काठमाडौं, ६ मंसिर । निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दशवटा शहरको भौतिक पूर्वाधार निर्माणको कामलाई सहरी विकाश मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडी बढाइरहेको छ ।
सेवा सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यसाथ सरकारले आर्थिक वर्ष २०६७ र ६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको निर्माण तथा सो लोकमार्गको छेउछाउमा दशवटा नयाँ शहर विकास गर्ने घोषणा गरेको थियो । लोकमार्ग आसपासको बस्ती समेटेर विसं २०९० सालसम्म दश वटा सुविधा सम्पन्न शहर निर्माण हुनेछ ।
आर्थिक विकासको सम्भाव्यता, जमिनको उपलब्धता, जनसङ्ख्या तथा यातायातको सुगमताको आधारमा सरकारले दुई वर्षअघि बीस वर्षीय गुरुयोजना तयार गरी चरणबद्ध रूपमा नयाँ सडक शहर विकास गर्ने लक्ष्य राखेको छ ।
सरकारले मध्य पहाडी लोकमार्गअन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेणी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक सुविधासम्पन्न शहर निर्माण गर्न लागेको हो । प्रस्तावित हरेक नयाँ शहरमा एक एक लाख मानिस बसोबास गराउन सक्ने गरी सम्पूर्ण सुविधा र पूर्वाधार निर्माण गरिने यी शहरको निर्माणपछि हिमाल र पहाडबाट तराई झर्नेहरूको सङ्ख्यामा कमी आउने र राजधानी लगायत ठूला शहरमा हुने बसाइ सराइ न्यून हुने विश्वास गरिएको छ ।
सिन्धुलीको खुर्कोट, बागलुङको बुर्तिवाङ र अछामको साँफेबगर नदी किनारमा परेको हुनाले यी तीन शहरमा एक लाख जनसङ्ख्या बसाउने कार्य कठिन हुने आयोजना प्रमुखले बताउनुभयो । तर ती शहरहरू जोखिमयुक्त भौगोलिक क्षेत्रमा परेको भए पनि सोसम्बन्धी निर्णय भइसकेकोले परिवर्तन हुने सम्भावना भने कम नै देखिन्छ । ती ठाउँहरूमा बाढीको जोखिम (फ्लोड प्लेन) देखिएको छ ।
प्रत्येक शहरमा बस पार्क, मनोरञ्जन पार्क, तरकारी बजारलगायत पूर्वाधार निर्माण शुरु भइसकेको र दश वटै शहरमा करिब ३० किलोमिटर सडक स्तरोन्तिको काम भइरहेको बताउनुभयोे । नयाँ शहरहरूमा सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्रलगायत पूर्वाधारको विकास गरिने योजना छ ।
कहाँ के काम, कति भयो ?
१. बसपार्क निर्माणः अहिले ४ वटा बसपार्क निर्माण भइरहेका छन् । फिदिम, वसन्तपुर, चौरजहारी र पाटनमा बसपार्क निर्माण भइरहेको हुन् । त्यस्तै डुम्रे–भन्सार र साँफेबगरमा पनि आवश्यक तयारी पूरा भएर लागत इस्टिमेट भइरहेको छ । अन्य ठाउँमा पनि तयारी थालिसकेको छ ।
२. सडक निर्माण तथा स्तरोन्नतिः १० वटै नयाँ सहरमा सडक निर्माण भइरहेको छ । अहिलेसम्म सबै सहर रहने ठाउँमा कुल ४८ किलोमिटर सडक निर्माण भइसकेको छ ।
३. एकीकृत सरकारी अवधारणाअनुसारको कार्यलय भवन निर्माणः १० मध्ये ८ वटा सहरमा यससम्बन्धी कार्य भइरहेको छ । जसमा फिदिम, खुर्कोट, बैरेनी–गल्छी, डुम्रे–भन्सार, बुर्तिवाङ, चौरजहारी, साँफेबगर, पाटन छन् । वसन्तपुर र राकम–कर्णालीमा पनि भवन निर्माणकार्य अघि बढाउने प्रयास भइरहेको भए पनि जग्गा उपलब्ध नभएकाले प्रगति भएको छैन ।
४.तरकारी बजार तथा संकलन केन्द्रः अहिले वसन्तपुर, बैरेनी–गल्छी र डुमे्र–भन्सारमा निर्माण भइरहेको छ । राकम–कर्णाली, साँफेबगर र पाटनमा तत्काल जग्गा उपलब्ध नभएकाले कुनै प्रगति भएको छैन । त्यस्तै, अन्य ठाउँमा पनि प्रक्रिया अघि बढाउने तयारीमा सहरी विकास तथा भवन निर्माण विभाग रहेको छ ।
५. सार्वजनिक पार्क निर्माणः अहिले फिदिम, वसन्तपुर र खुर्कोटमा निर्माण भइरहेको छ । डुम्रे–भन्सारमा डिजाइन भई लागत इस्टिमेट तयार भइरहेको र राकम–कर्णालीमा जग्गा प्राप्त गर्ने काम भएको छ ।
६. सहरी सेवा केन्द्रः विभागले वार्षिक लक्ष्यअनुसार बैरेनी–गल्छीमा सहरी सेवा केन्द्र निर्माण गरिरहेको छ । थप अन्य ठाउँमा पनि चाँडै प्रक्रिया अघि बढाउने तयारी छ ।
७. खानेपानीः नयाँ सहर विकास गर्नुपूर्व आवश्यकमध्येको एक खानेपानी व्यवस्था गर्ने कामलाई पनि उच्च प्राथमिकता दिइएको छ । अहिले बैरेनी–गल्छी र साँफेबगरमा खानेपानी व्यवस्थापनका लागि आवश्यक निर्माणकार्य भइरहेको छ । थप अन्य ठाउँमा पनि चाँडै योजना अघि बढाउने नयाँ सहर आयोजना समन्वय कार्यालयले जानकारी दिएको छ ।
८. रिङरोडः अहिले फिदिम, वसन्तपुर, बैरेनी–गल्छी, चौरजहारीमा रिङरोड निर्माण भइरहेको छ । यसलार्य नयाँ सहर विकास गरिने ठाउँमा पनि निर्माण गरिनेछ ।
९. सरकारी जग्गा संरक्षणः १० वटै नयाँ सहरमा संरक्षण कार्य भइरहेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।
१०. जग्गा एकीकरण आयोजना ब्लक प्लानअनुसार बाटो खोल्ने कार्यः अहिलेसम्म खुर्कोटमा विकास हुने नयाँ सहरमा बाटो खोल्ने कार्य भइरहेको छ । त्यस्तै, फिदिम, वसन्तपुर, बैरेनी–गल्छी र डुम्रे–भन्सारको ब्लक प्लान स्वीकृत भएको छ । अन्य ठाउँमा पनि यस प्रक्रियालाई अघि बढाइने तयारी भइरहेको छ ।
११. ढल निर्माणः फिदिम, वसन्तपुर, खुर्कोट, डुम्रे–भन्सार र बुर्तिवाङमा ढल निर्माणकार्य सुरु भएको छ । अन्य ठाउँमा पनि ढल निर्माण अघि बढाइने नयाँ सहर आयोजना समन्वय कार्यालयले जानकारी दिएको छ ।