“यो महान दिवस हामीबाट जति टाढा हुँदै गईरहेको छ सर्वहारा क्रान्तिको महत्व उति नै अधिक स्पष्ट हुदै गइरहेको छ ।” लेनिन, भाग १० पेज २०४, अक्टोबर क्रान्तिको चौथो जयंती

“अक्टोबर क्रान्तिको झण्डा अपराजय छ र फासिवादका सवै शक्तिहरुको अन्तिम विनाश निश्चित छ । ” माओ भाग ३ पेज ८२ १९४२ नोभेम्बर ६ अक्टोबर क्रान्तिको पच्चीसौं उत्सवका उपलक्ष्यमा

१) भूमिका
रुसमा सन १९१७ अक्टोबरमा पूँजीवादी दुनियालाई स्तब्ध पार्दै महान वैज्ञानिक समाजवादी क्रान्ति सफल भएको थियो । श्रमिक वर्गले इतिहासमा पहिलो पटक शोषण, दमन र विभेद हटाउने राज्य प्राप्त गर्यो । उक्त युगान्तकारी राजनैतिक क्रान्तिले यतिवेला १०० वर्ष पार गरेको छ । यी सय वर्षमा वैज्ञानिक समाजवादले गौंरबपूर्ण सफलता र पीडादायी असफलता वेहोरेको छ । हामी यीनै क्रान्तिका विशिष्ट अनुभव सहित अक्टोवर क्रान्तिको शतवाषर््िाकी कार्यक्रममा सहभागी भइरहेका छौं । २१औं सताब्दीमा हामी कम्युनिष्टहरुको काधँमा त्यस्तै गह्रुङ्गो कार्यभार छ जुन कार्यभार १९औं शताब्दीमा माक्र्स र २०औं शताब्दीमा लेनिन, माओको काँधमा थियो । हामी पुरै दावीका साथ भन्न सक्छौं वैज्ञानिक समाजवाद नै मानवजातिलाई शान्ति र संमृद्धिको दुनियाँमा पुगाउँने उत्कृष्ट सभ्यता हो ।

२) अक्टोवर क्रान्तिको सफलता
महान अक्टोबर क्रान्ति सन १९१७अक्टोवर २५मा युरोपको पछ्यौटे तर शक्तिशाली साम्राज्यवादी मुलुक रुसमा सम्पन्न भयो । त्यस वेला रुस तिव्रतामा पूँजीवादीकरण भइरहेको तर जार संम्राट निकोलस रोमानोभ र केरेन्स्कीहरुको शासन चलिरहेको थियो । श्रमिक वर्गको नेतृत्वमा मजदूर आए पनि किसानहरुको संख्या निकै ठूलो थियो । यी दुवै वर्ग सत्ताबाट उत्पीडि थिए । पहिलो विश्व युद्धको मारले राष्ट्रिय सेना पनि असन्तुष्ट थियो । राज्यमा जार कालिन साम्राज्य र संसदीय व्यवस्थालाई नै सर्वशक्तिमान मानिन्थ्यो । उनीहरुको सत्ताको विरोध गर्नु भनेको भगवान र सभ्यता कै विरोध गर्नु हो भन्ने भ्रम थियो । त्यसैगरी रुसी राजनैतिक आन्दोलनमा काल्पनिक समाजवादी, संशोधनवादी, सुधारवादी, अर्थवादी, अराजकतावादी धारा पनि थिए । उनीहरुलाई प्रतिक्रियावादी सत्तालाई श्रमिक वर्गको तागतद्वारा आमूल पविर्तन गर्न सकिन्छ भन्ने विश्वास थिएन् । परन्तु महान लेनिनको नेतृत्वमा रहेको रुसी कम्युनिष्ट पार्टी (वोल्सेभिक)को अगुवाई र मजदूर, किसान, सेनाको सयुक्त तागतमा हजारौं वर्ष देखि शासन जामाउँदै आएका जार, पोप, मालिक र सामन्तहरुलाई गद्दिबाट पछार्दै, कल्पनावादी, संशोधनवादी, सुधारवादी, अराजकतावादी, अर्थवादीहरुलाई विज्ञानको धर्तीमा ओराल्दै वैज्ञानिक समाजवादी क्रान्ति सफल भयो । यो क्रान्तिले नै हजारौं वर्ष देखि मालिक र सामन्तहरुको शासन मुनि दविएका श्रमिक वर्गलाई राज्य सत्ता संचालकमा स्थापित गरिदियो । साथै मानव जातिलाइ माक्र्स, एङ्गेल्सले परिकल्पना गर्नु भएको वर्ग विहिन साम्यवाद तर्फ लैजान सकिन्छ भन्ने विश्वास दिलायो ।

३) अक्टोवर समाजवादी क्रान्तिको महत्व र प्रभाव
वैज्ञानिक मसाजवाद नयाँ र क्रान्तिकारी विचार थियो । यसले आध्यात्मवादको सट्टा भौतिकवाद, मालिक वर्गीय सत्ताको सट्टा श्रमिक वर्गीय सत्ता, अन्धराष्ट्रवादको सट्टा अन्तर्राष्ट्रवाद, सुधारको सट्टा क्रान्तिको विचार ल्याएको थियो । अक्टोवर क्रान्तिले यो विचारलाई सहि सावित गरिदियो । वैज्ञानिक समाजवाद स्थापना भए पछि मजदूर, किसान माथिको अमानवीय शोषण, उत्पीडन,दमन अन्त्य भयो । श्रमिकहरुले काम अनुसारको दाम पाउने भए, किसानहरुले जमिन पाए, महिलाहरुले पूरुष सरह आर्थिक र राजनैतिक अधिकार प्राप्त गरे, सवैले समान शिक्षा पाउने भए , राष्ट्रहरुले राज्यमा समान अधिकार पाए, धर्मलाई राज्यबाट अलग गरियो र विज्ञानमा जोड दिइयो । सारा मानव जाति वैज्ञानिक समाजवादको निमार्णमा दत्तचित्तले सहभागि वन्ने मौका पाए ।
वैज्ञानिक समाजवादको सफलताले विश्वमा थाम्नै नसक्ने लोकप्रियताको लहर पैदा गर्यो । युरोप, अमेरिका, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका कम्युनिष्टहरुमा उत्साह र आत्मविश्वास पैदा गर्यो । अन्धराष्ट्रवादमा विचलित दोस्रो अन्तराष्ट्र विघटन भयो । विश्वभरिका कम्युनिष्टहरुको प्रतिनिधित्वमा सन १९१९ मार्चमा तेस्रो अन्तराष्ट्रको निर्माण भयो । यसको प्रभाव सहित नेपालमा पनि सन १९४९ अप्रिल २२मा कम्युनिष्ट पार्टीको स्थपना भयो । समाजवादको प्रभावले वु्रर्जुवा सुधारवादीहरुलाई पनि लपेटामा पर्यो । उनीहरु साम्राज्यवाद विरोधि संघर्षमा कम्युनिष्टसंग सहकार्यमा आए । वेलायतको लेवर पार्टी, भारतका जवाहरलाल नेहरु, चीनका सन यात्सेन, अफ्रिकाका नेल्सन मण्डेलाहरुको सहभागितालाई उदाहरणमा लिन सकिन्छ । वीपीको “समाजवाद” लाई पनि यसैको प्रभाव मान्न सकिन्छ । विश्व राजनीतिमा समाजवाद विनाको ‘प्रजातन्त्र’ अस्वीकार्य जस्तै भयो ।
क्रान्ति पछि वैज्ञानिक समाजवादका विरुद्ध साम्राज्यवादी र संशोधनवादीले देश भित्र र बाहिरबाट हमला गरे; तर लेनिन, स्टालिनको कूशल नेतृत्वमा वैज्ञानिक समाजवादलाई रक्षा गर्ने काम भयो । दुःखद कुरा प्रतिक्रान्तिकारीहरुको उक्साहटमा कामदार महिलाले सन १९१८ मा लेनिन माथि गोली प्रहार गरीन् । गोलीको असर र कामको चापले लेनिनको स्वाश्थ्य विग्रिदै १९२४मा उहाँको निधन हुन पुग्यो । सर्वहारावर्गको सत्ता स्थिर र सुदृढ नहँुदै लेनिनको निधन हुन पुग्दा समाजवादी आन्दोलनमा निकै ठूलो नोक्सान भयो । तथापी लेनिनका घनिष्ट कमरेड स्टालिनले समाजवादलाई कैयौं कठिन र संकटपूर्ण मोडबाट रक्षा गर्दै अगाडि वढाउनु भयो । वास्तवमा दोस्रो विश्व युद्धमा हिटलरको फासिवादलाई धुलो चटाउने र मानव जातिलाई फासिवादको भयानक विध्वंसबाट वचाउने नेतृत्व नै कमरेड स्टालिनको अगुवाईमा सोभियत समाजवादले गर्यो । यसैको सुखद परिणाम दोस्रो विश्व युद्धको समाप्ति संगै पूर्वी युरोप, चीन, कोरिया, भियतनाम, क्युवामा वैज्ञानिक समाजवाद स्थापना भयो । तथ्याङ्क अनुसार यो अवधिमा विश्वको आधा जनसंख्या सहित एकतिहाई भू–भागमा वैज्ञानिक समाजवाद स्थापना भयो । यो नै वैज्ञानिक समाजवादको उत्कर्ष काल वन्यो ।

४) अक्टोवर क्रान्तिको मार्गमा विचलन
सन १९५३ मा स्टालिनको निधन र गद्दार ख्रुश्चोभको आगमन पछि कम्युनिष्टहरुले ठूलो समस्या भोग्नु पर्यो । खु्रश्चोभ स्टालिनको सहयोगी वन्दै सत्तामा पुगेको थियो तर उसले सत्ता लिए पछि विशेषतः सन १९५६को सोभियत कम्युनिष्ट पार्टी विशौं महाधिवेशनबाट समाजवादी सत्तालाई उल्टाउन पुग्यो । उसले समाजवादलाई सवैको राज्य, सवैको सत्ता भन्दै तीन सको विचार (शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण सहकार्य) आगाडि सार्यो । उसले कमरेड स्टालिन माथि तुच्छ र अराजनैतिक आरोपहरु थोपर्न पुग्यो ।
खु्रश्चोभको संशोधनवादले विश्व कम्युनिष्ट आन्दोलनमा तीव्र वैचारिक राजनैतिक संघर्ष पैदा गर्यो । कमरेड माओको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले खु्रश्चोभी संशोधनवाद विरुद्ध संघर्ष संचालन गर्यो । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यो संघर्ष “महाविवाद”को नामले स्थापित हुन पुग्यो । सन १९६४मा खु्रश्चोभको पतन भए पनि सोभियत कम्युनिष्ट पार्टीले उसको मार्ग त्याग्न सकेन् । त्यही धार हावी हुदै गएर ९०को दशकमा वोरिस यल्त्सीनको नेतृतवमा प्रतिक्रान्ति हुन पुग्यो । संशोधनवादी लाइन कै कारण पूर्वी युरोप पहिले नै पूँजीवादमा पतन भइसकेको थियो । त्यसैलाई आधार वनाएर उत्तर आधुनिकवादी र उत्तर साम्राज्यवादी तत्वहरुले “ इतिहासको अन्त्य ” “विचारधारात्मक युगको अन्त्य ” भन्दै अनेकौं भ्रम प्रचार गर्न पुगे । आज सम्म पनि यसको नकारात्मक प्रभाव चलिरहे कै छ । कम्युनिष्ट आन्दोलनमा सवै भन्दा उतारको अवस्था यही वन्न पुग्यो ।

५) समाजवाद असफलताको शिक्षा र क्रान्तिकारीहरुको कार्यभार
वैज्ञानिक समाजवादी व्यवस्थाले भोगेको असफलताले क्रान्तिकारी कम्युनिष्टहरुलाई गंभिर शिक्षा दिएको छ । हामीले ती शिक्षालाई गहिरोगरि आत्मसाथ गर्न जरुरी छ ।
दार्शनिक रुपले वस्तुलाई ‘बदल्नु’ मुख्य कुरा हो भन्ने माक्र्सको संश्लेषण सही हँँँुदा हँुदै पनि समाजवादको असफलताले वस्तुलाई वदल्नु मात्र ठूलो होइन वदलेको वस्तुलाई रक्षा र विकास गर्नु महत्वपूर्ण विषय हो भन्ने शिक्षा दिएको छ ।
राजनैतिक रुपले जनवाद र अधिनायकत्वलाई वैज्ञानिक तरिकाले प्रयोग गरेर मात्र समाजवादलाई वर्ग विलोपिकरण सहित साम्यवाद तर्फ लैजान सकिन्छ । अधिनायकत्व र जनवाद अमूर्त विषय नभएर वैज्ञानिक पद्धति सहितको हुनु पर्छ ।
आर्थिक क्षेत्रमा वैज्ञानिक समाजवाद मूर्त र पारदर्शी हुनु पर्छ । जसले निजी संमृद्धि र सामाजिक संमृद्धिलाई नेतृत्व गर्दै वर्गविहिन समाज तर्फ अग्रसर गराउन सकोस ।
राज्यको नेतृत्व प्रणाली गतिशील र आवधिक हुन जरुरी छ । जसले श्रमिक वर्ग र कम्युनिष्टहरु बीचको सम्बन्धलाई सजिव र हराभरा बनाउन सकोस ।
कम्युनिष्ट समाज र संस्कृतिको विकास जीवन्त र ठोस प्रकारले गर्न आवश्यक छ । ताकि बुज्रुर्वा संस्कृतिको सट्टा कम्युनिष्ट संस्कृति श्रमिक वर्गमा लोकप्रिय हुन सकोस ।
पूर्व सोभियत संघको विघटन, नयाँ शक्ति केन्द्रहरुको विकास, विज्ञान र प्रविधिको अभूतपूर्व विकास, भूमण्डलिकृत र निगम पूँजीका कारण आजको विश्व लेनिनले व्याख्या गरेको विशौं सताब्दीको साम्राज्यवादी अवस्थामा नभई निकै नयाँ ठाउँमा पुगेको छ । यसलाई उत्तरसाम्राज्यवादीकाल भन्न सकिन्छ । उत्तरसाम्राज्यवादीकालमा पुग्दा यसले वैज्ञानिक समाजवादका आर्थिक, सामाजिक नीतिहरु चोरेर आपूmलाई सुरक्षित गर्ने उपाय समातेको छ परन्तु राजनैतिक, आर्थिक, साँस्कृतिक रुपले यो अहिले पनि भिषण अन्तरविरोध र संकटहरु वोकेर बाचिरहेको छ । अर्थ राजनैतिक दृष्टिले ८५जनाको हातमा विश्वको आधा जनसंख्या बरावरको सम्पत्ति थुप्रिने देखि अति अन्धराष्ट्रवादी नीति, सैन्य शक्ति र युद्धद्वारा अस्तित्व बचाउनु पर्ने अनौंठो स्थितिबाट उत्तर साम्राज्यवाद गुज्रि रहेको छ । साम्राज्यवाद कै कारण मध्यपूर्व लगायतका देशहरुमा लाखौं लाख जनताले अनाहकमा जीवन गुमाउनु परिरहेको छ । कैयौं सहर नै समाप्त हुन पुगेकाछन् । श्रमिक वर्ग संसारभरी शोषण, विभेद र दमनको चपेटा परिरहेकाछन् ।
यता कम्युनिष्ट आन्दोलन माओको मृत्यु पछि केन्द्र विहिन वन्न पुगेको छ । रिमले केही समय क्रान्तिकारी केन्द्रको रुपमा काम गर्न प्रयत्न गरे पनि अहिले प्रभावकारी छैन् । विश्वभरी क्रान्तिमा रहेका र नरहेका क्रान्तिकारीहरु संगठित अवस्थामा छैनन् या निकै कमछन् । जवकि हामी कम्युनिष्टहरुले नै संसारका श्रमिक जनतालाई आजको संकटबाट मुक्ति दिने र मानव जातिलाई वैज्ञानिकक मसाजवाद र साम्यवाद तर्फ डोर्याउन पहल गर्नु पर्ने छ । हामी कम्युनिष्टको लागि यो निकै गह्रुङ्गो र युगिन कार्यभार हो ।

६) अक्टोबर क्रान्ति र नेपाली क्रान्तिको सन्दर्भ
यतिवेला नेपाल सन १९१७को रुसी परिस्थिति संग मिल्दोजुल्दो अवस्थाबाट गुज्रि रहेको छ । जनयुद्ध, विस्तृत शान्ति संझौंता र संविधान समभाबाट गणतन्त्र स्थापना भए पनि राज्य सत्ता दलाल पूँजीवादी शक्तिको हातमा पुगेको छ । जनताका आधारभूत अधिकारहरु सुनिश्चित हुन सकेका छैनन् । गास,बास, शिक्षा, स्वाश्थ्य, रोजगारी केही छैन् । सामाजिक असुरक्षा,युवा, चेलीवेटी बेचविखन, भ्रष्टाचार, कालोवजारी, तस्करी असिमित प्रकारले बढेको छ । नोकरशाह र राजनैतिक पार्टीका नेताहरु नै भ्रष्टाचार र तस्करीमा संलग्न छन् । देश माथि भारतीय साम्राज्यवादको अतिक्रमण गोविन्द गौतमको हत्या गर्ने स्तरमा पुगेको छ । नेपालको राजनीति, अर्थतन्त्र, प्राकृतिक सम्पदा( पानी, खानी, जंगल आदि), संस्कृति, हवाई अड्डा सवैमा उसको नियन्त्रण छ । नेपाल नवउपनिवेशको अवस्थामा पुगेको छ ।
श्रमिक जनताहरु यो संकटबाट निकास चाहन्छन् । तर पूँजीवादी, संसदवादीहरुबाट यसको निकास संभव छैन् । यो संकटको समाधान सामान्य राजनैतिक सुधार र संसदीय प्रकृयाबाट हुने स्थिति पनि छैन् । यसको समाधान नयाँ जनवादी र वैज्ञानिक समाजवादी क्रान्तिद्वारा मात्र संभव छ । त्यसका लागि हामी कम्युनिष्टहरुले केही महत्वपूर्ण पहल गर्न जरुरी छ । प्रथमतः हामी कम्युनिष्टहरु संभव भए सम्म धु्रविकृत र एकतावद्ध हुने त्यो नहुने स्थितिमा पनि क्रान्तिका पक्षमा सयुक्त मोर्चा र कार्यगत एकता गर्न पहल गर्नु पर्छ । दोस्रो कुरा कम्युुनिष्टहरुले मुठ्ठिभर दलाललाई छोडेरे देशभक्त, लोकतन्त्रवादी शक्तिहरुलाई सयुक्त मोर्चामा गोलवन्द गर्नु पर्छ । तेस्रो कुरा देशलाई शान्ति, स्थिरता, स्वाधिनता र संवृद्धि केवल नयाँ जनवाद र वैज्ञानिक समाजवादले मात्र दिन सक्छ भन्ने सुस्पट दृष्टिकोण जनतामा पुगाउँनु पर्दछ ।
अक्टोवर क्रान्तिको शतवार्षिकी मनाउदै गर्दा हामीले स्मरण गर्नु पर्छ अक्टोबर क्रान्ति लेनिन, स्टालिनको शक्तिले मात्र भएको होइन् । उक्त क्रान्ति कम्युनिष्टहरुको वुद्धिमत्तापूर्ण पहल र त्यहाँका मजदूर,किसान, सेना, देशभक्त शक्तिहरुको सयुक्त विद्रोहबाट मात्र संभव भएको हो । संयोगले आज हामी त्यस्तै समयको अवसरमा छौं । हामीले गंभिरतापूर्वक पहल गर्यौं भने नेपालमा २१औं शताब्दीको अक्टोवर क्रान्ति सफल हुन सक्छ । इतिहासको यो वास्तविकतालाई हामी कम्युनिष्टहरुले उच्च वोधका साथ आत्मसाथ गरौं ।
(२०७४ वैशाख ९ गते अक्टोबर क्रान्तिको शतबार्षिकीको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा विप्लवद्वारा प्रस्तुत कार्यपत्र)

प्रतिक्रिया

सम्बन्धित खवर