काठमाडौं । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि अध्यक्षमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान अनुसार भवानी राणा स्वतः अध्यक्ष बनिन् भने निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गोल्छ विजयी भए । वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य मानी मंगलबार महासंघको निर्वाचन भएको थियो । नयाँ व्यवस्था अनुसार राणा र गोल्छा नेतृत्वको कार्यसमितिले बुधबारबाट जिम्मेवारि सम्हाल्दै छ । महासंघको इतिहासमा राणा पहिलो महिला अध्यक्ष हुन् । राणाले सबै पक्षलाई मिलाएर लैजाने कार्यमा आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएकी छिन् ।
मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले जिल्ला र नगरतर्फबाट ६१, वस्तुगतबाट ४७ र एसोसिएटबाट ५ सय ४ मत ल्याई बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानले भने वस्तुगतबाट ५१, जिल्ला नगरतर्फबाट ४२ र एसोसिएटबाट १ सय २३ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार जिल्लारनगरबाट १ सय ४, वस्तुगतबाट ९९ र एसोसिएटबाट ६ सय ३५ मत खसेको थियो ।
वरिष्ठ उपाध्यक्षमा विजयी गोल्छा अर्को कार्यकालको स्वतः अध्यक्ष हुने निश्चित भएको छ । उनले सबैलाई मिलाएर निजी क्षेत्रको विकासमा काम गर्ने प्रतिक्रिया दिएका छन् ।
जिल्ला नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । १ सय ४ मतमध्ये उनले ५५ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी दिनेश श्रेष्ठले ४८ मत ल्याएको समितिका सदस्य पौडेलले बताए । त्यस्तै वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् ।
९९ मत मध्ये उनले ४९ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी शंकर पाण्डे र अनुपबहादुर मल्लले ११ मत प्राप्त गरेका छन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा चन्द्र ढकालको मात्रै उमेदवारी परेपछि उनी निर्विरोध निर्वा्चित भइसकेका थिए ।
यो आधारमा जिल्ला र नगरतर्फका उपाध्यक्ष श्रेष्ठ बाहेक पदाधिकारीमा गोल्छा प्यानल विजयी भएको छ । अधिकांश सदस्य पदहरुमा समेत गोल्छा प्यानलतर्फका विजयी भएका छन् । अध्यक्ष राणाले समेत गोल्छा प्यानलको समूहलाई समर्थन गरेकी थिइन् । सदस्य पदको विवरण भने निर्वाचन समितिले अझै सार्वजनिक गरिसकेको छैन ।
जिल्ला तथा नगरतर्फ उमेश डालमियाले सबैभन्दा बढी ८९ मत ल्याएका छन् । सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ, ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी र कल्याण जोशीले केन्द्रीय सदस्यमा जित हात पारेका छन् ।
देबकुमार श्रेष्ठ र सुदर्शन कार्कीले समान मत ल्याएकाले एक केन्द्रीय सदस्यमा लागि गोलाप्रथा हुनेछ । कोषध्यक्षमा भने ज्ञानेन्द्रलाल प्रधान हुने निश्चित जस्तै भएको छ ।