सत्ताको निम्ति तिनीहरु देशलाई बली चढाउन पनि तयार हुन्छन् : महासचिव किरण

सत्ताको निम्ति तिनीहरु देशलाई बली चढाउन पनि तयार हुन्छन् : महासचिव किरण

माेहन वैद्य ‘किरण’

“थ्रेसहोल्डको व्यवस्थाले संसदीय व्यवस्थाको बहुदलीयता र बहुलवादमा गंभीर प्रश्नचिन्ह खडा गरेको छ । यसले बहुदल र बहुलवाद होइन दुई वा तीन दलीय अवधारणालाई पुष्टि गर्दछ । यो सिद्धान्ततः बहुदलीय व्यवस्थाको असफलता र पतनको द्योतक हो । र, थ्रेसहोल्डले रणनीतिक रुपमा संसदीय व्यवस्था आफ्नो सारतत्वका धनाढय, साहु महाजन तथा एकाधिकारी पुँजीपति अर्थात् साम्राज्यवाद÷विस्तारवाद र तिनका दलालहरुको अधिनायकवाद हो भन्ने कुरालाई राम्रोसँग पुष्टि गरिरहेको छ ।”

“घेराबन्दी र चुनौती क्रान्तिकारीहरुका लागि महान् अवसर पनि हुन् ।”

“क्रान्तिको तयारीका निम्ति सैद्धान्तिक, राजनीतिक, सांगठनिक तथा संघर्ष सम्बन्धी काममा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिइएको छ । अब गरिने नयाँ जनवादी क्रान्तिमा संघर्षका विविध रुप र मुख्यतः बलप्रयोगको भूमिका अपरिहार्य हुन्छ । नेपाली नयाँ जनवादी क्रान्ति नेपाली विशिष्टतामा आधारित हुन्छ ।”

नेकपा (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । आफ्नो उद्देश्यमा यो सम्मेलन कति हदसम्म सफल हुन सक्यो ? विगतका राष्ट्रिय सम्मेलनहरुलाई दाँजेर हेर्दा यो सम्मेलन कस्तो रहन गयो ?

–हाम्रो बहुप्रतीक्षित प्रथम राष्ट्रिय सम्मेलन महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । विचारधारा, राजनीति र संगठन लगायतका क्षेत्रमा कार्यदिशालाई समृद्ध तुल्याउने उद्देश्य प्राप्तिको जुन अपेक्षा गरिएको थियो, त्यो मूलतः हासिल भएको छ । यसलाई अरु कुनै सम्मेलनसित तुलना नगरौं, हरेक सम्मेलनको आफ्नो विशिष्ट ऐतिहासिक महत्व हुन्छ । यस सम्मेलनको पनि त्यही महत्व रहेको छ ।

विचार, राजनीति, संगठन र संघर्षको क्षेत्रमा राष्ट्रिय सम्मेलनले गर्न खोजेको दिशानिर्देशको बारेमा प्रष्ट्याइदिनुस् न ।

–नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी तथा पश्चगामी वृत्तमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेपछि नेपालमा नयाँ जनवादी क्रान्ति पुरा भयो भनेर जुन हल्ला मच्चाउने र आफ्नो अवसरवादी चिन्तनमा जसरी पर्दा हाल्ने काम हँदै आएको थियो त्यसलाई चिर्न यस सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको छ । सम्मेलनमा देश अझै पनि अर्ध सामन्ती, अर्धऔपनिवेशिक तथा मुख्यतः नव–औपनिवेशिक अवस्थामा रहेकोले दलाल नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ र यस प्रकारको क्रान्तिको तयारीका निम्ति सैद्धान्तिक, राजनीतिक, सांगठनिक तथा संघर्ष सम्बन्धी काममा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिइएको छ ।

पोखरा राष्ट्रिय सम्मेलनले नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई थप समृद्ध गरेको संश्लेषण गर्नुभएको छ । यसबारे थप प्रष्ट पारिदिनुस् न ।

–यस प्रश्नको उत्तर माथि नै आइसकेको छ ।

“रुपमा केही फरक जस्तो देखिए पनि सारमा लोकतान्त्रिक गठबन्धन र कथित वाम गठबन्धनका बिच कुनै तात्विक अन्तर छैन । यी सबैले दार्शनिक रुपमा बहुलवाद र राजनीतिक रुपमा संसदीय व्यवस्थालाई आदर्श मानेर त्यसै अनुसार चल्दछन् । आर्थिक सिद्धान्तका दृष्टिले हेर्दा यी सबै नेपालमा साम्राज्यवादी नव–उदारवादका असली संरक्षक हुन् । यी सबैलाई आफ्ना मालिकहरुको चाकडी गरेर सत्तामा जाने भन्दा अर्को कुनै चासो छैन र सत्ताको निम्ति यी देशलाई बली चढाउन पनि तयार हुन्छन् ।”

अब गरिने नयाँ जनवादी क्रान्तिको मोडल कस्तो हुनसक्छ र यसका के कस्ता विशेषता हुन सक्छन् ? संक्षिप्तमा प्रकाश पार्न मिल्छ कि ?

अब गरिने नयाँ जनवादी क्रान्तिमा संघर्षका विविध रुप र मुख्यतः बलप्रयोगको भूमिका अपरिहार्य हुन्छ । नेपाली नयाँ जनवादी क्रान्ति नेपाली विशिष्टतामा आधारित हुन्छ । जहाँसम्म मोडेलको प्रश्न हो त्यो संघर्षका विविध रुपहरुका प्रयोगकै बिचबाट विकसित हुन्छ ।

सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई अहिले देशीविदेशी प्रतिक्रियावादी, दक्षिणपन्थी संशोधनवादी तथा अवसरवादीहरुले चौतर्फीरुपमा घेराबन्दी गरेका छन् । पछिल्लो कथित वाम र लोकतान्त्रिक गठबन्धनहरुले थप चुनौती खडा गरेको छ । घेराबन्दी तोड्ने र चुनौतीको सामना गरेर अगाडि बढ्ने विषयमा कसरी सोच्नुभएको छ ?

हो, हामीलाई सबै खाले प्रतिक्रियावादी र दक्षिणपन्थी संशोधनवादीहरुले चौतर्फी रुपमा घेराबन्दीमा पारेकै छन् । यो उनीहरुको विशेषता नै हो । लोकतान्त्रिक गठबन्धन त एक प्रकारले छँदैछ, त्यो कुनै नयाँ गठबन्धन होइन । जहाँसम्म वाम गठबन्धन हो त्यो वाम नभई दक्षिणपन्थी संशोधनवादी गठबन्धन हो । त्यत्ति मात्र होइन, त्यस प्रकारको दक्षिणपन्थी गठबन्धन पश्चगामी राज्यसत्ता र पुरानै संसदीय व्यवस्थाको संरक्षण गर्ने प्रतिगामी गठबन्धन हो । यसरी हेर्दा रुपमा केही फरक जस्तो देखिए पनि सारमा लोकतान्त्रिक गठबन्धन र कथित वाम गठबन्धनका बिच कुनै तात्विक अन्तर छैन । यी सबैले दार्शनिक रुपमा बहुलवाद र राजनीतिक रुपमा संसदीय व्यवस्थालाई आदर्श मानेर त्यसै अनुसार चल्दछन् । आर्थिक सिद्धान्तका दृष्टिले हेर्दा यी सबै नेपालमा साम्राज्यवादी नव–उदारवादका असली संरक्षक हुन् । यी सबैलाई आफ्ना मालिकहरुको चाकडी गरेर सत्तामा जाने भन्दा अर्को कुनै चासो छैन र सत्ताको निम्ति यी देशलाई बली चढाउन पनि तयार हुन्छन् ।

“घेराबन्दी र चुनौती क्रान्तिकारीहरुका लागि महान् अवसर पनि हुन् । हामीलाई क्रान्तिको इतिहासले यस प्रकारको घेराबन्दीलाई तोड्दै र चुनौतीहरुको सामना गर्दै अगाडि बढ्ने दायित्व सुम्पेको छ । हामी त्यो दायित्व संवहन गर्न तयार हुनु पर्दछ ।”

जहाँसम्म घेरा तोड्ने र चुनौतीको सामना गर्ने प्रश्न हो, त्यसका निम्ति यो वेला सर्वप्रथम देश, जनता र साम्यवादको उदात्त आदर्शलाई केन्द्रमा राखेर सैद्धान्तिक, राजनीतिक र व्यावहारिक रुपमा पहिलेभन्दा अझै दृढ र क्रान्तिकारी आशावादले समृद्ध बन्न जरुरी छ । पार्टीको कार्यदिशा र नीतिलाई संघर्षका बिचबाट निरन्तर समृद्ध तथा विकसित तुल्याउँदै जानु पर्दछ । देश र विदेशमा मित्रहरुलाई गोलबन्द गर्नु पर्दछ र क्रान्तिकारी कम्युनिस्टहरुका बिच एकताको प्रक्रियालाई अगाडि बढाउनु पर्दछ । देश र जनताको मुक्तिका निम्ति नयाँ विकल्प बनेर प्रस्तुत हुनु पर्दछ । उक्त गठबन्धनका घेराबन्दी र चुनौती क्रान्तिकारीहरुका लागि महान् अवसर पनि हुन् । हामीलाई क्रान्तिको इतिहासले यस प्रकारको घेराबन्दीलाई तोड्दै र चुनौतीहरुको सामना गर्दै अगाडि बढ्ने दायित्व सुम्पेको छ । हामी त्यो दायित्व संवहन गर्न तयार हुनु पर्दछ ।

सम्मेलनले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु बीचको एकता तथा ध्रुवीकरणमा पनि जोड दिएको पाइयो । त्यसका लागि मित्र पार्टीहरुसँग केही मूर्त छलफल अघि बढेको छ कि ? एकता वा ध्रुवीकरणको सम्भावना र आधार कस्तो पाउनु भएको छ ?

निश्चित रुपमा सम्मेलनले क्रान्तिकारी कम्युनिस्टहरुका बिचको एकता र ध्रुवीकरणमा जोड दिएको छ । यो ऐतिहासिक आवश्यकता हो । यो वेला जो जता भएपनि अवसरवादीहरु एकातिर र क्रान्तिकारीहरु अर्कोतिर हुनै पर्दछ । यो इतिहासको माग हो । हामीले यस दिशामा पहल अगाडि बढाएका छौं । यस प्रकारको एकीकरण र ध्रुवीकरणका निम्ति समय लाग्दछ, हतारिएर हुँदैन । यो अवसरवादका लागि उभार र क्रान्तिकारीहरुका लागि मन्दीको समय हो । प्रतिक्रियावादीहरु जस्तै अवसरवादीहरु पनि महासंकटकै भुमरीमा फँस्तै छन् । हामी क्रान्तिको तयारीमा लाग्नु पर्दछ । इतिहासले निश्चित रुपमा कोल्टे फेर्दछ । त्यो बेला अवसरवादीहरु मन्दी र क्रान्तिकारीहरु उभारको अवस्थामा बदलिन पुग्दछन् ।

सम्मेलनमा फरक मत पनि आएको सार्वजनिक भएको छ । त्यसको व्यवस्थापन कसरी गर्नुभयो ? पार्टीभित्र चल्ने अन्तर्संघर्ष तथा दुईलाइन संघर्षलाई कम्युनिष्ट क्रान्तिकारीहरुले कसरी लिन जरुरी छ ?

राष्ट्रिय सम्मेलनमा फरक मत आएका थिए । फरक मत आउनु स्वाभाविक हो । हामीले फरक मतको व्यवस्थापन गरिसकेका छौं । हामी भौतिकवादी द्वन्द्ववादको पक्षमा छौं । भौतिकवादी द्वन्द्ववादका अनुसार हरेक वस्तु र परिघटना जस्तै पार्टी पनि एकता, संघर्ष र रुपान्तरणको प्रक्रियाका बिचबाट अगाडि बढ्दछ । यसरी नै अन्तःसंघर्ष वा दुई लाइन संघर्ष विकसित हुन्छ । हामीले द्वन्द्ववादको यसै एकता, संघर्ष र रुपान्तरणको विधिलाई आधार बनाएर फरक मतको ब्यवस्थापन गर्ने प्रयास गरेका छौं ।

सम्मेलनले निर्वाचनको उपयोगको कार्यनीति पास गरेछ । थ्रेसहोल्ड, प्रत्यक्षतर्फ १ सिट जित्नैपर्ने जस्ता बाध्यकारी प्रावधान राखिएको अवस्थामा निर्वाचन उपयोगको कार्यनीतिले पार्टीको रणनीतिको सेवा तथा सहयोग कसरी पु¥याउने देख्नुहुन्छ ?

सम्मेलनमा निर्वाचन उपयोगको नीति पारित गरिएको छ । यो नीति सही नै छ । हामी रणनीतिक उपयोग र रणनीतिक बहिष्कार दुवैको विरोधमा छौं । तर यो वेला अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै सन्दर्भमा ध्यान दिनुपर्ने कुरा के हो भने अब उपयोग र बहिष्कारलाई हिजोकै अर्थमा बुझ्नु हुँदैन । संसदीय व्यवस्थाको फासिवादीकरण हुँदै गएको छ । थ्रेसहोल्डको व्यवस्था त्यसैको एउटा ठोस उदाहरण हो । यसबाट दुई ओटा कुरा स्पष्ट हुन्छन् । पहिलो, थ्रेसहोल्डको व्यवस्थाले संसदीय व्यवस्थाको बहुदलीयता र बहुलवादमा गंभीर प्रश्नचिन्ह खडा गरेको छ । यसले बहुदल र बहुलवाद होइन दुई वा तीन दलीय अवधारणालाई पुष्टि गर्दछ । यो सिद्धान्ततः बहुदलीय व्यवस्थाको असफलता र पतनको द्योतक हो । दोस्रो, थ्रेसहोल्डले रणनीतिक रुपमा संसदीय व्यवस्था आफ्नो सारतत्वका धनाढय, साहु महाजन तथा एकाधिकारी पुँजीपति अर्थात् साम्राज्यवाद÷विस्तारवाद र तिनका दलालहरुको अधिनायकवाद हो भन्ने कुरालाई राम्रोसँग पुष्टि गरिरहेको छ ।

“अब उपयोग र बहिष्कारलाई हिजोकै अर्थमा बुझ्नु हुँदैन । संसदीय व्यवस्थाको फासिवादीकरण हुँदै गएको छ । थ्रेसहोल्डको व्यवस्था त्यसैको एउटा ठोस उदाहरण हो ।”

अर्कोकुरा, संसदीय निर्वाचनमा पैसाको खोलो बगाउने तथा सत्ताको दुरुपयोग गरिने काम हुन्छ र त्यो हुँदै आएको कुरा सुस्पष्ट छ । यस्ता चुनावमा प्रगतिशील वा क्रान्तिकारी पक्षले आंशिक जीत हासिल गर्ने सम्भावना पनि धेरै कम हुन्छ ।

यी सबै कुराको अनुभव हासिल गर्न, यिनै कुरालाई लिएर जनताको बिचमा जान, जनाधार तयार पार्न र सत्ता, व्यवस्था तथा त्यसका पक्षधरहरुको भण्डाफोर गर्नका निम्ति उपयोग गर्दा नै ठीक हुन्छ भन्ने ठहर गरिएको छ । बहिष्कारको नीतिको हालत पनि त्यही नै हो । एक त सत्ता र प्रलोभनका दण्डाको मार बहिष्कारमा पनि पर्ने गर्दछ । अर्कोतिर बहिष्कारभित्र पनि अनेकौं चलखेल र विकृति देखिदै आएका छन् । यसरी हेर्दा अहिलेलाई तुलनात्मक रुपमा हामीले उपयोगलाई नै सही ठानेका छौं । यसले कुनै न कुनै रुपमा रणनीतिको सेवा गर्न र त्यसलाई सघाउन सक्तछ । कतिपय मानिसमा जीत भए उपयोगको नीति सही हुन्छ, अन्यथा होइन भन्ने चिन्तन पनि पाइन्छ, त्यो गलत हो । केवल जीतको मानसिकता मात्र पनि एक प्रकारको अवसरवाद नै हो ।

“जनताको बिचमा जान, जनाधार तयार पार्न र सत्ता, व्यवस्था तथा त्यसका पक्षधरहरुको भण्डाफोर गर्नका निम्ति उपयोग गर्दा नै ठीक हुन्छ भन्ने ठहर गरिएको छ । केवल जीतको मानसिकता मात्र पनि एक प्रकारको अवसरवाद नै हो ।”

पार्टीले देजमोमार्फत् स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गरेको पृष्ठभूमिमा यो कार्यनीति कत्तिको चुनौतीपूर्ण वा सहज छ ? निर्वाचन उपयोगको आर्थिकलगायतको व्यवस्थापन कसरी गर्नुभएको छ ?

-उपयोगको कार्यनीति सहज होइन चुनौतीपूर्ण छ । आर्थिक व्यवस्थाको कुरा जटिल नै छ । यसबारे बढी तर्क गरिरहनै पर्दैन । परन्तु, क्रान्तिकारीहरुले जुन जटिल र चुनौतीपूर्ण छ, त्यसैलाई रोज्नुपर्ने हुन्छ ।

“उपयोगको कार्यनीति सहज होइन चुनौतीपूर्ण छ  .  क्रान्तिकारीहरुले जुन जटिल र चुनौतीपूर्ण छ, त्यसैलाई रोज्नुपर्ने हुन्छ ।”

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु दिनदिनै निकै विकराल बन्दै गएका छन् । निर्वाचनले यी मुद्दाहरुलाई ओझेलमा पारिरहेको छ । यी समस्याहरुको वास्तविक समाधान कसरी गर्न सकिन्छ ?

-हो, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु साँच्चै गंभीर बन्न गएका छन् । तिनमा पनि अब राष्ट्रियताको प्रश्न झनै सम्वेदनशील बन्न गएको छ । निर्वाचनले यी मुद्दालाई तत्काल ओझेलमा पारे पनि दीर्घकालीन रुपमा ती ओझेलमा पर्न सक्तैनन् । तिनको समाधानका लागि क्रान्ति अनिवार्य रुपमा आवश्यक छ । हामी त्यही क्रान्तिको तयारीको प्रक्रियामा छौं ।

अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा पार्टीले के कस्ता कार्यक्रमहरुको आयोजना गरेको छ ?

-रुसमा १९१७ मा कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न समाजवादी क्रान्तिका रुपमा सुपरिचित अक्टोबर क्रान्तिको विश्वव्यापी ऐतिहासिक तथा युगान्तकारी महत्व रहेको छ । त्यस क्रान्तिको शतवार्षिकीका सन्दर्भमा स्वतन्त्र र संयुक्त रुपमा केही कार्यक्रम सम्पन्न गरिएका छन् । सो अवसरमा पार्टीको केन्द्रीय मुखपत्रलाई विशेषाङ्कका रुपमा प्रकाशित गरिदैछ । साथै, सोही अवसरमा एउटा कार्यक्रम पनि आयोजना गरिने छ ।

अन्तमा, नयाँ जनवादी क्रान्तिका पक्षधर आम जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु तथा देशभक्त शक्तिमा के आव्हान तथा अपील गर्न चाहनुहुन्छ ?

–वहाँहरु सबैको चासो तथा जिज्ञासाका सन्दर्भमा मैले कतिय विषयलाई उल्लेख गरिसकेको छु । तै पनि म वहाँहरुसित के भन्न चाहन्छु भने प्रतिक्रियावादी र प्रतिक्रियावादमा पतन भइसकेका दक्षिणपन्थी संशोधनवादीहरु अहिले रुपमा बलिया बन्दै गएका छन् । परन्तु, त्यो क्षणिक हो । क्रान्तिकारीहरु शक्तिशाली बन्दै जाने कुरा सुनिश्चित छ । हामी सबै नयाँ ढंगले क्रान्तिको तयारीमा जुटौं !

“प्रतिक्रियावादी र प्रतिक्रियावादमा पतन भइसकेका दक्षिणपन्थी संशोधनवादीहरु अहिले रुपमा बलिया बन्दै गएका छन् । परन्तु, त्यो क्षणिक हो । क्रान्तिकारीहरु शक्तिशाली बन्दै जाने कुरा सुनिश्चित छ ।”