काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणमा बैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता आज हुँदैछ ।
निर्वाचन आयोगले आज १० बजेदेखि ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ ।
स्थानीय तह निर्वाचनका लागि नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले भाग लिँदैछ ।
मोर्चाले यसअघि नै काठमाडौं महानगरपालिकासहित अधिकांश स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको छ । देशभर रहेका कूल ७ सय ४४ स्थानीय तहमध्ये पहिलो चरणमा वैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।
बाँकी ४ प्रदेशमा स्थानीय तहमा दोस्रो चरणमा अर्थात् आगामी जेठ ३१ गते निर्वाचन हुने छ । दोस्रो चरणका लागि जेठ १९ गतेबाट चुनावी कार्यक्रम तोकिएको छ ।
दोस्रो चरणमा मधे दुई दुई प्रदेशमा पर्ने नवलपरासी र रुकुमसहित ४३ जिल्लामा निर्वाचन हुने छ । तराईका २० जिल्लामध्ये चितवनमा मात्र पहिलो चरणमा निर्वाचन हुने छ ।
काठमाडौं, ललितपुर, पोखरा–लेखनाथ र भरतपुर महानगरपालिकामा पहिलो चरणमै निर्वाचन हुँदैछ । अन्य ९३ नगरपालिकामा पनि पहिलो चरणमा निर्वाचन हुने छ ।
निर्वाचन आयोगले पहिलो चरणमा ७ हजार मतदान केन्द्रमा मतदान हुने जनाएको छ । देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै, १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये ५० लाखले पहिलो चरणमा मतदान गर्ने छन् ।





























