काठमाडौं, २१ कार्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्न तीन जादुगरी हतियार निर्माण गर्दै क्रान्तिको प्रक्रियामा अगाडि बढ्ने बताउनु भएको छ । महान अक्टोवर समाजवादी क्रान्ति सय वर्ष पुगेको अवसरमा आयोजित “महान अक्टोवर समाजवादी क्रान्तिको शतवार्षिकी समारोह” लाई सम्बोधन गर्दै पार्टी महासचिव ‘किरण’ले अक्टोवर क्रान्तिको शतवार्षिकी मनाउनु भनेको नेपालमा सर्वहारा वर्गको जनवादी राज्य व्यवस्था स्थापना गर्न संघर्षको बिचबाट अगाडि बढ्नु हो भन्नु भयो, “निर्वाचनको उपयोग पनि क्रान्तिको अर्को मोर्चा हो । शान्तिपूर्ण संघर्ष गर्न सिपालु नहुनेले सशस्त्र संघर्ष पनि गर्न सक्दैनन् । क्रान्तिकारीहरु वैधानिक अवैधानिक दुबै संघर्ष सञ्चालन गर्नमा सिपालु बन्नु पर्दछ । अक्टोवर क्रान्तिबाट क्रान्तिकारीहरुले लिने शिक्षा यहि हो ।”
पार्टीका बरिष्ठ नेता सीपी गजुरेलले सञ्चालन गरेको उक्त समारोहलाई सम्बोधन गर्दैै महासचिव ‘किरण’ले अगाडि भन्नु भयो, “लेनिनले गरेको साम्राज्यवादको विश्लेषण र संश्लेषण अहिले पनि सहि रहेको छ । लेनिनका नक्कली अनुयायीहरुले साम्राज्यवाद सम्बन्धी लेनिनले गरेको परिभाषा पुरानो र असान्दर्भिक भएको विश्लेषण गर्दै भ्रम छर्ने गरिरहेका छन् । लेनिन गरेको गरेको साम्राज्यवादको विशेषता भनेको एकाधिकार पुँजीवाद हो । अहिलेको साम्राज्यवादको विशेषता भनेको पनि एकाधिकार पुँजीवाद नै हो ।”
नेपालका कतिपय आफूलाई वाम भन्न रुचाउने अवसरवादी बुद्धिजीवीहरुले समेत माक्र्स र लेनिनका विचारहरु पछाडि परिसकेको विश्लेषण गर्ने गरेको प्रशंग उल्लेख गर्दै महासचिव ‘किरण’ले भन्नुभयो, “तेस्ता बुद्धिजीवीहरु माक्र्स र लेनिनका नक्कली अनुयायी हुन् । क्रान्तिकारीहरु उनीहरुबाट सचेत रहनु पर्दछ ।”
पेरिस कम्युन भन्दा अगाडि माक्र्सले सामन्तवादको विरुद्ध संघर्ष गर्दा पुँजीवादीहरुको पनि साथ लिनु पर्दछ र त्यसरी गरिने क्रान्ति लोकतान्त्रिक गणतन्त्र हुन्छ भनेरे विश्लेषण गरेको भएपनि पेरिस कम्युनको बेला पुँजीवादीहरुले गरेको बर्बर दमन गरेपछि पुँजीवादको चरित्र लोकतान्त्रिक नहुने विश्लेषण माक्र्सले पटक–पटक गरेको सन्दर्भ उल्लेख गर्दै महासचिव ‘किरण’ले भन्नुभयो, “तत्कालिन युद्धरत नेकपा (माओवादी) का नेताहरुले चुनुवाङका दस्तावेजमा माक्र्स र लेनिनका विश्लेषण पछाडि परिसकेको भन्दै साम्राज्यवाद सम्बन्धी गरिएको विश्लेषण गलत थियो र लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पनि गलत थियो ।”
नेपालका वामपन्थीहरुलाई लक्षित गर्दै महासचिव ‘किरण’ले ‘भन्छन् नयाँ गर्छन् पुरानो’ । वर्तमान संसदीय व्यवस्था र संसदीय राजनीतिक पार्टीहरुले निर्वाचनको लागि बनाएको निर्वाचन कानुन र थे्रस होल्ड सम्बन्धी गरेको व्यवस्था प्रति विश्लेषण गर्दै महासचिव ‘किरण’ले भन्नुभयो, “संसदीय व्यवस्थालाई थे्रसहोल्डले ध्वस्त पारेको छ । बहुदलीय संसदीय व्यवस्था भन्ने, बहुलवाद मान्ने तर दलहरुलाई निषेध गर्ने । यो कस्तो संसदीय व्यवस्था हो ? दुई वा तीन पार्टी बनाएर यो व्यवस्था फाँसीवादी दिशातर्फ लगिएको छ ।” निर्वाचनमा संसदवादी पार्टीहरुले सत्ता, शक्ति र पैसाको दुरुपयोग गरेको तर्फ संकेत गर्दै महासचिव ‘किरण’ ले भन्नुभयो, “संसदीय व्यवस्था यसैका पक्षपातीहरुको पनि रहेन त्यहाँ भित्रपनि सत्ता र पैसा हुनेहरुको लागि मात्र भयो ।”
उक्त समारोहलाई सम्बोधन गर्दै पार्टीका पूर्व कार्यालय सदस्य रामसिंह श्रीसले रुसी अक्टोवर समाजवादी क्रान्तिबाट सिक्नुपर्ने पाठ धेरै रहेको उल्लेख गर्दै अक्टोवर समाजवादी क्रान्ति नेपाली क्रान्तिको अबको कार्यभार हुनुपर्ने बताउनु भयो । क्रान्तिका लागि क्रान्तिकारी पार्टी निर्माण अनिवार्य रहेको तर्फ जोड दिर्दै उहाँले भन्नुभयो, “लेनिनवादी संगठनात्मक पद्धतीमा आधारित रहेर अनुशासित र जुझारु क्रान्तिकारी पार्टी निर्माणमा हामीले विशेष जोडदिनु पर्दछ । क्रान्तिका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण पहिलो सर्त हो ।”
पार्टीका अर्का पूर्व कार्यालय सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेलले उक्त समारोहलाई सम्बोधन गर्दै तत्कालिन रुसी अक्टोवर क्रान्तिको परिस्थिति भन्दा विश्वमा धेरै परिवर्तन आएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “अक्टोवर क्रान्ति यता आधाभूत रुपमा परिस्थिति उहि भएपनि रुप पक्षमा धेरै बदलाव आएको छ । नेपालमा भएको क्रान्तिले सेटब्याक खाएपछि मानिसहरुका मनस्थितिहरु खल्बलिएका छन् । ती क्रान्तिहरुबाट शिक्षा लिर्दै नेपाली विशेषतामा आधारित रहेर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन एकजुट हुनुपर्दछ ।”
त्यसैगरि समारोहमा बोल्दै पार्टीका पूर्व सल्लाहकार सचिव दिर्घराज पाण्डे, पूर्व सचिवालय सदस्यहरु इन्द्रमोहन सिग्देल, दिनेश शर्मा ‘सागर’ र पवनमान श्रेष्ठले साम्राज्यवाद तथा घरेलु प्रतिक्रियावादी सत्ता, संशोधनवादी तथा अवसरवादीहरुका विरुद्ध लेनिनले गरेको संघर्षबाट गम्भीर शिक्षा लिदै नेपालको धर्तीमा अक्टोवर क्रान्तिका अनुभवहरु सिर्जनात्मक ढंगले लागु गरि क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । त्यसको लागि पार्टीको हालै सम्पन्न पोखरा राष्ट्रिय सम्मेलनले नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई थप समृद्ध पारिसकेको पनि बताउनु भयो ।