हुम्ला, ९ जेठ । खाद्यन्न अभावका कारण ४ महिनादेखि हुम्ली जनताले सास्ती खेप्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय बाहिर जनताहरु ५ केजी चमाल पाउने आशाले धर्नामा बस्दै आएका हुन् ।
५ केजी चामलकै लागी जिल्लाका उत्तरी क्षेत्रमा पर्ने फायाँ गाविसकी जसमति सुनार बिहान ६ बजे घरबाट ३ घण्टा पैदल हिडेर सदरमुखकाम सिमकोट पुगेकी छिन् ।
चुनावका बेला घर घरमा राजनैतिक दलका प्रतिनिधीहरु जनताहरुलाई विभिन्न आश्वासन दिने गरेता पनि चुनाव सकिँदा नेताहरु जिल्लामा भेट्न उनलाई धौ धौ भएको छ ।
जसमतिले भनिन्, ‘नेताहरुले भोट माग्दा विभिन्न आश्वासन दिए तर, अहिले ५ केजी चामल सिफारिस गर्न सारै गाह्रो मानिरहेका छन् । जसमतिले आक्रोश पोखिन्, ‘नेताहरुका घरमा चामल फालाफाल छ हाम्रा घरमा बिहान के खाउ बेलुका के खाउ भन्ने स्थिती छ । अहिले सम्म चामल दिने नदिने खबर छैन । हुदो नहुदो गरी जिताएर पठाउछौ जितेपछि कहिले गाँउमा नेता फर्किएर आउँदैनन् ।’
यस्तै खापुनार्थ गाविस याङ्गचु वडा ९ की खिन्तु सुनार १० दिनद्ेखि चामल ५ केजी चमाल पाउने आशा सिमकोट बस्दै आएको बताइन् ।
उनले भनिन्, ‘५ जनाको परिवार छ घरमा खाऊँ भने एक दाना चामल छैन ।’ जिल्ला प्रशासन कार्यालयले ५ केजीको चिट दिने आशामा बिहानबाट लाइन् बसेको उनले बताइन् । ‘चिट पाइहाले पनि ५ केजी भन्दा बढी पाउँदैन थियौं ।
अहिले त ४ महिना भयो चमाल नपाएको ! प्लेनले चामल ल्याएकै छ कहाँ जान्छ हामीले देखेका छैनौं’, उनले भनिन्, ‘नेताहरुका घरमा र नेताका आफन्तहरुका घरमा चामलको समस्या छैन तर, हामीलाई सारै सास्ती छ ।’
चुनाव जिते पछि चामलको सहज बनाउछौं भने पनि अहिले सदरमुखकाममा नेताहरु देख्न पनि नपाएको उनले गुनासो गरिन् ।































