उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व, शुक्रबार पनि सार्वजनिक विदा

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व, शुक्रबार पनि सार्वजनिक विदा

काठमाडौं । छठ पर्वको अन्तिम दिन शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्नेको बाक्लो उपस्थिति छ । हिजो दिनभर निराहार व्रत बसेका व्रतालुले आज विहान उदाउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिएपछि मात्रै छठको समापन गरेका हुन् । यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।

छठ पर्वका लागि जनकपुरका पोखरी, बीरगंजको घडीअर्वा पोखरी, विभिन्न नदी तलाउ तथा राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत बाग्मती, शंखमुल, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको थियो । यसैबीच सरकारले छठ पर्वका लागि शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ ।