पूर्व राजाका यी सल्लाहकार लोमान्थाङ गाउँपालिका प्रमुखमा उठ्ने

पूर्व राजाका यी सल्लाहकार लोमान्थाङ गाउँपालिका प्रमुखमा उठ्ने

जोमसोम । पूर्व मुस्ताङी राजा स्व.जिग्मेपरवल विष्टका सल्लाहकार रहेका इन्द्रधारा विष्ट लोमान्थाङ गाउँपालिकाको प्रमुखमा निर्वाचन लड्ने भएका छन् ।

जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो । २०६२/०६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङमा राजसंस्था हटे पनि स्थानीयले सांस्कृतिक राजाका रुपमा स्व.विष्टलाई सम्मान दिँदै आएका थिए ।

यसअघि लोमान्थाङ गाविसको उपाध्यक्ष चुनिएका, २५ वर्षसम्म पूर्व राजा विष्टको सल्लाहकार रहेका इन्द्रधारा विष्ट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्न लागेका हुन् ।

मुस्ताङी राजाको सांस्कृतिक विरासतलाई जीवित राख्न, कोरला नाकाको दीर्घकालीन सञ्चालन, उपल्लो मुस्ताङमा पर्यटन र शिक्षाको विकासका लागि उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

‘उपल्लो मुस्ताङका जनताको राजसंस्थाप्रति ठूलो आस्था छ, त्यसलाई सांस्कृतिक रुपमा बचाउन जरुरी छ,’ उनले भने, ‘जिग्मेको निधनपछि अर्को वर्ष युवराज जिग्मेसिग्मे परवल विष्टलाई सांस्कृतिक राजा घोषणा गर्ने योजना छ ।’

उपल्लो मुस्ताङमा राजसंस्था र पर्यटन एकापसमा जोडिएकाले त्यसलाई जोगाइराख्नुपर्ने उनको तर्क छ ।

स्थानीय तहको पुनःसंरचनाअनुसार लोमन्थाङ, छोसेर र छोन्हुप गाविस मिलेर लोमन्थाङ गाउँपालिका बनेको छ । त्यहाँ एक हजार ३ सय मतदाता रहेका छन् ।