काठमाडौं । नेपालमा नयाँ जनवादी राज्यव्यवस्थाको स्थापानार्थ दशवर्ष जनयुद्ध लडेको तत्कालीन नेकपा (माओवादी)को एउटा हिस्सा नेकपा (माओवादी केन्द्र)को रुपमा संसदीय व्यवस्थालाई अंगिकार गर्न पुगेपछि माओवादी केन्द्रलाई हेर्ने आम श्रमजीवि जनताको दृष्टिकोण नेपाली कांग्रेस, एमाले र राप्रपा भन्दा फरक देखिन छाडेको छ । त्यसमा पनि स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र–कांग्रेसको चुनावी तालमेलले गर्दा जनताले माओवादी केन्द्रलाई कांग्रेस, एमाले र राप्रपासँगै तुलना गरेर हेर्न थालेका छन् । राजनीतिक एजेण्डा, सोच, चिन्तन, जीवनशैली, कार्यशैलीमा भिन्नता नदेखिएकोले जनतामा यस्तो प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गर्छन् कम्युनिष्ट आन्दोलनका वयोवृद्ध नेता तथा माक्र्सवादी चिन्तक कृष्णदास श्रेष्ठ । माके राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु छाडेर प्रतिक्रियावादी एजेण्डाको मतियार बनेको उनको ठहर छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ मूलबाटो डटकमसँग कुराकानीको क्रममा भनेका छन्, ‘कांग्रेस र माओवादीबीचको चुनावी तालमेल भनेको माकेको प्रतिक्रियावादीकरणको कुरुप नमूना हो ।’ वर्गीय र राष्ट्रिय रुपमा आत्मसमर्पण गर्न पुगेको माओवादी केन्द्र श्रमजीवि, शोषित–उत्पीडित वर्गका मुद्दाहरु छाडेर प्रतिक्रियावादी कित्तामा उभिन पुगेको उनको विश्लेषण छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष तथा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सीपी गजुरेलले वर्गदृष्टि साप्ताहिकसँगको कुराकानीमा माओवादी केन्द्र देशी विदेशी प्रतिक्रियावादीहरुको भरिया भनेको टिप्पणी गरेका छन् । जनताका वर्गीय मुद्दा छाडेपछि माकेका नेताहरु अहिले सिंहदरबारको शासकीय अधिकार गाउँ नगरमा पुगेको भनेर फलाको हालिरहेको उनले दावी गरे । उनले कांग्रेस, एमाले, राप्रपाले जस्तै माकेले पनि संसदीय व्यवस्थामा गरिने चुनावलाई साध्यको रुपमा लिएको विश्लेषण गरे ।
स्थानीय तहको निर्वाचनमा विगतमा युद्ध लडेर आएका त्यागी र इमान्दार नेता कार्यकर्तालाई भन्दा पनि पैसा भएका र नेतृत्वको चाकडी गर्नेहरुलाई उम्मेदवार बनाएको भन्दै माओवादी केन्द्रभित्र अहिले अधिकांश युद्धको प्रक्रियाबाट आएका र आर्थिक रुपले कमजोर नेता कार्यकर्तामा तीव्र असन्तुष्टी बढेर गएको छ । उनीहरुले कांग्रेससँग गरेको चुनावी तालमेलप्रति पनि असन्तुष्टी जाहेर गर्दै आएका छन् । नाम उल्लेख नगर्ने सर्तमा माओवादी केन्द्रका एक कार्यालय सदस्यले भने, “अब माओवादी केन्द्रमा सर्वहारावर्गीय मूल्य, मान्यता, आदर्श केही बाँकी रहेन । हेर्दा हेर्दै हाम्रो पार्टी पनि कांग्रेस, एमाले र राप्रपाजस्तै भयो । पार्टीभित्रका त्यागी, इमान्दार र क्रान्तिकारी नेता कार्यकर्ताले पार्टी नेतृत्वको यस्तो चिन्तन र शैलीको विरोध गर्ने हिम्मत गर्नैपर्दछ ।” ती नेताले यो पनि खुलासा गरे कि माओवादी केन्द्र गुटहरुको केन्द्रजस्तै बनेको छ । उनले भने, “पार्टी गुटहरुको केन्द्र जस्तै बनेको छ । प्रचण्ड, बादल, बर्षमान पुन, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, मणि थापा, मातृका यादवलगायतले खुल्लम खुल्ला गुट चलाएका छन् ।”
७४४ स्थानीय तहका लागि भएको निर्वाचनको दोस्रो चरणसम्म आइपुग्दा दुई अंक पनि कटाउन नसक्ने अवस्थामा देखिएको माओवादी केन्द्र अन्तरविरोधकै कारण तीव्र विघटनको प्रक्रियातर्फ उन्मुख रहेको छ । पार्टीभित्र हुने खाने र हुँदा खानेबीचको लडाइँ सुरु भइसकेको अर्का एक कार्यालय सदस्यले दावी गरे । उनले पनि नाम उल्लेख नगर्ने सर्तमा भने, “पैसा नहुनेले राजनीति नै नगरे हुने भयो । अब माओवादी केन्द्रभित्र युवा पुस्ताबाट विस्तारै अन्तर्संघर्षको उठान गर्ने सम्भावना बढेर गएको छ । विचार र राजनीतिक लाइनमा बहस अगाडि बढाएर सच्चा क्रान्तिकारीहरु एक ठाउँ नभएसम्म अबरुद्ध क्रान्तिको प्रक्रिया अगाडि बढ्दैन ।” माकेभित्रका सच्चा क्रान्तिकारीहरुले यसको गहिरो बोध गरेको पनि उनले दावी गरे । उनले यो पनि स्वीकार गरे कि ढिलो चाँडो क्रान्तिकारीहरु बीचमा ध्रुवीकरण हुन आवश्यक छ ।
माओवादी केन्द्रका कार्यालय सदस्य मणि थापाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘राजतन्त्रका अन्त्यका लागि हामीले जनयुद्ध लड्यौ । गणतन्त्रलाई वास्तविक गणको तन्त्र बनाउनका लागि धनतन्त्रका विरूद्द अर्को आन्दोलनको आवश्यकता भैसकेको कुरा चुनावी अभियानले प्रस्ट भयो ।’माओवादी केन्द्र निकट मानिने लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले आफ्नो स्टाटसमा लेखेका छन्, “नेकपा माओवादी केन्द्र कम्युनिषट पार्टी त हुँदै हैन ट्रेडमार्क मात्रै हो, स्केन्डिभियन सोसल डेमोक्रेटिक टायपको पनि रहेन ।”