प्रत्यक्षतर्फ सबैभन्दा बढी महिला उम्मेदवार उठायो देजमोले

प्रत्यक्षतर्फ सबैभन्दा बढी महिला उम्मेदवार उठायो देजमोले

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले देशैभर प्रत्यक्षतर्फ १२ जना महिलालाई चुनावी मैदानमा उतारेको छ । निर्वाचनमा भाग लिएका मोर्चाबाहेकका संसदवादी दलहरुको आँकडा हेर्ने हो भने मोर्चाले नै सबैभन्दा बढी महिला उम्मेदवारलाई प्रत्यक्षमा उठाएको देखिन्छ । संसदवादीहरुलाई उछिन्दै मोर्चाले महिला उम्मेदवारहरुलाई अगाडि सारेको छ ।

 प्रत्यक्षतर्फ राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले सबैभन्दा १०÷१० जना महिलालाई प्रतिनिधिसभातर्फ चुनावी मैदानमा उतारेका छन् भने कांग्रेसले ९ जना र वाम गठबन्धनका तर्फबाट पनि ९ जना महिला प्रत्यक्ष रूपमा चुनावी मैदानमा उतारेको छ । जसमध्ये नेकपा एमालेले ५ र नेकपा माओवादी केन्द्रले ४ जना महिलालाई प्रत्यक्षतर्फ स्थान दिएको छ । त्यस्तै प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा राष्ट्रवादीले समेत ९ जना महिलालाई उम्मेदवार बनाएको छ । त्यस्तै राजपा नेपालले ६ र संघीय समाजवादी फोरमले ५ जना महिलालाई अवसर दिएका छन् । संसदवादी दलहरुले महिलाहरुलाई अवसर नदिएपछि दलहरुको सिण्डिकेटलाई चुनौती दिंदै ३८ जना महिलाहरु स्वतन्त्र उम्मेदवार बनेका छन् ।

  यता देजमोले भने क्रान्तिकारी माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्षदेखि विध्यार्थी नेतृहरुसम्म चुनावी प्रतिस्पर्धामा अगाडि सारेको छ । अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष लक्ष्मी मुड्भरी नुवाकोट–२ बाट कांग्रेसका नेता अर्जुन नरसिंह केसीसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने काठमाडौं–३ बाट विध्यार्थी नेतृ ज्ञानु खतिवडा पनि प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ अखिल (क्रान्तिकारी)को केन्द्रीय सचिव समेत हुनुहुन्छ ।

 त्यसैगरी काठमाडौं–९ बाट शान्ता पण्डितले उम्मेदवारी दिनुभएको छ भने विध्यार्थी नेतृ शिलु न्यौपानेले काठमाडौं–७ को ख) बाट प्रदेशसभा सदस्यको लागि उम्मेदवार बन्नुभएको छ । उहाँ अखिल (क्रान्तिकारी)को केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ । त्यसैगरी काभ्रे–१ को ख) बाट शोभा विक गुण्डा नाइके गणेश लामासँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने सिन्धुली–२ को ख) बाट पूर्णाकुमारी देवकोटा चनावी मैदानमा उत्रिनु भएको छ । त्यसैगरी सप्तरी–४ क) मा अजिता विश्वकर्माले उम्मेदवारी दिनुभएको छ भने महोत्तरी–३ क) मा ज्ञानमाला महतो उम्मेदवार बन्नुभएको छ । उता सर्लाही–१ को ख) मा रीतादेवी झाले उम्मेदवारी दिनुभएको छ भने सर्लाही–२ को क) मा पवनदेवी यादवको उम्मदेवारी परेको छ । त्यसैगरी बर्दिया–२ क) मा सोनिका मल्ल र कैलाली–४ को ख) मा भगवती सिंह प्रत्यक्ष चुनावी मैदानमा हुनुहुन्छ ।