विप्लव पार्टीले कहाँ–कहाँ ग¥यो आक्रमण

विप्लव पार्टीले कहाँ–कहाँ ग¥यो आक्रमण

निर्वाचनको मिति नजिकिदै गर्दा देशका विभिन्न ठाउँ विभिन्न प्रकारको   घटनाहरु    घटिरहेको छन् ।  उक्त घटनाको    विवरणहरु   निम्न अनुसार छः

घटना १ः प्रभाकरको गाडीमा बम प्रहार
२४ कात्तिकमा माओवादी नेता तथा पश्चिम रुकुमका प्रतिनिधि सदस्यका उम्मेदवार जनार्दन शर्मा प्रभाकर चढेको गाडीमा अज्ञात व्यक्तिले बम प्रहार गरे । चौरजहारी नगरपालिका–८ गोइरीमा उनको गाडीमा दुईवटा बम हानिएको थियो । एउटा बम पड्किए पनि गाडीमा भने क्षति भएन ।

घटना २ः अनन्तलाई लक्षित गरी एम्बुस
२५ कात्तिकमा माओवादी नेता तथा रोल्पाका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुन अनन्तको टोलीलाई लक्षित गरी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एम्बुस विस्फोट गराए । घर्तीगाउँ र ओटको बीचमा पर्ने भिटाबाङमा एम्बुस विस्फोटबाट दुईवटा गाडीमा सामान्य क्षति भएको छ । पुनसहित गाडीमा माओवादीकी समानुपातिक उम्मेदवार जयपुरी घर्ती थिइन् भने अर्को गाडीमा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य गोकुल घर्ती र एमालेका प्रदेश उम्मेदवार थिए ।

घटना ३ः अनन्तमाथि फेरि आक्रमण

२६ कात्तिकमा रोल्पाको बाघमारातर्फ जाने क्रममा माओवादी नेता वर्षमान पुन अनन्तमाथि पुनः आक्रमण भयो । सो टोली हिँडेको सडकमा माथि भीरबाट ढुंगा लडाएर फायरिङ गरिएको थियो । सुरक्षाकर्मीले जवाफी फायरिङ गर्दा झडप भए पनि गम्भीर घाइते कोही भएनन् ।

घटना ४ः कांग्रेस उम्मेदवार निशानामा

म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार कांग्रेसको प्रचार टोलीलाई लक्षित गरी विद्युतीय धराप विस्फोट गराइएको छ । अर्जम क्षेत्रमा घरदैलोमा जान लागेका कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजाको टोलीलाई लक्ष्य गरी विस्फोट गराइएको हो ।

घटना ५ः पूर्वमन्त्री राई बम आक्रमणमा
मंगलबार भोजपुर (ख) प्रदेश सभाका एमाले उम्मेदवार तथा पूर्वमन्त्री शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । चुनावी सभामा जाने क्रममा आक्रमण भएको हो । राईका सुरक्षागार्ड असइ डिल्ली देवकोटाको बायाँ हातमा गम्भीर चोट लागेको छ । राई सकुशल छन् ।

घटना ६ः निशानामा एमाले उम्मेदवार
मंगलबार नै एमालेबाट संखुवासभामा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी धुपुको डकेदेउरालीमा विद्युतीय धराप विस्फोट गरियो । गाडीमा क्षति नपुगेको र उम्मेदवार गौतम सकुशल रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।