प्रधानन्यायाधीश पराजुलीका विरुद्ध अनसन थालेका डा.केसी पक्राउ

प्रधानन्यायाधीश पराजुलीका विरुद्ध अनसन थालेका डा.केसी पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनसन थालेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएलगत्तै प्रहरीले पक्राउ गरेको हो । 

डा. केसीले संविधान र कानून बमोजित सर्वोच्च अदालत र मातहतका विभिन्न अदालतबाट भएका फैसला विरुद्ध जनतामा भ्रम पैदा हुने गरी न्याय व्यवस्था, न्यापालिका, र न्यायधीश र अदालत विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै निजलाई कारबाही गर्नु नपर्नाको कारण सहित मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई भनेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदनको आधारमा मुद्दा तयार भएको हो । 

डा. केसीले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको राजिनामा माग गर्दै सोमबारबाट १४ औं चरणको अनशन सुरु गरेका थिए । प्राध्यापक केसीले चार बर्षअघि त्रिविले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशी शर्मालाई प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले पुनर्वहालीको आदेश दिएलगत्तै त्यसको चर्को विरोध गर्दै आएका थिए । उनले प्रधानन्यायाधीश पराजुली समेत मेडिकल माफियाहरुको प्रभावमा परेर यस्तो आदेश दिएको आरोप लगाएका थिए । प्रहरीले पक्राउ गर्दैगर्दा डा. केसीले भने, “म प्रधानन्यायाधीश जो न्यायको बलात्कार गरिरहेको छ, त्यसको विरुद्ध लडेको हुँ । उसको आदेश चै पालना गर्दिनँ तर देशको नियम कानुन र तपाईंहरुको कदर गरेर म जाँदै छु ।”

सर्वोच्चले डा.शर्मालाई पुनर्वहाली गर्न आदेश गरेलगत्तै पत्रकार सम्मेलन गरेर डा. केसीले भनेका थिए, “पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् ।”