काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तालमेलसहित पार्टी एकताका लागि ६ बुँदे सहमति भएको छ ।
सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माकेका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।
सहमतिमा हस्ताक्षरपछि बोल्दै तीन दलका शीर्ष नेताले यसलाई ऐतिहासिक भन्दै अन्य वामपन्थी शक्तिलाई पनि एकतामा आउन आग्रह गरेका छन् ।
तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै पार्टी बनाउने सहमति भएको छ । यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन भएको छ ।
समितिमा एमालेबाट अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम, माकेबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा तथा नयाँ शक्तिबाट संयोजक डा.बाबुराम भट्टराई रहेका छन् ।
पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहाल रहनेछन् । पार्टी एकताको खाका र कार्ययोजना बनाउनुका साथै सहमति हुन बाँकी विषयहरु टुंग्याउने जिम्मेवारी पाएको यो समितिले सहमतिका आधारमा निर्णय गर्नेछ ।
साथै पार्टीको नीति कार्यक्रम घोषणापत्र बनाउन दस्ताबेज मस्यौदा समिति बनाउने सहमति भएको छ ।
तीन दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गरेर अघि बढ्ने भएका छन् । तीन दलबीच भएको ६ बुँदे सहमतिको चौथो बुँदामा आगामी चुनावमा प्रत्यक्षतर्फ नयाँ शक्ति र अन्य दललाई आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुने गरी तालमेल गर्ने उल्लेख छ ।
पार्टी एकीकरण गर्नुभन्दा अघि आआफ्ना वैचारिक धारणा राख्न छुट भए पनि एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना गर्न बन्देज लगाइएको छ ।
तीन दलबीच संसदको चुनावमा साझा घोषणा पत्र बनाउने सहमति भएको छ ।