ऋण तिर्न नसकेपछि छोराको हत्या गरी आत्महत्या गरे विषेश्वर जोशीले

ऋण तिर्न नसकेपछि छोराको हत्या गरी आत्महत्या गरे विषेश्वर जोशीले

धनगढी । जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरिया बजारमा बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन् । ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले जनाएको छ ।

उनले श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माइतीघर गएका बेला बुधबार साँझ छोराको हत्या गरी आत्महत्या गरेका हुन् । प्रहरीले उनको साथबाट सुसाइट नोट फेला पारेको छ । उनले धेरै ऋण परेको र तिर्न सक्ने अवस्था नभएकाले आत्महत्या गरेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी निरीक्षक ईश्वरीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

आफूले लिएको ऋणले छोरोले भविष्यमा दुःख नपाओस् भनेर हत्या गरेको पनि सुसाइट नोटमा लेखिएको पाण्डेले बताए । जोशीले अत्तरियामा मदिरा पसल गर्दै आएका थिए ।

एकाबिहानै उठेर वरिपरि डुल्ने आरबलाई नदेखेपछि छिमेकीले उनको खोजी गरेका थिए । प्रहरीले बिहीबार बिहान ढोका तोडेर हेर्दा बालकको सिरानीले नाक–मुख च्यापेर हत्या गरेको अनि त्यसपछि बाहिरको कोठामा पंखामा झुन्डिएको अवस्थामा जोशीको शव फेला पारेको थियो । मृतककी पत्नी अजिता आएपछि मात्र पोस्टमार्टम हुने प्रहरीले जनाएको छ ।