सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु

सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु

सुर्खेत । केही दिनदेखिको अविरल वर्षाका कारण आएका पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढा रहेका छन् ।

शनिबारराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार बिहान निकालेको थियो ।

यस्तै लगाताकारको वर्षाले रत्न राजमार्ग अन्तरगत हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सडक अवरुद्ध भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै पहिरो जाँदा सवारीसाधन ठप्प भएका छन् ।