पोखरा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन बिहीबार पोखरामा सम्पन्न भएको छ । पोखराको पृथ्वीचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा २२ असोजबाट सुरु राष्ट्रिय सम्मेलनले पार्टीको नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध पार्दै २६ असोजमा सम्पन्न भएको हो । नयाँ जनवादी क्रान्तिको तयारीलाई अगाडि बढाउने सवालमा पार्टीले अख्तियार गर्दै आएको नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध पार्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर आयोजना गरिएको राष्ट्रिय सम्मेलन भव्य र सान्दाररुपमा सफल भएको नव निर्वाचित पार्टी महासचिव मोहन वैद्य‘किरण’ले बताए । महासचिव किरणले बिहीबार नै पोखराको सम्मेलनस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । महासचिव किरणले भने, “सम्मेलन नयाँ जनवादी क्रान्तिको कार्यदिशा समृद्ध पार्न सान्दार रुपमा सफल भएको छ ।” उनले अगाडि भने, “यो सम्मेलनलाई हामीले कम्युनिष्ट क्रान्तिकारीहरु बीचको एकता र विजयको सम्मेलनको रुपमा लिएका छौं ।”
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै महासचिव किरणले दक्षिणपन्थी र वामपन्थीहरुको कथित ध्रुवीकरणले खडा गरेको चुनौती र छरेको भ्रमलाई चिर्न सम्मेलन सफल भएको दावी गरे । उनले भने, “सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरणका लागि नेकपा (मसाल, नेकपा (विप्लव) रनेकपा (ऋषि कट्टेल)सँग कुराकानी भइरहेको छ । यो देशको वैकल्पिक शक्ति हामी नै हौं ।”
सम्मेलनमा प्रस्तुत ‘राजनीतिक प्रतिवेदन’, ‘नेपाली समाजको स्वरुप र पार्टीको आम कार्यदिशा’, ‘नयाँ जनवादी क्रान्तिको सामरिक कार्यदिशा’, ‘विधान’ सर्वसम्मतले पारित भएको पनि महासचिव किरणले पत्रकार सम्मेलनमा बताए । ‘वाद र विचारधाराबारे फरक मत’को विषयमा छलफल भएको भए पनि अहिले माक्र्सवाद–लेनिनवाद–माओवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त मानेर जाने विषयमा कसैको पनि असहमति नरहेको पनि महासचिव किरणले दावी गरे ।
सम्मेलनमा प्रस्तुत दस्तावेजमाथि नांै वटा समूह बनाएर छलफल बहस चलाइएको थियो । समूहमा उठेका दस्तावेजमाथिका मत, र सुझाव समूहमा चुनिएका नेताहरुले प्रस्तुत गरेका थिए । हलबाट आएको सुझाव र मतहरुको विषयमा नेताहरु किरण र श्रीसले स्पष्टीकरण दिएपछि दस्तावेजहरु पारित गरिएको थियो । सम्मेलनले ११ बुँदे समसामयिक प्रस्तावहरु समेत पारित गरेको छ ।
देशका ७६ वटै जिल्ला, प्रवास र विदेश विभागबाट समेत गरी ४५० जना प्रतिनिधि पर्यवेक्षक सहभागी भएको उक्त सम्मेलनको उद्घाटन सत्रमा मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाका नेताहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।






























