
एजेन्सी । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको बेइजिङ भ्रमणका क्रममा चीनले १८४ ओटा एयरबस अर्डर दिएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । ती एयरबस ए३२० विमान चीनले आफ्ना १३ ओटा एयरलाइन्सका लागि किन्न लागेको बताइएको छ ।
यद्यपि सो सम्झौताको मूल्य सार्वजनिक गरिएको छैन । तर कम्पनीको मूल्यअनुसार करिब १८ अर्ब डलरको सम्झौता भएको हुनसक्ने जनाइएको छ । विमान २०१९ र २०२० मा चीनलाई दिइसक्नुपर्नेछ । म्याक्रोनको तीन दिने राजकीय भ्रमण बुधबार सम्पन्न भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र म्याक्रोनको उपस्थितिमा अनेकौँ व्यापारिक सम्झौताहरु भएका छन् तर तिनको पनि मूल्य सार्वजनिक गरिएका छैनन् ।
चीन विश्वकै दोस्रो ठूलो विमान उडान बजार हो । जसका कारण फ्रान्सेली एयरबस र अमेरिकी बोइङबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ ।
गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनभ्रमणका क्रममा चीनले ३०० ओटा बोइङ किन्ने ३७ अर्ब डलर बराबरको सम्झौता भएको थियो । आगामी २० वर्षभित्रमा चीनलाई ७ हजारभन्दा बढी व्यवसायिक उडान गर्ने विमान आवश्यक पर्ने अनुमान गरिएको छ ।