नेकपा (नशमाके)का मिस्टर सुप्रिमो यतिखेर आफ्नो कोटरीमा विभिन्न प्रकारका आधुनिक कम्निसहरू भित्र्याउन व्यस्त छन् । उनलाई कोटरीमा छिराउन र पदवी दिलाउन भ्याई नभ्याई छ । उनको कोटरीमा प्रवेश गर्नेहरूको लहरको लर्को देखेर सुप्रिमो यति उत्साहित छन् कि यति उत्साहित छन् कि वाफरे वाफ, कति हो कति । हजार जिब्रा भएका शेष नागले त वर्णन गर्न सक्दैन भने यो नाथे कैलुब्राहले के सक्थ्यो । हौसिँदा हौसिँदै छविलालपालाको लँगौटी खुस्केको समेत पत्तो पाउँदैनन् । उनको कोटरीमा छिर्ने आधुनिक कम्निसहरू कोई मधेशवादी, कोई राईवादी, कोई लिम्बुवादी, कोई मगरवादी, कोर्ई गुरङवादी, कोई क्षत्रवादी, कोई क्षत्रीवादी, कोई खण्डवादी, कोर्ई अखण्डवादी आदि इत्यादि नानाप्रकारका नन्दिभृङ्गिहरू छन् ।
यतिखेर नशमाकेका मिस्टर सुप्रिमो नेपाल मण्डलको दुई नम्बर प्रदेशमा चुनाउको तयारीमा व्यस्त छन् । अघिल्ला चुनाउमा आपूm नखटेको हुनाले तेस्रो दल भएको ठहर गर्दै यसचोटी आफै मैदानमा उत्रिएर पहिलो दल बनाउने ठोकुवाका साथ मैदानमा भिड्दै छन् । उनको दल अघिल्ला चुनाउमा तेस्रो नम्बरमा खुम्चिनुको असली कारण युद्धकालका मगन्ते नेता र कार्यकर्ता भएर हो भन्ने कुरा सुप्रिमोलाई गहिरोसँग बोध भएको छ । यी मगन्ते कार्यकर्ताले जनयुद्धकालदेखि नै उनलाई निकै सताउँथे । कसैले पिविएम मागेर, कसैले सिसिएम मागेर, कसैले आधार इलाकाको मुखिया पद मागेर, कसैले राजधानीको तरमार्ने ठाउँ मागेर हैरान पार्थे । सताउँदा सताउँदा यिनले कुकुरको मासु बेच्ने पसलमा छिरेसी पनि मन्त्री मागेर हैरान पारेका थे । हैरान पार्नुको पनि त सिमा हुन्छ नि । सिमै नाघेर हैरान परेसि सुप्रिमो निकै आजित भए । यो कुराले उनलाई सँधै बेचैन बनाउँछ ।
अहिलेको स्थानीय चुनाउमा त झनै हैरान पारे । यी नाङ्गाबुङ्गा कार्यकर्ता नेतालाई चुनाउको टिकेस पनि दिनु पर्ने, चुनाउ लड्ने पैसाको कुम्लो पनि दिनु पर्ने र मैदानमै गएर भाषण पनि गर्दिनु पर्ने । कम्ता अप्ठ्यारो पारे । त्यसैले पनि यतिखेर यी नाङ्गाबुङ्गाहरूको भर पर्नु हुन्न भनेर कम्युनिस्टको कखरै नबुझेकालाई पार्टीमा हुलेपछि नरहे बाँस नबजे बाँसुरी । परिआएको खण्डमा पार्टी र नेतालाई पैसा पनि दिन सक्ने नेता कार्यकर्ता हुल्नु पो मुनासिव होला भनेर मधेशतिरका बडेबडे नेतालाई खोरै उठाएर भित्र्याएका हुन् । शनैःशनैः भित्रकाहरू भन्दा भित्राइएकाहरूको प्रभाव बढाएपछि पार्टी पहिलो कसो नबन्ला भन्ने उनको ठहर छ । यो अहिलेको नयाँ विचारको विकास पनि हो । यसलाई मिस्टर ‘सुप्रिमो थट’ भनेर संश्लेषण गर्नु समयानुकुल हुन्छ । अब रेडिमेड माक्र्सवादले क्यै लछारपाटो लाउने हैन । को त्यसका पछि दगुर्छ ? धेरै पार्टी मिलाएपछि चुनाउ जिते पनि नजितेपनि पार्टी त ठूलो भैहाल्छ ।
हिजका दिनमा आफैसित ठुस्किएर आफै ठूलो भाग बनाएर हाइसञ्चसँग हसुर्न भन्दै अलग भएकाहरू चिराचिरा परेर दसोटा बनेर आएपछि एकता भयो र दस पार्टी मिलेर नेकपा माके भयो । त्यसमा नयाँशक्ति मिसिएपछि नशमाके भयो । अहिले राजपाबाट मिसिएपछि राजपानशमाके भयो । लोकतान्त्रिक फोरमबाट मिसिएपछि लोफोराजपानशमाके बन्यो । त्यसमा पनि सदभावनाबाट मिसिएपछि त अहिले यो पार्टी नेकपा (सद्भावलोफोराजपानशमाके) बन्यो । नागढुङ्गाको आरालो लागेपछिको धार्केखोलो कति सानो छ । त्यसमा गल्छीमा पुगेपछि त्रिशुली मिसिएर कति ठूलो हुन्छ । त्यसपछि बेनीघाटमा बुढी गण्डकी मिसिँदा झन ठूलो हुन्छ । मुग्लिङमा मस्र्याङ्दी मिसिएर झनै ठूलो र गहिरो हुन्छ । तल गएर सेती मिसिन्छ । देवघाटमा पुग्दा काली गण्डकी मिसिएपछि यसको नामै बदलिएर नारायणी बन्छ । हो त्यस्तै हो नेकेपा माके पनि अहिले लरतरो मनुवाले उच्चारणै गर्न नसक्ने गरी नाम बदलिएर नेकपा (सद्भावलोफोराजपानशमाके) बन्यो । अब को माइका लालले यो पार्टीलाई चुनाउमा तेस्रो बनाउँदो रहेछ हेरुम त ? यो पार्टी मिस्टर सुप्रिमोको साना दुःखले आज्र्याको हैन ।
मधेशका नेता जति रित्तै पारेर पार्टीमा हुलेपछि दुई नम्बर प्रदेश त मिस्टर सुप्रिमोको एकलौटी भैहाल्यो । त्यहाँ त उनको पार्टी पहिलो बनिहाल्छ । अगाडिबाट मात्रै पहिलो बन्नु पर्छ भन्ने छैन पछाडिबाट पहिलो बने पनि पहिलै हो नि । त्यसका लागि सुप्रिमोले एक मधेश एक प्रदेशको नारालाई अहिलेको मुख्य एजेण्डा बनाएका छन् । यो एजेण्डा तय गर्न केही महिना अगाडि नै मिस्टर यादवलाई पठाएका थिए । उनले त्यहाँ गएर मधेशीहरूको भेला पारेर एक मधेश एक प्रदेशको एजेण्डा पारित गराएका थिए । यो हो चुनाउको रणनीति । मधेशमा चुनाउ जित्न यो नीति अनिवार्य छ । त्यस्तै मङ्सिरमा हुने केन्द्र र प्रदेशको चुनाउमा तत् तत् स्थानुसारको रणनीति बनाउनु पर्छ । सात नम्बर प्रदेशमा जाँदा अखण्ड सुदूर पश्चिम, छ नम्बरमा जाँदा खसान प्रदेश, चारमा आउँदा तमु प्रदेश, एक नम्बरमा जाँदा जय लिम्बुवानको नाराले मात्रै चुनाउ आफ्नोमा पार्न सकिन्छ भन्ने सुप्रिमो थटको संश्लेषण हो । पाँचमा अलिकता अप्ठ्यारो छ । किनकि त्यहाँ थारुवान र मगराँत मिसिएर गोलमाल भएको छ । तीन नम्बरमा पनि नेवा, तामशालिङ र किराँत मिसिएर झमेला भएको छ । यसलाई आगामी दिनमा दुईतिहाई ल्याएर ठिक पारिन्छ भन्ने उनको दाऊ छ । दुईतिहाई ल्याउने चाँजोपाँजोका लागि डेउडापतिले अस्ति दक्षिणी भैरव मिस्टर गुज्जर भैयासँग विन्तिभाउ बिसाइसकेका छन् ।
यति भएपछि अबको चुनाउमा मिस्टर सुप्रिमोको पार्टी पहिलो हुने कुरा पक्का । आधा चुनाउ त अहिले जितिसकियो अब आधाका लागि असोज दुई गते फाइनल गेम हुन्छ । यदि गडबड भयो भने सिराहाको शूत्र र भरतपुरे शूत्र लगाएपछि स्वतह समाधान भैहाल्छ । जोरसे बोलो – जय संसदावाद । जय मधेशवाद । मिस्टर सुप्रिमो कि – जय हो ।
११ भदौ २०७४