काभ्रे र बाग्लुङमा देजमोले खाता खोल्यो, रोशी गापा–४ मा प्यानलै विजयी

काभ्रे र बाग्लुङमा देजमोले खाता खोल्यो, रोशी गापा–४ मा प्यानलै विजयी

काठमाडौं । क्रान्तिकारी उपयोगको नीति सहित निर्वाचनमा सहभागी बनेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले पनि स्वतन्त्र उम्मेदवारको हैसियतमा बाग्लुङ र काभ्रेमा खाता खोलेका छन् । काभ्रेको रोशी गाउँपालिकाको वडा नं. ४ को मत परिणाम अनुसार देजमोका वडा अध्यक्ष पदका उम्मेदवार तेजबहादुर रानामगर प्यानसहित विजयी बनेका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार भगवान तामाङलाई २१ मत अन्तरले पराजित गरेका हुन् ।

त्यसैगरी देजमो केन्द्रीय कार्यालय स्रोतले दिएको प्रारम्भिक जानकारी अनुसार बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ३ मा देजमोका अध्यक्षका उम्मेदवार हेमेन्द्र घर्तीमगर विजयी बनेका छन् । उनले राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरबहादुर विकलाई २५ मत अन्तरले पछि पारे ।

प्राप्त समाचार अनुसार काभ्रेको रोशी गापाको वडा नं. ४ महिला सदस्यमा गोपीमाया थापा निर्वाचित भएकी छन् । प्यानलका निर्वाचित अन्य सदस्यहरुको विवरण आउन बाँकी छ ।

प्रतिक्रियावादी संसदीय व्यवस्था र पश्चगामी संविधानको भण्डाफोर र पार्टी तथा मोर्चाको संगठन विस्तारको आधार तयार पार्ने उद्देश्य लिएर देजमोले निर्वाचनको क्रान्तिकारी उपयोग गरेको थियो । कांग्रेस, एमाले र माके लगायत ठूला भनाउँदा पार्टीहरुले दलीय चुनाव चिन्हको हैसियतमा निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएपछि देजमोका उम्मेदवारहरुले स्वतन्त्रको हैसियतमा निर्वाचमा भाग लिएका थिए ।