चितवन, १८ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड आजरातिदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक बिस्तारको कामलाई समयमा नै सक्न आजदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने भएको हो ।
सडक निर्माणमा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
यसअघि बसेको सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र दिउँसो एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको थियो ।
ट्राफिक प्रहरीका अनुसार राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएपछि नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीसाधनलाई दासढुंगाको मानव बस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको छ ।
यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ । काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको बताए ।
यस्तो छ बन्दको रुटः
काठमाडौंबाट छुट्ने नाइट बसहरु राति २२ः०० बजे भित्र मुग्लिङ बजार पार गरिसक्ने र पूर्व तथा पश्चिमतर्फवाट काठमाडौं–पोखरा जाने बसहरु बिहान ३ बजे रामनगर क्रस गर्ने गरी समय व्यवस्थापन गरी आउने ।
काठमाडौंबाट नारायणगढतर्फ आउने मालबाहक सवारीहरु राति २१ः०० बजे नै लेवाटर पार गरिसक्ने र सो पछि आउने मालबाहक सवारी लेवाटार ईलाकामा एकलाईनमा बिहान ४ बजेसम्म बस्ने ।
पूर्व वा पश्चिमवाट मुग्लिङतर्फ जाने मालबाहक सवारीहरु राति २१ः०० बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरिसक्ने र सो पछि आउने मालबाहक सवारी भतेरी जंगल ईलाकामा एकलाईनमा बिहान ४ः०० बजेसम्म बस्ने ।
सवारी रोकिने स्थानहरु रामनगर–भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिङ बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्ने ।
राति २२ः०० बजेदेखि बिहान ४ बजेसम्म नारायणगढ–मुग्लिङ सडक खण्डमा सुरक्षाको दृष्टिकोणले कुनै पनि सवारी छोड्न नसकिने हुँदा आफ्नो यात्राको व्यवस्थापन गर्ने ।