
काठमाडौं । धादिङको त्रिशुलीमा ३१ जनाको ज्यान जाने गरी भएको यात्रुवाहक बस दुर्घटनाको दुई दिन नबित्दै सोमबार गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी २० जनाले ज्यान गुमाएका छन् ।
प्राप्त समाचार अनुसार बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो गुल्मीको वीरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने सोमबार नै उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको सुमो जीप कटारी–११ ठाँटीमा दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको थियो ।




यस दुर्घटनामा परी मृत्यु हुने मध्ये सबैको सनाखत भएको छ । मृतकहरुमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमीचौरका अन्दाजी बर्ष ३१ का भीमबहादुर घर्ती मगर (ड्राईभर), गुल्मी मालिका गउँपालिका ६ का ३० वर्षीय लालबहादुर मुखिया, गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौरकी २७ वर्षीया यमुना पन्थी मरासिनी, ईस्मा(२ पालुकाकी ४५ वर्षीया रुबी नेपाल, इस्मा(६ का २६ वर्षीय दिलबहादुर कुमाल र गुल्मी रिमुवाकी सुमित्रा दर्लामी छन् ।
त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊकी ५० वर्षीया मानकुमारी थापा, अर्घाखँची छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डे र बुटवलका केशवबहादुर गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ ।
त्यसैगरी मालिका गाउँपालिका गुल्मीका २० वर्षका ७ घमिर सुमन कार्की, इस्मा गाउँपालिका गुल्मीका वर्ष २४ का वीरबहादुर मुखिया, अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने अन्दाजी बर्ष ३५ का रामप्रसाद पाण्डेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीका चालकको पाल्पा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । सनाखतको लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।
यस्तै घाइते हुनेहरुमा एक जना महिला, ५ जना पुरुष र २ जना बालक रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार चालक सहित १७ जना सवार थिए ।
दुर्घटनामा परेको गाडी सडकबाट करीव ३ सय मिटर भन्दा बढी तल खसेको थियो ।
गाडीमा ११ जना सवार रहेकामा ३ वर्षको बच्चा सकुशल अवस्थामा घेटिएका छन् भने एक महिलालाई उपचारका लागि बिराटनगर लगिएको छ । मृत्यु भएका दुई यात्रुको भने सनाखत हुन सकेको छैन ।
यसैबीच, त्रिशुली बस दुर्घटनामा अझै चार जना वेपत्ता रहेको भन्दै प्रहरीले खोजी कार्य जारी राखेको छ ।