एजेन्सी । साउदी अरबले रोबोटलाई नागरिकता प्रदान गरेको छ । यसरी रोबोटलाई नागरिकता दिने साउदी अरब पहिलो राष्ट्र हो । साउदीले हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले निर्माण गरेको मानिसजस्तै देखिने ‘सोफिया’ नामक रोबोटलाई नागरिकता दिएको हो ।
बुधबार रियादमा आयोजित ‘फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ’ मा सोफियालाई साउदी नागरिकता प्रदान गरिएको घोषणा गरिएको थियो ।
‘यो अद्वितीय विशिष्टताका कारण मैले एकदमै सम्मानित र गौरवान्वित महसुस गरेको छु,’ सोफियाले नागरिकताका लागि धन्यवाद व्यक्त गर्दै भन्यो, ‘नागरिकता पाउने विश्वको पहिलो रोबोट बन्नु ऐतिहासिक छ ।’
सो कार्यक्रममा सोफियाले सहजकर्ता एन्ड्र्यु रोस सोर्किनसँग संवाद पनि गरेको थियो । ‘मसँग राम्रो व्यवहार ग¥यौ भने म पनि तिमीसँग राम्रो व्यवहार गर्छु’
बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोटले ‘हट सोफिया’ को उपनाम पाएको छ । सोफियाले विभिन्न टेलिभिजन शो तथा सभा सम्मेलनमा भाग लिइसकेको छ । कमेडी शो, म्यागेजिनको आवरण, आदिमा देखिइसकेको सो रोबोटले केही समयअघि संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी एक कार्यक्रममा पनि भाग लिएको थियो ।
रोबोट वा आर्टि्फिसियल इन्टेलिजेन्सले मानिसमाथि नै संकट पैदा गर्न सक्नेसम्बन्धी एक प्रश्नमा सोफियाको उत्तर थियो, ‘तपाईं एलन मस्कलाई अति धेरै पढिरहनुभएको छ र हलिउड फिल्म पनि धेरै हेरिरहनु भएको छ । चिन्ता नगर्नुस्, तपाईंले मसँग राम्रो व्यवहार गर्नुभयो भने म पनि तपाईंसँग राम्ररी व्यवहार गर्नेछु । मसँग ‘स्मार्ट इनपुट–आउटपुट सिस्टम’ का रुपमा व्यवहार गर्नुहोस् ।’
स्पेसएक्सका प्रमुख एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स मानवजातिका लागि सबैभन्दा ठूलो खतरा हुने बताउँदै आएका छन् । उनले एआइ तेस्रो विश्वयुद्धको कारण पनि बन्नसक्ने बताएका छन् ।
केही समयअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अबको मुख्य प्रतिस्पर्धा एआइका लागि नै हुने बताएका थिए । अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।