संविधानले जनतालाई सम्बोधन गरेको छैन : दनुवार

संविधानले जनतालाई सम्बोधन गरेको छैन : दनुवार

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सप्तरीको सुरुङ्गा नगर समितिको आयोजनामा ‘नव निर्मित संविधान र उत्पीडित जाति तथा समुदायको अवस्था’ विषयक अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पार्टीका कार्यालय सदस्य कृष्णदेव सिंह दनुवारले संविधान घोषणा पश्चात यो संविधानका विरुद्ध आन्दोलन चर्किनुले यसले आम जनताको भावनाको प्रतिनिधित्व गरेको छैन भन्ने प्रष्ट भएको बताएका छन् ।

अधिकार प्राप्तिका लागि नेपाली जनताले दशकौंदेखि संघर्ष गरेको भएपनि संविधानसभाबाट बनेको संविधानले जनभावनालाई समेट्न नसक्दा यसको चौतर्फी विरोध र आलोचना भएको बताए । यो संविधान जनताको पक्षमा नरहेकाले खारेज गरिर्नेमा उनको जोड थियो ।

देजमोका प्रदेश संयोजक कमल चौधरीले प्रतिक्रियावादी शक्तिले बनाएको कालो संविधान भएको टिप्पणी गरे । परिवर्तनका पक्षमा रहेका जनता र राजनीतिक पार्टीलाई बाहिर राखेर प्रतिक्रियावादी शक्तिले बनाएको संविधान जनपक्षीय हुने कल्पना समेत गर्न नसकिने उनको भनाई थियो ।

देजमोका कार्यालय सचिव हरिकृण गजुरेलले स्थानीय तहको क्रान्तिकारी उपयोगमार्फत संगठन निर्माणको आधार र जनताका बिचमा संविधानको गलत पक्षको भण्डाफोर गर्दै अघि बढेको स्पष्ट पारे ।

पार्टीका केन्द्रीय सदस्य मोहन सिंह तामाङले यो संविधान शताब्दियौंदेखि अधिकारको माग गरिरहेका आदिवासी जनजातिको पक्षमा नरहेकाले संघर्षको विकल्प नरहेको बताए ।

सो कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य कृष्ण देव सिंह दनुवार, विशेष अतिथि देजमोका कार्यालय सदस्य तथा २ नम्बर प्रदेश संयोजक कमल चौधरी, देजमो सचिवालय सदस्य हरिकृष्ण गजुरेल, मोहन सिंह तामाङ, देजमो जिल्ला संयोजक सूर्यनारायण चौधरी, नन्दलाल विकलगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रको अध्यक्षता देजमोका नगरसमितिका संयोजक तिलकबहादुर मगरले गरेका थिए भने स्वागत मन्तव्य वानेश्वर चौधरीले राखेका थिए ।