आफैंले वर्गदुश्मन घोषणा गरेको काँग्रेससँग विप्लवको नेकपाको थवाङमा चुनावी तालमेल

आफैंले वर्गदुश्मन घोषणा गरेको काँग्रेससँग विप्लवको नेकपाको थवाङमा चुनावी तालमेल

काठमाडौं । निर्वाचन बहिस्कार गर्दै आएको नेकपा र राजपाले रोल्पा र रुपन्देहीमा उम्मेदवारी दर्ता गराएका छन् ।

कपिलवस्तुमा बम विस्फोट गराएको आरोप खेपिरहेको विप्लव समूहले आइतबार रोल्पाको थवाङमा उम्मेदवारी दर्ता गराएको छ ।

विचित्र त के छ भने उ आफैले ‘वर्गदुश्मन’ करार गरेको नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको छ ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अमित घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । अमित नेकपाको युवा संगठन जनस्वंसेवक ब्यूरोको थवाङ प्रमुख हुन् ।

कांग्रेसले अध्यक्ष पदमा विप्लव समूहका अमितलाई समर्थन गर्दै उपाध्यक्षमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ ।

अर्को विचित्र के छ भने विप्लवका अर्का कार्यकर्ता भक्तबहादुर घर्तीले पनि स्वतन्त्र रुपमा अध्यक्ष पदमा नै उम्मेदवारी दिएका छन् । उनी अमितका बागी हुन् ।

स्वतन्त्र उम्मेदवार बनेका घर्ती साहस उपनामबाट चिनिने विप्लव समूहका स्थानीय नेताका छोरा हुन् ।

थवाङ माओवादीको उदगम थलो हो । रोल्पाको ऐतिहासिक थवाङ गाउँपालिकामा मिरुल, उवा र थवाङ गाविस समेटिएका छन् । गाउँपालिकाको केन्द्र थवाङ नै तोकिएको छ ।

यता रुपन्देहीका तीन स्थानीय तहमा राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । राजपाले चुनाव बहिस्कार गरेपनि स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएको हो ।

राजपाका नेताहरुले सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईको सम्पूर्ण पदमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका हुन् ।

प्रत्येक गाउँपालिकाको ३७ वटै पदमा गरी ३ वटा गाउँपालिकामा १ सय ११ पदमा नेता शुक्लाका समर्थक कार्यकर्ताहरुले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएको स्रोतले बताएको छ ।

सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक कुमार शुक्ल र उपाध्यक्षमा कमालुद्दिन शेख स्वतन्त्र उम्मेदवार बनेका छन् ।