एजेन्सी । उत्तर कोरियाका एक जना उच्च सरकारी अधिकारीले अमेरिकाले कुनै सैनिक कारबाही गरे त्यसै दिनबाट पूर्ण रुपमा युद्धमा होमिने बताएका छन् ।

उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले अमेरिकाले आक्रमण गर्न लागेको संकेत पाउने वित्तिकै परमाणु हमला गर्ने चेतावनी दिएका हुन् । हानले प्योङयाङले साप्ताहिक, मासिक र वार्षिक रुपमा थप क्षेप्यास्त्रहरु परीक्षण गर्ने पनि जनाएका छन् ।

यसअघि अमेरिकी उपरराष्ट्रपति माइक पेन्सले आफ्नो परामाणु कार्यक्रमलाई निरन्तरता दिएर अमेरिकी धैर्यको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिएका थिए ।

उत्तर कोरिया र अमेरिका दुवै तर्फबाट कडा चेतावनी सहितका वक्तव्य आउन थालेपछि कोरियाली प्रायद्विपमा तनाव चुलिंदै गएको छ । बीबीसीसँग कुराकानी गर्दै उत्तर कोरियाली उपविदेशमन्त्री हाङले भने, ‘यदी अमेरिकाले हामी विरुद्ध सैन्य आक्रमणको तयारी गर्यो भने उसले हमला गर्नुअघि नै हामी आफ्नै शैली र तरिकाले परमाणु आक्रमण गर्नेछौं ।’

अन्तराष्ट्रिय आलोचना तथा राष्ट्रसंघको प्रतिबन्धकाबीच पछिल्ला केही वर्षदेखि उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ । उसले अमेरिका सहित विश्वका अन्य निशानामा पुग्ने खालको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र निर्माणको नजिक पुगिसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर