रामनाथ कोविन्द भारतका १४ औं राष्ट्रपति, को हुन कोविन्द ?

रामनाथ कोविन्द भारतका १४ औं राष्ट्रपति, को हुन कोविन्द ?

एजेन्सी । भारतीय जनता पार्टी नेतृत्वको एनडीएका प्रत्यासी रामनाथ कोविन्द विपक्षी उम्मेदवार मीरा कुमारलाई पराजित गर्दै भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

कोविन्दले निर्वाचक मण्डलको ६५ प्रतिशत भन्दा बढी मत प्राप्त गरे भने विपक्षी उम्मेदवार मीरा कुमारले करिब ३४ प्रतिशत मत प्राप्त गरिन् ।

राष्ट्रपति पदमा निर्वाचित हुनुअघि उनी विहारको राज्यपाल थिए । अब उनले राष्ट्रपति प्रणव मुखर्जीको स्थान लिनेछन् ।

वर्तमान राष्ट्रपति मुखर्जीको कार्यकाल यही २४ जुलाईमा समाप्त हुँदैछ । त्यसको भोलिपल्ट उनले राष्ट्रपति पदको शपथ लिएर कार्यभार सम्हाल्नेछन् ।

मुखर्जी पूर्व लोकसभा अध्यक्ष पीए संगमालाई हराएर भारतको राष्ट्रपति बनेका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मलाई समर्थन गर्ने सबै दललाई धन्यवाद, यो मेरा लागि निकै भावुक क्षण हो । मेरो जित लोकतन्त्रको महानताको प्रतिक हो । राष्ट्रपतिका रुपमा निर्वाचित हुनु ठूलो जिम्मेवारी पनि हो । राष्ट्रपति बन्नु मेरो लक्ष्य थिएन । तर म माथि भरोसा गर्नेप्रति आभारी छु ।’

१७ जुलाईमा भएको भारतको १४ औं राष्ट्रपति निर्वाचनको मतगणना बिहीबार बिहान ११ बजे संसद भवनमा सुरु भएको थियो । नयाँ राष्ट्रपति चयनका लागि ९९ प्रतिशतले भाग लिएका थिए ।

मतगणनामा कोविन्दको पक्षमा ६५. ६५ प्रतिशत मत आएको थियो भने मीरा कुमारको पक्षमा ३४.३५ प्रतिशत मत आएको थियो । रामनाथ कोविन्दलाई ७ लाख २ हजार ४४ भोट भ्यालु प्राप्त भयो भने मीरा कुमारलाई ३ लाख ६७ हजार ३ सय १४ भोट भ्यालु प्राप्त भएको थियो ।

युपीएकी प्रत्यासी मीरा कुमारले राष्ट्रपति निर्वाचनको नतिजाप्रति प्रतिक्रिया दिदै भनिन्, ‘आज २० जुलाई २०१७ मा म एउटा कुुरा स्पष्ट गर्न चाहन्छु कि विचारधारालाई लिएर मेरो लडाई अन्त्य भएको छैन, यो जारी रहन्छ ।’

को हुन् रामनाथ कोविन्द ?
भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहले एक पत्रकार सम्मेलनमा रामनाथ कोविन्दलाई एनडीएका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवार बनाउने घोषणा गरे ।

रामनाथ कोविन्द त्यसबेला विहारको राज्यपाल थिए, तर राष्ट्रपति पदको उम्मेदवारको होडमा उनको नाम धेरै चर्चामा पनि थिएन । उत्तर प्रदेशका दलित समुदायका बिजेपी नेता कोविन्द दुई पटक राज्यसभाका सदस्य भइरहेका छन् ।

सरकारी वकिल समेत रहेका उनले सन् १९७१ मा बार काउन्सिलका लागि उम्मेदवार समेत बनेका थिए । उनी भारतको दोस्रो दलित समुदायका नेता हुन् ।

यसअघि डा.के.आर नारायणन दलित समुदायबाट पहिलो पटक राष्ट्रपति बनेका थिए । रामनाथ कोविन्दको जन्म १ अक्टोबर, १९४५ मा उत्तर प्रदेशको कानपुरमा भएको हो । उनले कानपुर विश्वविद्यालयबाट बीकम र एलएलबीसम्मको अध्ययन गरेका छन् ।

गर्भनर अफ बिहारको वेबसाइटका अनुसार कोविन्द दिल्ली हाइकोर्टमा १९७७ देखि १९७९ सम्म केन्द्र सरकारको वकिलका रुपमा काम गरेका थिए । उनी सन् १९८० देखि १९९३ सम्म केन्द्र रकारको स्थाई परिषदमा थिए ।

दिल्ली हाई कोर्ट र सुप्रिम कोर्टमा उनले १६ वर्षसम्म काम गरेका थिए । सन् १९९४ मा कोविन्द उत्तर प्रदेशबाट राज्य सभाका लागि सांसद चुनिएका थिए । उनी १२ वर्षसम्म राज्यसभाको सांसद बने भने केही संसदीय समितिको सदस्य समेत बने ।

जसमध्ये उनले आदिवासी, होम अफेयर, पेट्रोलियम र प्राकृतिक ग्याँस, सामाजिक न्याय, कानुन न्याय व्यवस्था र राज्यसभा हाउस समिटिका अध्यक्ष समेत भए ।

कोविन्द गभर्र्न अफ इन्डियन इन्स्टिट्युट अफ म्यानेजमेन्टका समेत सदस्य भएका थिए । सन् २००२ मा कोविन्दले संयुक्त राष्ट्र संघको महासभामा संबोधन गरेका थिए । उनले केही देशको भ्रमण समेत गरेका छन् ।

कोविन्दको पहिचान एक दलित नेताका रुपमा महत्वपूर्ण रुपमा स्थापित छ । विद्यार्थी जीवनमा कोविन्दले अनुसूचीत जाति, जनजाति र महिलाका लागि काम गरे । १२ वर्ष सांसद रहँदा उनले शिक्षासँग जोडिएका केही महत्वपूर्ण सवालहरुलाई उठाए ।

उनले वकिल भएका समयमा दलित र गरिब समुदायका लागि निशुल्क कानुनी लडाई समेत लडे । कोविन्दको विवाह ३० मे, सन् १९७४ मा सविता कोविन्दसँग भएको थियो । उनका एक छोरा प्रशान्त र एक छोरी स्वाती रहेका छन् ।