एजेन्सी । अमेरिकी सेनाले अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ ।
अमेरिकी अधिकारीहरुले यस प्रकारको बम पहिलो पटक प्रयोग गरिएको जनाएका छन् ।
जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’ को नाम दिइएको छ ।
अफगानिस्तान मिसनबारे प्रत्यक्ष जानकारी भएका अमेरिकी सैनिक अधिकारीहरुले यो बम स्थानीय सयमअनुसार बिहीबार राति साढे ७ बजे खसालिएको जनाएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ । यो बमको परीक्षण सन् २००३ मा गरिएको थियो ।
अमेरिकी रक्षा मन्त्रालयले चरमपन्थी आतंकवादी संगठन इस्लामिक स्टेट –आईएसलाई लक्षित गरी यो बम खसालेको हो । यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको बताइएको छ ।
गत साता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अर्को सफल कारबाहीको संज्ञा दिएका छन् ।