काठमाडौ, वैशाख ५ । कोटेश्वरको नजिकै अवस्थित तीनकुनेको रुप फेरिने भएको छ । महानगरले धेरै वर्ष अघिदेखि नै यसको मुहार फेर्ने भने पनि अहिलेसम्म कार्यान्वयनमा आएको थिएन ।
विसं. ०३१ सालमा नै त्यहाँको बस्ती हटाएर खाली गराइएको तीनकुनेको चौर अहिलेसम्म पनि गाईवस्तु चराउने र गाडी सिक्ने केन्द्रको रुपमा प्रयोग गर्दै आएको थियो । महानगरपालिकाले तीनकुनेमा रहेको अस्तव्यस्त खाली जमिनलाई सदुपयोग गरेर आराम गर्न र समय बिताउन योग्यस्थलका रुपमा विकास गर्न लागेको हो ।
महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अब तीनकुनेमा गरिने सबै अवाञ्छित गतिविधि पूर्ण रुपमा रोकिने बताए ।
‘सार्क सम्मेलनका बेलामा बारिएका जस्तापाता पनि चोरेर सकिनै लागेको थियो, इन्टरनेशनल एयरपोर्टको छेउ र शहरको शानदार स्थानमा रहेको तीनकुनेको हविगत सुधार्न आवश्यक ठानेर हामीले डोजर चलाएका छौं’ पौडेलले भने, ‘अब तीनकुने शहरको शोभा हुनेछ । यसले शहरलाई कुरुपबाट सुन्दर बनाउन भूमिका खेल्नेछ ।’
उनले बिहान मर्निङ वाक गर्न र दिउँसो तथा बेलुकी समय विताउन उपयुक्त हुने गन्तव्यका रुपमा यसलाई विकास गरिने बताए ।
अबको तीनकुने कस्तो होला त ?
स्तरीकरणको काम सुरु भएको एक हप्तामै चौर सम्याउने काम लगभग सकिएको छ । अब तीनकुनेको तीनतर्फकै सडक छेउमा फुटपाथ ट्रयाक बनाइनेछ ।
झण्डै १० फिट फराकिलो फुटपाथ ट्रयाक विहान मर्निङ वाक गर्न चाहनेका लागि लक्षित रहेको पौडेलले बताए ।
महानगरपालिकाले तीनकुनेको बीचमा एउटा ढिस्कोसहित सानो आइल्याण्ड बनाएर ठूलो राष्ट्रिय झण्डा फरफराउनेछ । आइल्याण्डसम्म मूल फुटपाथको ट्रयाक हुँदै ठाउँ–ठाउँबाट क्रसहरु बनाइनेछ । यसले तीनकुने सुन्दर मात्रै देखिने छैन, व्यवस्थित पनि हुनेछ ।
यसमा नियमित सरसफाइको प्रवन्ध गर्दै खुला ‘दुबो पार्क’का रुपमा विकास गरिनेछ । सबै प्लटहरुमा हरियो दुबो लगाइनेछ । पार्कमा नियमित पानीको प्रवन्ध गरेर दुबोको संरक्षण गरिनेछ ।
एक महिनामै सक्ने लक्ष्य
महानगरपालिकाले तीनकुनेमा १ अर्ब बढी खर्चेर सुविधासम्पन्न शान्ति मण्डला बनाउने गरी डिजाइन तयार गरिसकेको छ । तर, यसका लागि अहिले ठूलो खर्च लाग्ने देखिएपछि सानै खर्चमा महानरपालिकाले तीनकुनेलाई शोभनीय स्थानका रुपमा विकास गर्न काम थालेको हो ।
तीनकुनेको स्तरीकारण एक महिनाभित्र सक्ने गरी काम भइरहेको कार्यकारी अधिकृत पौडेलले बताए ।






























