(२०३८ सालमा विद्यालयस्तरदेखि नै विद्यार्थी संगठनमा आबद्ध भएर २०५२ सालसम्म विद्यार्थी राजनीतिमा क्रियाशील रहँदै आएर जनयुद्धमा महत्वपूर्ण भूमिका निभाएकी इन्दिरा अधिकारी ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर अधिकारी २०४६ ताका अध्यापनका क्रममा शिक्षक संगठनमा समेत आबद्ध रहेकी थिइन् । २०६२÷०६३ को जनआन्दोलनपछि पुनः गणतान्त्रिक सम्पर्कमञ्चमार्फत् राजनीतिमा क्रियाशील अधिकारी हाल देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् । हाल देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत् ललितपुर महानगरपालिकाको उपमेयरकी उम्मेदवार अधिकारीसँग निर्वाचनसँग सम्बन्धित रहेर गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।–स.)
ललितपुर महानगरपालिकामा तपाईको उम्मेदवारी किन ?
अहिले हामी स्थानीय तहको निर्वाचनमा सहभागी हुँदै छौं । वास्तममा स्थानीय तह भनेको आम जनताका सानाभन्दा साना काम, योजना र आवश्यकतासँग जोडिएको छ । सिंगो राष्ट्र निर्माणको प्रक्रियामा समाहित भएकाले हामीले आम जनताको सरोकार राख्ने कामहरु तलैबाट गर्नुपर्छ भनेर मैले महानगरको उपमेयरमा उम्मेदवारी दिएकी हुँ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा तलदेखि नै संघर्ष गर्नुपर्ने अवस्था छ । अहिले ललितपुर महानगरपालिका भएपनि यो नाम मात्रको छ । यस क्षेत्रको समग्र विकास र संरक्षणका लागि मेरो उम्मेदवारी आवश्यक छ । युवाहरुलाई राष्ट्रियताको मूल प्रवाहमा ल्याउने, भ्रष्टाचार कमिशनतन्त्र, तस्करी, दलालीको जुन प्रक्रिया चलेको छ, त्यसको अन्त्यका लागि मैले उम्मेदवारी दिएकी हुँ ।
निर्वाचन प्रचार प्रसारको काम कस्तो भइरहेको छ ? जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल मार्फत् चुनावको क्रान्तिकारी उपयोग गर्न स्वतन्त्र उम्मेदवार भएर चुनाव चिन्ह यही २२ गते मात्रै पाएकाले चुनाव प्रचार प्रसारको काम अघि बढाउन सकिएको थिएन । अब हामी दृढताका साथ प्रचार प्रसार अभियानमा अघि बढिसकेका छौं । हामी चुनाव जित्न र त्यसपछि फेरि नेपाली जनताविरुद्धका हर्कतमा सामेल हुने होइन कि चुनावसँगै हाम्रा एजेन्डाहरुलाई आम रुपमा स्थापित गर्न, राज्यले गरेका गलत प्रवृत्तिको भण्डाफोर गर्दै संगठन निर्माण गर्दै हामी अघि बढिरहेका छौं । प्रचार प्रसारका क्रममा जनताको घरदैलोमा पुग्दा उनीहरुको अहिलेका राजनीतिक दलहरुप्रतिको वितृष्णा प्रष्टै देखिन्छ । जनताले विकल्प खोजेको अवस्था छ । हामी त्यो विकल्पका रुपमा खडा भएका छौं । आम जनतालाई आशावादी बनाउँदै नयाँ नेपाल निर्माणको महाअभियानमा सामेल गराउन हामी प्रयत्नसील छौं ।
ललितपुर महानगरपालिकाका मुख्य समस्याहरु के के हुन् ? तपाईले जित हासिल गरेमा ति समस्या हल गर्नका लागि तपाईको भूमिका कस्तो हुन्छ ?
ललितपुर महानगरपालिकामा मुख्य रुपमा जनताको स्वास्थ्य, शिक्षा, रोजगारसँग जोडिएका समस्याहरु छन् । सडक, ढल, खानेपानीका समस्या कम देखिने तर जटिल प्रकारका छन् । यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । सडकहरु धुलाम्मे भएका छन्, व्यवस्थित योजना र नीतिहरुको अभाव विकासका कार्यक्रम सञ्चालनमा अवरोध खडा भएको अवस्था छ । साना साना भएपनि नदीमा मिसिएको ढल व्यवस्थापन गरी तिनीहरुलाई प्राकृतिक अवस्थामा फर्काउनुपर्ने छ । सहर यही रुपमा अघि बढ्ने हो भने आगामी पुस्ताका लागि होइन, हाम्रै पुस्तालाई समेत केही दशकभित्रै बस्न अयोग्य बन्ने खतरा छ । सबैतिर भद्रगोल, अस्तव्यस्तता, लथालिंग, धुलोधुँवा, फोहोर र प्रदुषणले ग्रस्त अवस्थामा छ । मैले जित हासिल गरेको अवस्थामा यी सबै समस्याको समाधानका लागि पहलकर्ताको भूमिका निर्वाह गर्नेछु र ललितपुरलाई सुन्दर, सफा र हराभरा महानगरको रुपमा स्थापित गर्नमा मेरो मुख्य भूमिका रहनेछ ।
राजधानीका स्वास्थ्य संस्थाहरु धेरै भएपनि जनताले सुलभ स्वास्थ्य सेवा पाएको अवस्था छैन, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
प्राथमिक स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालको समेत अवलोकन गरी त्यहाँका वास्तविक समस्याहरुको पहिचान गरी समाधानको पहलकदमी गर्न दृढताका साथ लागिपर्ने छु । आम जनसमुदायलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने तथा स्वास्थ्य क्षेत्रलाई आम जनताका लागि सहज एवं सुलभ तरिकाले सेवा दिने पस्थितिको सिर्जना गर्ने वातावरण मिलाउने सोचेको छु ।
स्थानीय निकायमा यसअघि धेरै भ्रष्टाचार हुने गरेको थियो । भ्रष्टाचारमुक्त स्थानीय तह बनाउन तपाईका योजनाहरु के के छन् ?
समग्र कार्यालयहरुको अवलोकन गरी वास्तविक भ्रष्टाचार हुने र भइरहेका पक्षहरुको पहिचान गर्ने र यथाशिघ्र उचित कारबाही गर्ने छु । समग्र महानगरपालिकाको एउटा ठोस तथा स्पष्ट नीति तय गरी महानगरलाई भ्रष्टाचारमुक्त बनाउने छु । स्थानीय तहहरुमा हुने नीतिगत भ्रष्टाचारलाई अन्त्य गर्न मेरो भूमिका हुनेछ ।
अन्तमाः ललितपुर महानगरपालिकाका आम जनतालाई के भन्न चाहनुहुन्छ ?
अन्तमा जनताले अहिलेका परम्परावादी राजनीतिक पार्टीहरुको विकल्प खोज्नुपर्ने अवस्था आएकाले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिनुहुन र सोहीअनुरुप उपमेयरको पदमा म (इन्दिरा अधिकारी) लाई मुढा चिन्हमा मत दिई अत्याधिक मतका साथ विजयी गराउन अनुरोध गर्दछुृ ।