नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समय गुजार्नु भयो । नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान स्थितिलाई संक्षिप्तमा प्रकाश पारिदिनुस् न ?
–कम्युनिष्ट आन्दोलनको वर्तमान स्थिति त्यति निरासाजनक छैन । जनतामा राजनीतिक चेतना आएको छ । कम्युनिस्ट आन्दोलनकै भरमा मुख्यतः १० वर्षे जनयुद्धले नेपालमा गणतन्त्र स्थापना भएको कुरा स्वयम् प्रतिक्रियावादीहरुले पनि स्वीकार गर्न वाध्य छन् । मुख्य गरेर १० वर्षे जनयुद्धको पार्टीले गणतन्त्र प्राप्ति पछि देशलाई जनगणतन्त्रको दिशातर्फ लान सकेन । माओवादीको ठूलो हिस्सा संसदीय भासमा पतन हुन पुग्यो । बँचेको माओवादी हिस्साको आत्मगत स्थिति तत्काल संसदीय मोर्चामा आक्रमण गरी जनगणतन्त्रमा लानसक्ने नभएकाले अन्यौल देखिएको मात्र हो । नेपाली जनता सदा क्रान्तिका पक्षमा छन् । क्रान्तिकारी माओवादीले क्रान्तिको नेतृत्व गरिरहेको छ । संसदीय परिपाटीले जनताका समस्याहरु समाधान हुनेवाला छैनन् । निकट भविष्यमा नै ने.क.पा. (क्रान्तिकारी माओवादी) के नेतृत्वमा आम शोषित पीडित जनता गोलबद्ध हुनेछन् र सशस्त्र विद्रोहद्वारा जनगणतन्त्रतर्फ देश जानेछ ।
करिव सात दशक गुज्रदै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनले स्थापनाकाल देखिको नयाँ जनवादी– क्रान्तिको मुद्दालाई किन गन्तव्यमा पु¥याउन सकेन ? समस्या कहाँ रहन गयो ?
–क. पुष्पलालले स्पष्ट रुपमा नेपालमा चीनकै मोडेलमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा निर्धारण गरेका थिए । प्रथम महाधिवेशनबाट उनी मुख्य नेतृत्वबाट बाहिर पारिए । पार्टीमा बुर्जुवा मनमोहन आए । अर्कोतर्फ विश्व कम्युनिस्ट आन्दोलनमा पनि उताड चडाव सुरु भयो । यसै समयमा मस्कोमा भएको ८१ देशका कम्युनिस्ट पार्टीको सम्मेलनमा जहाँ स्वयम् माओ पनि उपस्थित थिए यस बैठकमा शान्तिपूर्ण तरिकाले क्रान्ति सम्पन्न हुन सक्ने देशमा (राष्ट्रिय प्रजातान्त्रिक) तरिकाले पनि क्रान्ति सम्पन्न हुन सक्दछ भन्ने प्रस्ताव पास भयो । नेपालमा बुर्जुवाको हातमा नेतृत्व भएकाले कागतालि मिल्न पुग्यो । २०१० साल देखि २०२५ सालसम्मको स्थिति यस्तै अन्यौलमा बित्यो । २०२५ सालमा पुष्पलालले पुनः प्रयास गरे, चौतर्फी हमलाका कारण उनको प्रयास सफल हुन सकेन । झापालीहरुको प्रयासले केही अघि बढेको थियो, उनीहरु पनि संसदीय भाषमा भासिएपछि ने.क.पा. (माओवादी)ले २०५२ सालबाट नयाँ जनवादी क्रान्तिको मुद्दालाई लिएर १० वर्षे जनयुद्ध सञ्चालन ग¥यो । क्रान्तिलाई उचाईमा पनि पु¥यायो । गणतन्त्रसम्म ल्याउन सफल पनि भयो । तर जनगणतन्त्रमा जान प्रचण्डले खुट्टा कमाए । जनता सदा क्रान्तिको पक्षमा छन् । बारम्बार नेतृत्वै बाट धोका हुँदा जनवादी क्रान्ति गन्तव्यमा पुग्न सकेन ।
तपाई ने.क.पा. (क्रान्तिकारी माओवादी) को केन्द्रीय सल्लाहकार सचिव पनि हुनुहुन्छ । क्रान्तिकारी माओवादी राष्ट्रिय सम्मेलनमा जुटिरहेको छ । यस पार्टीले सम्मेलनबाट पुरा गर्ने कार्यभारहरु के के देख्नुहुन्छ ?
अझै पनि पार्टीभित्र सारसंग्रहवादी केही अवशेषहरु बाँकी छन्, राष्ट्रिय सम्मेलनले स्पष्ट क्रान्तिकारी धार निर्माण गर्नुपर्दछ । नेतृत्वमा देखिएका संसदीय किसिमका भद्दा संगठनका स्वरुपलाई कामकाजी र चुस्त दुरुस्त पार्नुपर्दछ । नेतृत्व चयन गर्दा सिनियारीटीलाई मात्र प्राथमिकता दिने जुन रोग अझै विद्यमान छ, यसबाट मुक्त हुनुपर्दछ । पार्टीमा नेतृत्वको कमि छैन । जनयुद्ध गरेको मुख्य नेतृत्व नै यथावत छ । पार्टी दर्शन राजनीति आदिमा स्पस्ट नै छ । सवाल कार्यक्षेत्रमा जाने र विद्रोहलाई अघि बढाउने कुरामा मात्र बाँकी छ । राष्ट्रिय सम्मेलनले जनवादी केन्द्रीयताको नियममा यहि क्रान्तिको कार्यभारलाई केन्द्रबिन्दु बनाएर गएमा अरु सामान्य अन्तरविरोध र अन्य सानातिना मतभेद, पार्टी काममा खट्ने र कुराले मात्र क्रान्तिकारी देखिने, काम नगर्ने र निराशा मात्र प्रकट गर्ने अन्य पार्टीलाई सवल देख्ने र आफ्नो पार्टीलाई कमजोर देख्ने पुजारी रहदासम्म घन्टि बजाइरहन्छु जस्तो रुपमा पार्टीमा रहेका जुन समस्याहरु छन्, स्वतः निस्क्रिय हुनेछन् । यी नै कार्यभारहरु पुरा गर्नुपर्ने देखिन्छ । अब पनि क्रान्तिलाई व्यवहारिक रुपमा अघि बढाउन सकिएन भने क्रान्ति धेरै टाढा पुग्ने छ ।
अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु विकराल अवस्थामा छन् । यी समस्याहरुको समाधानका लागि के नयाँ जनवादी क्रान्ति अनिवार्य छ ?
प्रथम त राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई समाधान गर्न नसकिने विकराल रुपमा हेर्न हुँदैन । खराब अवस्यै छन् । लेन्डुपदोर्जे राष्ट्रियता (आत्मसमर्पणवादी) मण्डले राष्ट्रियता र प्रगतिशील राष्ट्रियताका बीच लामो समयदेखि अन्तरद्वन्द्व चलिरहेको छ । प्रगतिशील राष्ट्रियताले अवरोध गर्न सकेकै कारण नेपाल सिक्किम, भुटान हुनबाट बचेको छ । अब नेपाललाई विश्व परिस्थितिले पनि सिक्किम भुटान बनाउन सक्ने स्थिति छैन र लेन्डुपदोर्जेका प्रतिमूर्तीका रुपमा यहाँका राजनीतिक दलाललाई अघि सारी नवउपनिवेश चलाउने भारतको चाल अब लामो समय चल्न सक्दैन । प्रगतिशील राष्ट्रियता कम्युनिष्टले मात्र अवलम्बन गर्दछन् । जबसम्म कम्युनिष्टहरुले सत्ता लिन सक्दैनन्, तबसम्म जनगणतन्त्र र जनजीविकाका सवालहरु कुनै हालतमा पनि पुरा हुँदैनन्, क्रान्ति लगातार चलिरहन्छ । त्यसैले जनवादी क्रान्ति अनिवार्य छ र अवश्यै पुरा हुन्छ ।
नेपालमा दर्जनौं कम्युनिस्ट पार्टीहरु अस्तित्वमा छन्, कसैले समाजवादी त कसैले नयाँ जनवादी क्रान्तिका कुरा गरिरहेका छन् । नयाँ जनवादी क्रान्तिका पक्षधर कम्युनिष्ट पार्टीबीच एकता तथा ध्रुवीकरणको सम्भावना कस्तो देख्नुहुन्छ ?
एक त दर्जनौं कम्युनिष्ट पार्टीहरु नेपालमा छैनन् तथाकथित नामधारी हुन सक्दछन । पँुजीवाद पछि हुने क्रान्ति समाजवादी क्रान्ति हो । केही राजनीतिक दलाल , नोकरशाह, सामन्तसँग पुँजी हुँदैमा देश पुँजीवादी हुन सक्दैन । समाजवादी क्रान्ति भन्ने कुरा वकवास मात्र हो । खुला अर्थतन्त्र, संसदीय व्यवस्थामा चिरस्थायी भई उत्पिडन यथावत रुपमा राख्ने षडयन्त्र मात्र हो । उनीहरुले अब बल प्रयोगको माक्र्सवादी सिद्धान्त छाडीसके । द्धन्दवादले निषेधको निषेध सिद्धान्तलाई मान्दछ । यदी यहाँ नौलो जनवाद नै आएको भए पनि क्रान्तिकारीहरुले त्यसलाई निषेध गरेर निरन्तर क्रान्ति गर्दै समाजवाद साम्यवाद सम्म पुग्न लाग्नु पर्नेमा संसदीय व्यवस्था भन्दा माथि उठ्ने कार्यक्रम नै नभएका संगको एकता असम्भव देख्दछु । माक्र्सवाद–लेनिनवाद–माओवाद मान्ने पार्टीहरुको बीच सरसल्लाहको भरमा एकता त्यो पनि त्यति उपयुक्त देखिंदैन । जहाँसम्म एउटै कार्यक्रम कार्यदिशा लिएका पार्टीहरु छन्, तिनीहरुका बीच क्रान्तिका क्रममा ध्रुवीकरण हुनेछ । हतार गर्नु आवश्यक छैन सम्भावना पनि तत्काल देखिंदैन ।
पटक–पटक धोका र गद्दारीमा टुँगिएको नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनतामा व्याप्त निराशालाई आशामा कसरी बदल्न सकिन्छ ?
–कम्युनिस्ट आन्दोलनमा एकपटक धोका हुँदैमा जनता निराश भएर बसेको इतिहास छैन । रायमाझी, मनमोहन, तुलसीलाल आदीले धोका दिए भनेर मालेले गरेको क्रान्तिमा जनताले निराशा देखाएनन्, मालेले गद्दारी गर्दा माओवादीले सुरु गरेको क्रान्तिमा जनताले निराशा देखाएनन् । प्रचण्डले गद्दारी गर्दैमा जनता निरास भएका छैनन् । बरु प्रचण्डलाई घृणा गरेका छन् । उसलाई हराइदिएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन यसरी जिकज्याकमा अघि बढीरहेको छ, केही उपलब्धि पनि प्राप्त भैरहेको छ । यदि अब क्रान्तिकारी माओवादीले जनयुद्धमा जस्तै जनताका समस्याहरुलाई लिएर क्रान्ति सुरु गर्ने हो भने जनता युद्धमा गोलबद्ध हुनेछन् । मन्त्रले वा कुराले मात्र जनतामा आशा पलाउने होइन राजनीतिक गद्दार, कालो बजारीयाहरु, भारतीय दलाल पुँजीपतीहरु, नोकरशाहहरु, भूमाफियाहरु आदिमा सत्ता, शक्ति र धन केन्द्रित भएको छ, आम जनता दिन परदिन गरिबीको रेखामुनि गइरहेका छन । के ब्लडप्रेशर जचाउन राष्ट्रिय धनमा विदेश गएको कुरा सिटामोल खान नपाउने मानिसले देखेका छैनन् ? यिनीहरुले सत्ता प्राप्तिका लागि गर्ने गरेको ताण्डव के जनताले देखेका छैनन् ? भारतले नेपालका महेशपुर, सुस्ता, लिपुलेक लगायतका ६३ स्थान अतिक्रमण गरेको देखेका छैनन् ? भारतले नेपालमा डुबान हुने गरी सिमा क्षेत्रमा बाँधेको बाँध देखेका छैनन् ? हरदिन प्रयोग गर्ने आवश्यक वस्तुमा कालोबजारीया हरुले मिसावट र उच्च मूल्यमा बिक्री वितरण भएको देखेका छैनन् ? के जनता यस्तै स्थिती रहिरहोस् भन्ने चाहन्छन् ? जनताले माक्र्सवादका ठेली नपढेका हुन सक्छन् तर व्यवहारमा भएका उत्पीडन दमनलाई राम्रै पढेका छन् । अब पार्टीले माक्र्सवादको प्रचारप्रसार मात्र गरेर जनतामा आशा ल्याउन सक्दैन । व्यवहारमा नै माथि बताइएका समस्याहरु समाधान गर्न जनआन्दोलनबाट कार्यहरु सुरु गरि आवस्यक परे जनतालाई समेत सशस्त्र पार्ने कार्यनीतिमा अघि बढ्नु पर्दछ । स्वतः जनतामा आफ्नो शक्तिप्रति आशा मात्र होइन विश्वास पैदा हुनेछ ।
अन्तमा, नेपाली कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको पछिल्लो पुस्ता र कम्युनिस्ट आन्दोलनका पक्षधर जनतालाइ के आव्हान गर्नुहुन्छ ?
भाग्यवादीले मात्र अरुको भर पर्दछ । अघिल्लो पुस्ताले जे जसरी भए पनि कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याई पु¥याए । अहिले कम्युनिस्ट आन्दोलन पक्षधर ठूलो जनमत छ । ६३ प्रतिशत जनताले आफूलाई कम्युनिस्ट कित्तामा देखाएका छन् । जनता आफैं नेतृत्व गर्न सक्दैनन् । जनताको नेतृत्व लिनसक्ने युवाको अहिले खाँचो छ । अब अहिलेको पुस्ताले अघिल्लो पुस्तासँग भएको ज्ञान, सीप, दर्शन, विचार, अनुभव आदि लिंदै क्रान्तिको नेतृत्व लिन अघि आउनु पर्दछ । नयाँ जनवादी व्यवस्था नआएसम्म जनताका आधारभूत आवश्यकता समेत पुरा नहुने हुँदा जनतालाई पनि नयाँ जनवाद ल्याउनका लागि क्रान्तिकारी शक्तिलाई सहयोग समर्थन गर्न सम्पूर्ण जनतालाई आव्हान गर्दछु ।





























