सिंगापुरले नेपाललाई जितका लागि दियो ६८ रनको लक्ष्य

सिंगापुरले नेपाललाई जितका लागि दियो ६८ रनको लक्ष्य

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत बिहीबार जारी खेलमा सिंगापुरले नेपाललाई जितका लागि ६८ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको क्लब अमानमा टस हारेर नेपाल पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सिंगापुरले २८ ओभर तीन बलमा सबै विकेट गुमाएर ६७ रन बनाएको हो ।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सराफ एक्लैले ६ विकेट लिए भने किशोर महतोले दुई तथा दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले एक एक विकेट लिए ।

सिंगापुरका सिद्धान्त र आर्यमन सुनिलले समान २०–२० तथा रोहन रंगराजनले ११ रन बनाउनु बाहेक अरुले दोहोरे अंकमा रन बनाउन सकेनन् । सिंगापुरका पाँच ब्याट्स म्यान शून्य रनमा आउट भए ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । आफ्ना दुवै खेल जित्दै नेपाल र सिंगापुर प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन् ।

दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् । नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो ।