमर गिरी, रोशन जनकपुरी, सीता शर्मा, संगीत श्रोतालगायतले भाग लिएको उक्त बहस कार्यक्रममा वक्ताहरुले माक्र्सवादी स्रष्टा तथा सर्जकहरुले सर्वहारावर्गको अधिनायकत्व, वर्गसंघर्ष, क्रान्तिमा वलप्रयोगको भूमिका, निरन्तर क्रान्तिको पक्षमा कलम चलाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव समेत रहनुभएका बरिष्ठ सौन्दर्य चिन्तक चैतन्यले भन्नुभयो, “अक्टोबर क्रान्तिले समाज बदल्नका लागि साहित्यको सिर्जना गरिनु पर्दछ भन्ने शिक्षा प्रदान गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले विद्यमान संसदवाद, संशोधनवाद र अवसरवादले फैलाएको भ्रम चिर्दै नयाँ जनवादी क्रान्तिको तयारीको पक्षमा प्रगतिवादी तथा समाजवादी यथार्थवादी साहित्यले भूमिका खेल्नु पर्दछ ।”
नेकपा (माओवादी केन्द्र)सँग निकट मानिनुहुने माक्र्सवादी लेखक तथा सौन्दर्य चिन्तक निनु चापागाईले भन्नुभयो, “अक्टोबर क्रान्तिले निजी सम्पत्ति, परिवार र राज्यसत्तालाई नै सिध्याउने काम गरेको थियो । यसो नगरी समाजवादी क्रान्ति हुँदैन । नेपालमा पनि त्यस किसिमको क्रान्तिको पक्षमा प्रगतिवादी तथा समाजवादी यथार्थवादी साहित्यकारहरुले भूमिका खेल्नु पर्दछ ।”
त्यसैगरी नेकपा (एमाले) निकट मानिनुहुने लेखक तथा साहित्यकार डा. अमर गिरीले भन्नुभयो, “एमाले र माओवादी केन्द्रभित्र पनि क्रान्ति र परिवर्तनको पक्षमा कलम चलाउने सर्जक र स्रष्टाहरु रहेका छन् । यसलाई यान्त्रिक रुपमा लिनु हुँदैन । माक्र्सवाद परित्याग गरेको पार्टी सम्बद्ध साहित्यकारहरुले समाजवादी यथार्थवादी साहित्य लेख्न सक्दैनन् ।”
प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले अध्यक्षता गरेको उक्त बहस कार्यक्रमलाई सञ्चालन प्रा.डा. ताराकान्त पाण्डेयले गर्नुभएको थियो ।